आइपीएलको ‘बायो बबल’ लाई तोडेको कोरोनाले खेलाडीमा बढाएको चिन्ता

0

विश्वको सर्वाधिक चर्चित फ्रेन्चाइजी क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिगलाई पनि अहिले ठूलो महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसले पनि बाँकी छोडेन । प्रतियोगिताको विचमा आएर आइपीएल आयोजकले तत्कालका लागि आइपीएल स्थगित गर्नुपर्ने अवस्थामा पुगे र यो सिजनको आइपीएल अनिश्चित समयका लागि सार्ने निर्णयमा पुगे ।

खेलाडी स्टाफ र पदाधिकारीलाई बायो बबलमा राखेर आयोजना भइरहेको आइपीएलका खेलाडीमा कसरी कोरोना संक्रमण भयो भन्ने प्रश्न अहिले आयोजकको टाउको दुखाई बनेको छ । प्रतियोगिता सुरु हुने मुखैमा पनि केहि टिमका खेलाडीमा कोभिड देखिएको थियो भने विचमा आएर कोलकाताका दुई जना, चेन्नेईका तीन जना पदाधिकारी र दिल्ली क्यापिटल्सका अमित मिश्रा र हैदरावादका रिद्धमान शाहमा पनि पोेजेटिभ देखिएपछि प्रतियोगिता नै स्थगित गर्नुपर्नृे बाध्यता आएको छ ।

आइपीएल आयोजकले प्रतियोगिताको एक साता अगाडी नै सबै टिमको कोभिड परिक्षण गरेर बायो बबलमा राखेको थियो । यसका साथै यो सिजनमा आइपीएलका लागि निश्चित मैदान तोकेको थियो, जसमा चेन्नेई, मुम्बई, दिल्ली, कोलकाता, बैंग्लोर र अहमदावादको मैदान छानिएको थियो । यी सबै मैदानमा काम गर्ने स्टाफलाई पनि बायो बबलमा राखेर प्रतियोगिता अगाडी बढाएको थियो ।

बायोबबल भनेको खेलाडी निश्चित होटेलमा बस्ने र त्यहाँका सबै स्टाफपनि त्यो होटेलभन्दा बाहिर जान नपाउने तथा बाहिरको कुनैपनि ब्यक्तिगत भौतीक रुपमा सम्पर्क गर्न नपाउने हो । यसका साथै सबैको सातामा चार पटकसम्म कोभिड परिक्षण गरिने नियम थियो ।

तर प्रतियोगिताको सातौं चरणको अन्तिममा पुग्दा एकपछि अर्को खेलाडीमा कोरोना देखिन थाल्यो । आखिर बायोबबलमा पनि कसरी कोरोनाको भाइरस छिर्यो त भन्ने प्रश्न खडा भएको छ ।

केहि दिन अगाडी कोलकाताका खेलाडी बरुण चक्रवर्ती बायो बबलबाट ग्रिन पास लिएर बाहिर गएका थिए । तर फर्किएर आएपछि उनैलाई कोरोना पोजेटिभ देखियो । उनीसँगै कोलकाताका सन्दीप वारियरलाई पनि कोरोना पोजेटिभ देखिएपछि पुरैटिम तरंगित भएको थियो ।

त्यो तरंग सेलाउन नपाउँदै चेनेईका बलिङ प्रशिक्षक लक्ष्मीपति बालाजीसहित अरु दुई जनामा पनि कोभिड देखिएको समाचार सार्वजनिक भयो । त्यसपछि चेन्नेई टिम आइसोलेसनमा बस्यो भने कोलकातासँग खेलेको टिम दिल्लीले पनि पुरै टिमलाई आइसोलेसनमा राख्यो ।

बायो बबलमा हुँदापनि खेलाडीलाई कारोना देखिनु त्यो पनि अचानक रुपमा । बीसीसीआईले सातामा चार पटक कोरोना परिक्षण गर्ने नियममा अहिले तेस्रो पटकमा आएर सबैलाई पोजेटिभ देखिएको थियो । त्यसमा केहिले गलत हुनसक्ने भनेर दोहोर्याएर पनि गरेका थिए ।

दुई तीन हुँदै आधा दर्जन भन्दा बढिमा कोभिड देखिएपछि आइपीएलमा सहभागि खेलाडीविच नै डर बढेको छ । आइपीएल अहिले जे अवस्था देखियो पाकिस्तान सुपर लिगमा पनि केहि महिना अगाडी ठिक यस्तै भएको थियो । पीएसएल खेल्ने टिमका खेलाडीले बायो बबल तोडेर बाहिर जानु र त्यसपछि खेलाडीमा एकपछि अर्को गरेर संक्रमण देखिएपनि प्रतियोगिता नै स्थगित भएको थियो ।

आयोजकले आइपीएल स्थगित गरेपछि सबै भन्दा ठूलो तनाव विदेशी खेलाडी, त्यसमा पनि इंग्ल्याण्ड र अष्ट्रेलियन खेलाडीलाई भएको छ । किनकी अष्ट्रेलियन सरकारले भारतबाट अहिलेको अवस्थामा स्वदेश फर्कन नपाउने र आएको खण्डमा जेल सजाय हुने भन्ने नियम बनाएको छ । यता इंग्ल्याण्डले भारतसँगको हवाई उडान रद्द गरेको छ । अब बीसीसीआईले यी खेलाडीलाई कसरी सुरक्षित तरिकाले स्वदेश फर्काउने हो त्यो खेलाडीको चासको विषय बनेको छ ।

खेलाडीले पनि आइपीएल स्थगित भएपछि सबै खेलाडी आफ्नो परिवारसँग जान चाहने र उनीहरुलाई सुरक्षित तरिकाले फर्किने बाटो बनाउनपर्ने काम बीसीसीआईको रहेको बताएका छन ।

यो सिजनको आइपीएल अनिश्चित समयका लागि स्थगित भएको छ । यदि भारतमा कोरोनाका अवस्था नसुध्रिएको खण्डमा र आइपीएल यो बर्ष हुन नसकेको खण्डमा बीसीसीआईलाई दुई हजार करोड भारतीय रुपैयाँ अर्थात ३२ सय करोड नेपाली रुपैयाँ नोक्सानी हुनेछ ।

यसका साथै यो बर्ष भारतमा हुने टी-२० विश्वकप नहुने पनि खतरा बढ्नेछ । केहि दिन अगाडी पनि यो बर्षको टी २० विश्वकप भारतबाट यूएईमा सार्नुपर्ने माग बढिसकेको छ । यदि भारतमा टी-२० विश्वकप पनि हुन सकेन भने बीसीसीआईलाई आर्थिक रुपमा अर्बो रुपैयाँ नोक्सान हुने आंकलन गरिएको छ ।

Post Add 1025X115
Loading...