खेलकुदमा नयाँ कानुनको बर्ष

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-०१
  • |
  • 611 पटक हेरिएको

नेपाली नयाँ बर्ष २०७८ हामीले स्वागत गर्दैछौं । बर्ष २०७७ मा विभिन्न राजनीतिक सामाजिक घटनाक्रमहरुसँग खेलकुदमा पनि केही उल्लेख्य सुधारहरु भएका छन् । खासगरि बर्ष २०७७ नेपाली खेलकुदका ‘कानुन’को बर्षको रुपमा स्मरण गरिने छ । वर्ष २०७७ शुरुहुँदा कोरोना महामारीका कारण सबै क्षेत्र ठप्प थियो । यसको असर नेपाली खेलकुदमा पनि परेकै हो । २०७६ चैत ११ गतेदेखि लकडाउन भएका कारण २०७७ वर्षको शुरुवात राम्रो हुन सकेन ।

लकडाउन भएपछि खेलकुद क्षेत्र पनि ठप्प प्राय नै रह्यो । तर यसबीचमा असाढमा तीन दशक अघिको ‘खेलकुद विकास ऐन २०४९’ खारेज गर्दै संसदले बनाएको ‘खेलकुद विकास ऐन २०७७’ कार्यान्वयनमा आयो ।

२०७५ फागुन २६ गते तत्कालिन युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले राष्ट्रियसभामा पेश गरेको खेलकुद विधेयक राष्ट्रिय सभा र प्रतिनिधि सभाको विषयगत समितिहरुमा पर्याप्त छलफलसहित असार ११ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणीकरण भएको थियो ।

संसदका दुवै सदनबाट पारित भएको उक्त विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि असार १७ गतेदेखि कार्यान्वयनमा आउँदा नेपाली खेलकुद क्षेत्रमा एकखालको तरंग नै ल्यायो । यो ऐन कार्यान्वयनका कारण पहिलो झड्का नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद् राखेपमा पर्यो ।

फलस्वरुप राखेपका पदाधिकारीहरु एकै पटक पदमुक्त हुन पुगे भने नयाँ प्रक्रियाबाट पदाधिकारीहरुको नियुक्ति भयो । उक्त ऐनले राखेप भन्दा मन्त्रालयलाई अलि बढी अधिकार दिएको छ भने यसअघि कार्यकारी भूमिकामा रहने सदस्यसचिव अहिले समितिको निर्देशन अनुसार मात्रै चल्न पाउने प्रावधान राखिएको छ । यसैगरी ऐनमै नेपालको राष्ट्रिय खेल भलिबल उल्लेख गरेपछि लामो समयदेखिको नेपालको राष्ट्रिय खेल कुन हो भन्ने लफडा पनि बर्ष २०७७ मा सकिएको छ ।

राखेपमा पदाधिकारीहरुको नियुक्ति पहिला राजनीतिक आस्थाका आधारमा हुने गरेकोमा ऐनमा भएको व्यवस्था अनुसार अब विज्ञेताको पनि खोजि गरिएको छ भने पदाधिकारी बन्नका लागि विभिन्न चरणका छनोट चरण पारे गरेर मन्त्रिपरिषदले निर्णय गर्ने व्यवस्था पनि यो ऐनमा उल्लेख गरिएको छ । सदस्य सचिवका लागि योग्यता र उमेर हद तोकिएको छ भने परिषद्मा पहिलो पटक नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाल उद्योग वाणिज्य महासङ्घको प्रतिनिधित्वको सुनिश्चित गरेको छ । ऐन अनुसार कामहरु अघि बढेपनि नेपाली खेलकुदलाई कोरोनाको प्रभाव भने परि नै रहेको थियो ।

यसबिचमा दशैं पछि तिहार अघि अर्थात कार्तिक १९ गते नेपाली राष्ट्रिय फुटबल टिमले बंगलादेशमा आयोजना भएको ‘मुजिब बर्षो ट्रफी’ खेलेर अन्तर्राष्ट्रिय एरेनामा खेललाई फर्काएको थियो । झण्डै आठ महिनापछि नेपाली खेलकुदले मैदानमा प्रवेश पाएपनि कोरोना महामारीको असर कायमै रहेकाले दर्शकले भनेजस्तो प्रतियोगिताहरु हेर्न पाएनन् । कोरोना कालमा नेपाली खेलाडीहरुले भर्चुल प्रतियोगिताहरुमा पनि थुप्रै पदक जित्न सफल भएका छन् । खासगरि मार्सल आर्टसका गेमहरुमा नेपालले उल्लेख्य सहभागिता जनाउन सफल रह्यो ।

मंसिर पछि केही प्रतियोगिताहरु लगाता शुरु पनि भए । यो समयमा नेपाल क्रिकेट संघ क्यानले प्रधानमन्त्री कप महिला र पुरुष क्रिकेट प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्यो । कोरोनाको महामारी कम भएको आंकलनका साथ प्रतियोगिताहरु धेरैनै भए । अखिल नेपाल फुटबल संघ एन्फाले रोकिएका बी डिभिजन र सी डिभजनका प्रतियोगिता आयोजना गर्न सफल भयो भने मोफसमा पनि प्रतियोगिताहरु धमाधम आयोजना भए । विभिन्न गोल्डकपहरु अहिले पनि चलिरहेका छन् भने स्थानीय स्तरका प्रतियोगिताहरु तुलनात्मकरुपमा बढी नै आयोजना भए ।

यस्तै, भलिबलको चर्चित प्रतियोगिता आरबीबी क्लब लिग च्याम्पियनसिप आयोजना भयो । अझ भन्ने हो भने चैत महिनामा त सर्बाधिक धेरै प्रतियोगिताहरु आयोजना भए । यसबीचमा थ्री नेसन्स कप फुटबल प्रतियोगिता सर्वाधिक सफल रह्यो । झण्डै ३७ वर्ष पछि नेपालले घरेलु मैदान दशरथ रंगशालामा फाइनलमा उपाधि जित्न सफल भयो । थ्री नेसन्स कपमा नेपालसहित बंगलादेश र कीर्गिस्तानको यु २३ टिमले प्रतिस्पर्धा गरेका थिए । फाइनलमा नेपालले बंगलादेशलाई २–१ गोल अन्तरले पराजित गरेको थियो ।

बर्ष २०७७ को अर्को सकारात्मक कुरा भनेको पहिलो पटक नेपाली फुटबलमा पनि फ्रेन्चाईज लिग आयोजना हुँदैछ । नेपाल सुपर लिग फुटबल (एनएसएल) को आयोजनाले नेपाली फुटबलमा नयाँ तरंग पनि वर्ष २०७७ मा ल्याउन सफल भयो । यसले नेपाली खेलकुदमा कर्पोरेट क्षेत्रलाई पनि समाहित गर्न थप सफलता हासिल गरेको रुपमा बुझ्न सकिन्छ ।

अहिले फेरि कोरोनाको लहर शुरुहुने खतरा कायमै रहेको छ । जसले गर्दा नयाँ बर्ष शुरु भएसँगै आयोजनाहुने प्रतियोगितामा कस्तो असर पर्छ त्यो भने २०७८ सालमै थाहा हुने छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey