अन्तिम समयको पेनाल्टी गोलसँगै चितवनले ललितपुरसँग बराबरी खेल्यो

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-१३
  • |
  • 700 पटक हेरिएको

नेप्लेज । इन्जूरी समयमा अमित तामाङले पेनाल्टीमा गोल गरेपछि नेपाल सुपर लिग (एनएसएल)को आफ्नो पहिलो खेलमा चितवन एफसीले ललितपुर सिटी एफसीसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको छ ।

९० औं मिनेटमा ललितपुरका डिफेण्डर विनोद गुरुङले बक्सभित्र ह्याण्ड गरेपछि रेफ्री प्रकाशनाथ श्रेष्ठले चितवनलाई पेनाल्टीको अवसर दिएका थिए । जसमा अमिलले बायाँ साइड च्यापेर गरेको प्रहार ललितपुरका गोलरक्षक अर्पण कार्कीले अनुमान गर्नै सकेनन् ।

यसअघि दोस्रो हाफको सुरुमै कमल श्रेष्ठले गोल गरी ललितपुरलाई अग्रता दिलाएका थिए । ४९ औं मिनेटमा मैदानको दायाँतर्फ बक्सबाहिरबाट कमल श्रेष्ठले गरेको प्रहार चितवनका गोलरक्षक विशाल सुनारले अनुमान गर्न नसक्दा गोल हुन पुग्यो ।

उद्घाटन खेलमा काठमाडौं रेजर्ससँग १–० ले हारेको ललितपुर दोस्रो खेलमा पनि अंक बाँड्नु परेपछि दवावमा आएको छ । अन्तिम समयमा गोल गरी कम्तिमा एक अंक जोडेको चितवनले प्रतियोगितामा सन्तोषजनक सुरुआत गरेको छ ।

पहिलो हाफमा कप्तान अन्जन विष्टले पेनाल्टीमा गोल गर्न नसकेपछि अग्रता लिन चुकेको ललितपुरले दोस्रो हाफको सुरुमै गरेको थियो ।

खेलको अधिकांश समय ललितपुरले नियन्त्रणमा राखेको थियो । उसले गोलका अन्य केहि राम्रा अवसर खेर फालेको थियो । चितवन पनि गोलका दुई अवसरमा चुक्न पुग्यो ।

दशरथ रंगशालामा भएको खेलको दशौं मिनेटमा १० औं मिनेटमा ललितपुरका विमल रानाले गरेको प्रहार चितवनका डिफेण्डरलाई लागेर आउट भयो । त्यही कारण पाएको कर्नरमा पाल्साङ लामाको हेड पोष्ट नजिकैबाट बाहिरियो ।

२० औं मिनेटमा गोरान जेर्कोभिचले ललितपुरका निरज बस्नेतलाई बक्सभित्र लडाएपछि रेफ्रीले पेनाल्टीको अवसर दिएका थिए ।

ललितपुरका कप्तान तथा मार्की खेलाडी अन्जन विष्टले प्रहार गरेको पेनाल्टी चितवनका गोलरक्षक विशाल सुनारले दायाँतर्फ डाइभ गरी उत्कृष्ट बचाउ गरे । रिबाउण्ड बलमा विमल रानाको प्रहार पनि विशालले बायाँतर्फ डाइभ गरी शानदार बचाउ गरे ।

३५ औं मिनेटमा चितवनले पनि एउटा अवसर खेर फालेको थियो । चितवनका विदेशी खेलाडी गोरान जेर्कोभिचको पासमा भरत खवासले पेनाल्टी क्षेत्रबाट गरेको प्रहार क्रसबार नजिकैबाट बाहिरियो ।

५४ औं मिनेटमा नवीन लामाको पासमा विमल रानाले ६ यार्डबाट गरेको प्रहार विमलले पन्च गरी जोगाए । रिवाउण्ड बलमा विमलकै प्रहार विशालले समाए ।

६१ औं मिनेटमा गोरान जेर्कोभिचले मिलाइदिएको पासमा चितवनका कप्तान भरत खवासले गरेको प्रहार क्रसबार नजिकैबाट बाहिरियो ।

६५ औं मिनेटमा चितवनका विकास खवासको गल्तीमा ललितपुरका नुर्लान जाहिदले पेनाल्टी क्षेत्रबाट गरेको प्रहार क्रसबारमा लागेर बाहिरियो ।

प्रतियोगिता अन्तर्गत मंगलबार एक खेल हुनेछ । साँझ साढे ५ बजेदेखि सुरु हुने खेलमा धनगढी एफसी र काठमाडौं रेजर्सबीच हुनेछ ।

यसअघि पहिलो खेलमा धनगढीले विराटनगर एफसीसँग ३–० ले पराजित भएको थियो भने काठमाडौंले ललितपुरलाई १–० ले हराएको थियो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey