मजबुत हुनुपर्ने बेला छरपष्टको बाटोमा क्यान, असन्तुष्टिले सिमा नाघ्दै, आलोचना हुने एकपछि अर्को काम !

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-०३
  • |
  • 460 पटक हेरिएको

नेपाल क्रिकेट संघको आयोजनामा हुने भनिएको त्रिकोणात्मक टी २० क्रिकेट प्रतियोगिताको मिति तय भएदेखि नै विभिन्न विवाद र आलोचनामा भइरहेको छ । क्यानले आफूले १५ लाख पाउने गरेर प्रतियोगिता निजी कम्पनीलाई दिएको कुराले अहिले क्यान आफैलाई नै पश्चाताप भइरहेको छ ।

यो कुरामा क्यान पदाधिकारीले ठूलो गल्ति गरेको उनीहरु आफैले स्विकारेका छन् । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले नै कार्यसमितिको बैठकमा यो पटकलाई पाठ सिकाई भएको र अबबाट यस्तो गल्ति नहुने भनेर बताएका थिए ।

यो प्रतियोगितामा क्यानले चुनौती लिन नखोज्दा आफु सेफ बाटोमा बस्न खोज्दा ठूलो नोक्सानी भोग्ने पक्का जस्तै देखिएको छ ।

त्रिकोणात्मक सिरिजको आलोचना

नेपाल क्रिकेट संघ क्यानले कमर्सियल राइट्सको पूर्ण भाव नै नबुझी हतारमा निर्णय गरेर त्रिकोणात्मक सिरिज निजी कम्पनीलाई विक्रि गर्‍याे । क्यानले यो प्रतियोगिताका कुल खर्च एक करोड २० लाख रुपैयाँ हुने र त्यो बाहेक क्यानले १५ लाख रुपैयाँ पाउने भनेर गर्वका साथ भनिरहँदा, प्रतियोगिता पछि पर्न सक्ने अप्ठ्यारोका विषयमा भने सायदै सोचेको होला र ?

क्यानले कमर्सियल राइट्स विक्रि गरेको भनेर आइसीसीलाई भनेकाे पनि छैन । यदि याे विषय आईसीसीले थाहा पाएको खण्डमा त्यसपछिको अवस्था के हुन्छ भन्ने त्यो छुट्टै पाटाे हाे । त्यसमा पनि क्यानको आयोजना भनेर यो प्रतियोगिता भनिएको छ । तर यसमा क्यानका पदाधिकारीको भूमीका नै के हो भन्ने प्रष्ट छैन ।

प्रतियोगिताको डाइरेक्टरमा रुपमा क्यानले माधव कर्माचार्यलाई जिम्मा दिएको छ भने भेन्यु इन्चार्ज भनेर क्यानका कर्मचारी प्रबल गौतमलाई जिम्मा लगाएको छ ।

अरु बेला कुनै पनि अन्तराष्ट्रिय प्रतियोगिता हुँदा आफ्नो भूमीका के हुन्छ भनेर हानाथाप गर्ने क्यानका पदाधिकारी यो प्रतियोगितामा भने मौन छन् । बरु प्रतियोगिताका बेला आनन्दले भिआइपी  कक्षमा बसेर खेल हेर्ने मनासायमा देखिन्छन् ।

आईसीसीबाट सशर्त फुकुवाको अवस्थामा रहेको क्यानले सबै हिसाव किताव पूर्ण रुपमा देखाउनुपर्छ । तर अब यो प्रतियोगितापछि क्यानले कुन तरिकाले प्रतियोगिताको हिसाव किताव मिलाउछ भन्ने अर्काे प्रश्न  पनि खडा भएकाे छ । किनकी त्रिकोणात्मक सिरिजका बेला प्रायोजक, टेलिभिजन राइट्स, टिकट विक्रिबाट आएको रकम खै भनेमा क्यानसँग त्यसको कुनै जवाफ हुने छैन ।

क्यान एउटा संस्था हाे । यसकाे खर्च गर्ने प्रकृया पनि नियमसँगत हुनुपर्छ । तर, अहिलेकाे हिसाब किताब क्यानबाट नहुने हुँदा अडिटमा प्रतियोगिताको हिसाव किताव कसरी देखाउने त्याे अर्काे चुनाैतीकाे विषय हाे ।

 तर अब उसले के यो प्रतियोगिताको हिसावकिताव त्यहि १५ लाख रुपैयाँ देखाउने हो । क्यानका एक पदाधिकारीका अनुसार क्यान यो प्रतियोगितापछि हिसावकितावमा समस्यामा पर्ने बताएका छन् ।

कोभिडका कारण एक बर्ष भन्दा बढि समय अन्तराष्ट्रिय क्रिकेट खेल्न नपाएका खेलाडी यो प्रतियोगितामा खेल्न जति खुसी छन्, त्यति नै दुःखी पनि छन । कारण नयाँ जर्सी ।

जर्सीको अर्को लफडा

सन् २०१४ को टी २० विश्वकप क्रिकेट खेलेर आएपछि क्यानले नेपाल टेलिकमसँग एक करोड ५५ लाखको प्रायोजना सम्झौता जर्सीमा गरेको थियो । तर त्यो हेर्ने हो भने अहिलेको सम्झौता पैसा भनेपछि हुन्छ भन्ने किसिमले महत्व नबुझेर विक्रि गरेको देखियो ।

नेपाल क्रिकेट संघ क्यानले तीन महिना अगाडि निजी कम्पनी एडप्याडसँग १५ महिनाको ५६ लाख रुपैयाँमा जर्सीको प्रायोजन खोज्ने अधिकार विक्रि गरेकाे थियाे । जुन कुरा पहिले सम्झौता भयो, त्यसपछि बोर्डबाट पास भयो । तर अन्तिममा जर्सीमा प्रायाेजककाे लाेगाे मात्रै राखिएन, नयाँ जर्सी नै सार्वजनिक गरियाे । तयारी विनै नयाँ जर्सी सार्वजनिक भएपछि उक्त जर्सीकाे रंग लगाएत अन्य कुराहरुले अहिले नकारात्मक टिका टिप्पणीहरु भइरहेका छन् । याे विषयमा क्यानकै सदस्यले पनि सार्वजनिक रुपमा विराेध जनाएका छन् ।

 क्यानकै कार्यसमितिका सदस्य छुम्बी लामाले सोसियल मिडियामा खुलेरै विरोध गरे । उनले यो जर्सीको डिजाइन परिवर्तन गर्नुपर्ने नेप्लेजसँगकै कुराकानीमा पनि बताएका छन् ।

हेरौ, छुम्बी लामाको अन्तरवार्ता


प्रतियोगिताको एक दिन अगाडी राति खेलाडी बसेको सोल्टि होटेलमा नयाँ जर्सी आइपुग्यो । टिमका खेलाडीका लागि ल्याइएको जर्सी कसैलाई ठिक भयो भने कसैलाई ठुलो र सानो भयो । नाम दिँदा सहि भएपनि आउँदा नमिल्ने जर्सी आएपछि खेलाडीले असन्तुष्टि जनाए । जसका कारण राति नै क्यानका केहि पदाधिकारी होटेलमा पुगेर अहिलेका लागि जसोतसो म्यानेज गर्न र अर्को प्रतियोगितामा राम्रो जर्सी आउने भन्दै खेलाडीलाई थमथम्याएका थिए ।

अवस्था यस्तो भयो की जर्सी फेरी मगाउन पनि कठिन, अर्को जर्सी टिमसँग छैन, त्यसैले आएको जर्सीलाई मिलाउनका लागि आरजे स्पोर्टसका प्रतिनिधीलाई बोलाएर कुरा गरियो ।

ठूलो भएका जर्सीको साईजलाई घटाउने र सानो भएकामा कपडा थप्ने भनेर आरजे स्पोर्टसलाई राति नै जिम्मा दिइयो । सो कम्पनीले शुक्रबार साँझसम्म सबै तयार गरेर ल्याउने भनेर शुक्रबार विहान आफ्नो कम्पनीमा जर्सी मिलाउन लगे ।

जर्सीका विषयमा बुझ्न खोज्दा, एक पदाधिकारीले नाम दिँदा नै केहि कन्फ्युज भएको भनाई राखे । उनले लार्ज लेखेर पठाए पनि सबै कम्पनीको एउटै साइजको लार्ज नहुने धारणा राखे । तर त्यो सबै मिलेको बताए ।

अम्पायरको भत्तामा लफडा

नेपाल क्रिकेट संघ क्यानले जोहरा स्पोर्टस म्यानेजमेन्टसँग सम्झौता गर्दा अम्पायरलाई १० हजार रुपैयाँ म्याच फी दिने गरेर सम्झौता भएको थियो । त्यसमा दुबै पक्ष सहमत पनि भएका थिए । प्रतियोगितामा सबै नेपाली अम्पायर प्रयोग हुने भएकाले क्यानले राम्रो रकम पाउन भन्ने हेतुले अम्पायरको भत्ता राखेको थियो ।

तर प्रतियोगिता आउन एक दिनमात्र बाँकी रहेका बेला अम्पायरले नै आफूहरुको भत्ता १५ हजार रुपैयाँ हुनुपर्ने भन्दै दावी गरे । त्यसपछि यो कुरालाई कार्यान्वयन गर्नका लागि ब्यवस्थापन कम्पनीसँग कुरा बढायो । तर उनीहरुले यो सोचेनन्, अहिले जोहरा स्पोर्टसले प्रायोजक पाएको छ देला, तर भविष्यमा आफ्नै आयोजनामा कुनै अन्तराष्ट्रिय प्रतियोगिता गर्दा के यसरी अम्पायरले बार्गिनिङ गर्दा दिन सकिन्छ भनेर सोचेनन् ।

क्यानको काममा कर्मचारी नै वाक्क

नेपाल क्रिकेट संघ क्यानको नयाँ कार्यसमिति आएपछि केहि आशा गरेका क्रिकेटप्रेमीका लागि समयसँगै खल्लोपन महसुस भइसकेको छ । आइसीसीको गाइडलाइनमा रहेर क्यानले अत्यावश्यक कर्मचारी पुर्तिपनि गर्‍याे । तर ती कर्मचारी क्यानमा काम गर्न सुरु गरेको तीन महिनामा नै वाक्क भइसकेका छन् ।

नाम नराख्ने सर्तमा कार्यसमितिका एक पदाधिकारीले भने, क्यानका कर्मचारीहरु पदाधिकारीको गतिविधी देखेर वाक्क भइसकेको र किन क्यानमा आयौं होला भन्ने आभाष गर्न थालिसकेको बताए ।

पछिल्लो पटक क्यानमा नियुक्त भएका जीएम, क्रिकेट म्यानेजरपनि एक किसिमले वाक्क जस्तै भएको ती पदाधिकारीले बताए । किनकी उनीहरुलाई अहिलेसम्म आफ्नो कामको अधिकार (टिओआर) नै नदिएको उनले बताए ।

यतिमात्र होइन, उनहरुले तीन महिना देखि तलव पनि पाएका छैनन् । जनवरीबाट क्यानले जीएम, क्रिकेट म्यानेजर र फाइनान्स म्यानेजरको तलवका लागि पे रोल नै बनाएको छैन । जसका कारण उनीहरुले तीन महिनादेखि तलव नै पाउन सकेका छैनन् ।

क्यानमा केहि गरौला भनेर आएका ती कर्मचारी पेन्डुलम जस्तो नै बनेको ती पदाधिकारीले बताए । काम सबै गराउन लगाएपनि त्यसको श्रेय भने अर्कैले खाने गरेका उनको भनाई छ ।

करिव दुई बर्षमा नै राजनीति झांगिँदै

राजनीतिका कारण राष्ट्रिय खेलकुद परिषद्ले हस्तक्षप गरेपछि आईसीसीको निलम्बनमा परेको नेपाल क्रिकेट संघमा नयाँ कार्यसमिति आएको करिव २१ महिनामा नै संघमा को कसको खेमामा भनेर छुट्याइन थालिसकिएको छ ।

अध्यक्षलाई असफल बनाउन एक पक्ष लागेको छ भने अर्को पक्षको हरकतलाई बुझेर ब्याकफुटमा अहिले अध्यक्ष रहेका छन् । आगामी जुनमा आइसीसीले केहि न केहि निर्णय गर्ने आशामा अध्यक्ष रहेको बुझिएको छ ।

पछिल्लो पटक दुई खेमाको झगडाको कारणले क्यानको मुख्यालय मुलपानीकाे रिनोभेसनको काम बीचमा नै रोकिएको छ । नक्सालमा मासिक ३५ हजार रुपैयाँ भाँडामा कार्यालय राखेको क्यानले अब मुलपानीमा नै ब्यवस्थित कार्यालय बनाउने भनेर एक कम्पनीलाई त्यसको जिम्मा दिने तखर गरेकाे थियाे ।

कार्यालय मर्मत र पुननिर्माणका लागि आर्थिक समितिलाई अध्ययन गर्न र संभावित खर्चलाई आंकलन गर्न जिम्मा दिइयो । उसले सबै अध्ययन गरेर निर्माण कम्पनीलाई करिव ४० लाखको हाराहारीको बजेटमा काम गर्नका लागि सबैको सहमतिमा जिम्मा दिइयो । र मुलपानीमा सो कम्पनीले काम पनि सुरु गर्‍याे ।

तर त्यो काम खुल्ला नोटिस विना नै लगायो भनेर आपत्ती गरियो । तर यसमा आर्थिक समितिले सबै अध्ययन नगरेको र गलत प्रक्रियाबाट काम लगाएको भन्दै सचिव अशोकनाथ प्याकुरेलले रकम निकाशाका लागि फाइनलमा हस्ताक्षर गर्न मानेनन् ।

त्यसपछि त्यो कुराको विवाद अहिले क्यानका पदाधिकारी भित्र अर्को स्तरमा पुगेको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey