कुशल र दिपेन्द्रको अर्धशतकमा नेपालले नेदरल्याण्ड्सलाई दियाे दुई सय ७ रनकाे लक्ष्य

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-०७
  • |
  • 519 पटक हेरिएको

त्रिकोणात्मक टी २० सिरिजमा नेपालले नेदरल्याण्ड्सलाई दुई सय सात रनको लक्ष्य दिएको छ । टी २० क्रिकेटमा दोस्रो उच्च स्कोर बनाएको नेपालका लागि कुशल भुर्तेल र दिपेन्द्रसिंह ऐरीले उत्कृष्ट ब्याटिङ गरे ।

कीर्तिपुर मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदा दुई सय ६ रन बनायो । नेपालले नेदरल्याण्ड्सविरुद्ध आज सुरुवात भने राम्रो गर्न सकेन । यसअघिका दुई खेलमा शतकीय साझेदारी गरेका कुशल भुर्तेल र आशिफ शेखको जोडी आज भने जम्न सकेन । नेपालको स्कोर २० रन हुँदा आशिफ शेख खाता खोल्न नपाउँदै आउट भए । उनले चार बल खेल्दा खाता खोल्न सकेनन् ।

त्यसपछि नेपालको स्कोर ६३ रन हुँदा दोस्रो विकेट गुमायो । कप्तान ज्ञानेन्द्र मल्ल २० रनमा आउट भए । उनले १३ बलमा दुई चौका र एक छक्का प्रहार गरे ।

तेस्रो विकेटका लागि दिपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलविच ७८ रनको साझेदारी भएको थियो । जसमा कुशलले ४६ बलमा आठ चौका र एक छक्काको मद्दतले ६२ रन बनाए । ४६ रनको अवस्थामा उनले नो बलमा छक्का प्रहार गर्दै अर्धशतक पुरा गरेका थिए । उनी डेब्यु सिरिजमा नै लगातार तीन अर्धशतक बनाउने पहिलो खेलाडी बने ।

त्यसपछि नेपालको स्कोर एक सय ५४ रन हुँदा चौथो विकेट गयो । नेपालका दिपेन्द्रसिंह ऐरी ६० रनमा आउट भए । उनले ३० बलमा तीन चौका र पाँच छक्का प्रहार गरे । दिपेन्द्रले पनि टी २० मा पहिलो अन्तराष्ट्रिय अर्धशतक बनाउन सफल भए ।

त्यसपछि कुशल मल्लले सात बलमा तीन छक्काको मद्दतले १८ रन बनाएर आउट हुँदा नेपालको स्कोर एक सय ७६ रन बनाएको थियो । लगत्तै क्रिजमा आएका करण केसी एक रनमा आउट हुँदा नेपालले एक सय ७८ रनमा छैटौं विकेट खेर फाल्यो ।

अन्तिममा साेमपाल कामीले अविजित २१ रन बनाए भने विनाेद भण्डारीले ७ रन बनाए ।

टी २० क्रिकेटमा नेपालको यो दोस्रो उच्च स्कोर हो । यसअघि नेपालले मलेसियाविरुद्ध एक सय ७३ रन बनाएको थियो । नेपालले टी २० मा भुटानविरुद्ध १३ औं दक्षिण एशियाली खेलकुद सागमा दुई सय ३६ रनको उच्च स्कोर बनाएको थियो । अन्तिममा सोमपाल कामीले रनको योगदान गरे ।

बलिङमा नेदरल्याण्ड्सका पिटर सेलार र भिभिन किंग्माले दुई दुई विकेट लिए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey