आइपीएलमा पञ्जावकाे दाेस्राे जित, मुम्बई इन्डियन्स ९ विकेटले पराजित

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-१०
  • |
  • 551 पटक हेरिएको

इन्डियन प्रिमियर लिगमा पञ्जाव किंग्सले दोस्रो जित निकालेको छ । शुक्रबार राति भएको खेलमा पञ्जावले साविक विजेता मुम्बई इन्डियन्सलाई नौ विकेटले हरायो ।

टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ३१ रन बनायो ।  मुम्बईका लागि कप्तान रोहित शर्माले ६३ रन बनाए ।

मुम्बईका क्वीन्टन डी ककले तीन रन बनाएर पभेलियन फर्किएपछि विकेट पतनको शृंखला शुरु भएको थियो । त्यसपछि इशान किशन ६ रन बनाएर आउट हुँदा मुम्बईले दोस्रो विकेट २६ रनमा गुमाएको थियो ।

रोहित र सूर्यकुमार यादवले मुम्बईको पारि अघि बढाएका थिए । यादव व्यक्तिगत ३३ रनमा आउट हुँदा मुम्बईले तेस्रो विकेट १०५ रनको स्कोरमा गुमाएको थियो ।

१७ ओभर तीन बलमा कप्तान रोहित ६३ रन बनाएर आउट हुँदा मुम्बईले चार विकेटको नोक्सानीमा एक सय १२ रन बनाएको थियो । पाण्ड्या दाजुभाई पनि धेरै बेर टिकेनन् ।

हार्दिक एक रन बनाएर आउट हुँदा क्रुनाल तीन रनमा पभेलियन फर्किएका थिए । किरोन पोलार्ड भने १६ रनमा नटआउट रहे । मोहम्मद सामी र रवि विश्न्वईले दुई दुई विकेट लिए ।

जवाफमा पञ्जावले १७ ओभर चार बलमा एक विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो ।

राम्रो सुरुवात गरेको पञ्जावले ५३ रनमा पहिलो विकेट गुमायो । उसका मायांक अग्रवाल २५ रनमा आउट भए । त्यसपछि क्रिस गेल र लोकेश राहुलले टिमलाई जित दिलाए ।

उसका लागि क्रिस गेलले ४३ रन बनाए भने लोकेश राहुलले ६० रनको योगदान गरे ।

जारी प्रतियोगितामा मुम्बईको तेस्रो हार हो । उसले पाँच खेलमा दुई जित र तीन हार ब्यहोरेको छ । पञ्जावको यो दोस्रो जित हो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey