हेटौंडाको क्याम्पा खेल मैदान व्यवस्थित गरिँदै

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-२१
  • |
  • 331 पटक हेरिएको

हेटौंडा । खेलकुदको विकासमा सक्रिय हेटौंडाको पिप्ले युवा क्लबले खेलकुदको भौतिक संरचना निर्माणका लागि तीब्ररुपमा लागिपरेको छ । क्लबले हेटौंडा–५ स्थित क्याम्पा खेल मैदानलाई व्यवस्थित गर्दै मिनी रंगशालाको रुपमा विकास गर्न थालेको छ ।

फुटबल मैदान व्यवस्थापन तथा एथलेटिक्सका लागि रनिङ ट्रयाक निर्माणसँगै क्लबले हाल प्याराफिट निर्माण गर्न थालेको छ । जिल्लामा हुने राष्ट्रियस्तरका फुटबल प्रतियोेगितामा प्याराफिटको व्यवस्था नहुँदा र बाँस तथा पाइपबाट प्याराफिट बनाउनुपर्ने अवस्थालाई अन्त्य गर्नका लागि क्याम्पामा मिनी रंगशालाको नाम दिएर प्याराफिट निर्माण गर्न सुरु गरिएको पिप्ले युवा क्लबका अध्यक्ष सुशील घिमिरेले जानकारी दिए । प्रदेश राजधानी हेटौंडामा एउटा पनि व्यवस्थित रंगशाला नहुनु हाम्रा लागि दुःखको कुरा भएकोे भन्दै सबैको साथ र सहयोगमा रंगशाला निर्माणमा जुटेको उनले बताए ।

चालू आर्थिक वर्षमा हेटौंडा उपमहानगरपालिकाले स्वीकृत गरेको ४५ लाख रुपैयाँ बजेटमा प्याराफिट निर्माणको काम सुरु गर्न लागेको घिमिरेले जानकारी दिए । उपमहानगरपालिकाको ८० प्रतिशत र २० प्रतिशत जनसहभागिता लागतमा प्याराफिटको पहिलो चरणको जग हाल्ने र पिल्लर उठाउने कार्य हुने जनाइएको छ । मैदानको दक्षिण (कर्रा खोला) तर्फ ५०-५० मिटर लम्बाईका ३ वटा ब्लकमा प्याराफिट निर्माण हुने अध्यक्ष घिमिरेले बताए ।

हाल उपमहानगरपालिकाले प्रदान गरेको बजेटबाट बिचको ब्लकको प्याराफिट निर्माण गरेपछि बाँकी २ ब्लकका प्याराफिट पनि निर्माण गर्ने उनको भनाई छ । हाल प्राप्त ४५ लाख रुपैयाँ बजेटको काम २ महिनाभित्रमा गरिसकिने र आगामी आर्थिक वर्षमा समेत उपमहानगरले प्रदान गर्ने बजेटबाट प्याराफिट निर्माण सम्पन्न गर्ने योजना क्लबको रहेको छ ।

३ वटै ब्लकको प्याराफिट निर्माण गर्न ६ करोडको लागत लाग्ने अनुमान गरिएको भए पनि शुुभेच्छुुक तथा सहयोगीहरुको सुुझाव अनुसार खर्चलाई न्यूूनीकरण गर्दै २÷३ करोड रुपैयाँमा निर्माण गरिसक्ने योजना रहेको पनि अध्यक्ष घिमिरेले बताए ।

३ वटै ब्लकमा गरेर १० हजार दर्शक क्षमताको प्याराफिट २ वर्षमा निर्माण हुने लक्ष्य लिइएको छ भने आगामी हेटौंडा गोल्डकप यही रंगशालामा आयोजना गर्नेगरी ३ हजार दर्शक क्षमताको एउटा ब्लकको प्याराफिट निर्माणमा लागेको घिमिरेको भनाई रहेको छ । रंगशाला निर्माणमा विभिन्न दाताहरुले आर्थिक तथा निर्माण सामग्रीहरु सहयोग गरिरहेको पनि उनले बताए ।

हेटौंडा ५ मै कभर्डहल निर्माण गरिसकेको यस क्लबले मकवानपुर जिल्ला फुटबल संघको ३ लाख रुपैयाँ र हेटौंडा ५ नम्बर वडा कार्यालयको ११ लाख रुपैयाँ बजेटबाट मैदान व्यवस्थापन तथा ४ सय मिटरको रनिङ ट्रयाक निर्माण गरिएको छ । यस्तै रंगशाला क्षेत्रमा नै भलिबल, बास्केटबल तथा ७ ए साइडको छुट्टै फुटबल मैदान पनि बनाउने योजना क्लबको रहेको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey