त्रिदेशीय क्रिकेट सिरिज: टाउकाे दुखाई कम गर्न क्यानले बेच्याे मात्र १५ लाखमा कमर्सियल राइट्स !

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-२७
  • |
  • 391 पटक हेरिएको

नेपाल क्रिकेट संघ क्यानको शुक्रबार बसेको कार्यसमितीको बैठकमा बैशाख चार गतेबाट मलेसिया, नेदरल्याण्ड्स र नेपाल सम्मिलित त्रिदेशीय टी २० क्रिकेट प्रतियोगिताको ब्यवस्थापन देखि सबै जिम्मेवारी एक निजी कम्पनीलाई दिएको जानकारी अध्यक्ष चतुरबहादुर चन्द र सचिव अशोकनाथ प्याकुरेलले सबैलाई औपचारिक जानकारी दिए । बैठकमा प्रतियोगिताको जिम्मेवारी जोहरा स्पोर्टस म्यानेजमेन्टलाई दिएको जानकारी दिएपछि एका एक असन्तुष्ट सदस्यहरुले चर्को स्वरमा प्रतिवाद गरे ।

क्यानले गरेको सम्झौता अनुरुप जोहरा स्पोर्टसले प्रतियोगिताको प्रायोजन खोज्नुका साथै टिकटबाट आम्दानी हुने सबै रकम आफुले राख्ने गरेर सम्झौता गरेको छ । यसको वाफत क्यानको पोकेटमा मात्र १५ लाख रुपैयाँ पाउने गरि सम्झौता भएको छ । यो कुराले धेरैलाई आश्चार्यमा पार्यो ।

क्यानले जोहरा स्पोर्टसलाई कमर्सियल पार्टनरका रुपमा सम्झौता गरेको हो । तर यो प्रतियोगिता क्यान आफैले किन गर्न सकेन र निजी कम्पनीलाई दियो भन्ने ठूलो प्रश्न रहेको छ ।

जोहरा स्पोर्टसका प्रमुख आमिर अख्तरले सुरुवातमा क्यानका सचिव अशोक नाथ प्याकुरेललाई प्रतियोगिता ब्यवस्थापन लगायतको प्रपोजल पठाएका थिए । उनले त्यो प्रपोजललाई केहि समय होल्ड गरेपछि अख्तरले सोझै अध्यक्षलाई त्यो प्रस्ताव राखे । अध्यक्षले क्यानले आउने रकमका विषयमा सोचेर हुन्छ भनेर जिम्मा दिएको एक सदस्यले बताए ।

अन्तराष्ट्रिय प्रतियोगिता हुँदापनि निजी कम्पनीलाई कुनै छलफल विना नै ठेक्का दिनु क्यानको ठूलो कमजारी रहेको एक सदस्यको भनाई छ । हुनपनि क्यानले यदि कुनै निजी कम्पनीलाई ठेक्का नै दिनु थियो भने खुल्ला आह्वान गर्न सक्थ्यो । सायद त्यो भएमा अहिले क्यानले पाउने रकम भन्दा बढि नै पो पाउथ्यो की ।

अब सिरिजमा प्रायोजकबाट आउने रकम, टिकटको रकम, टेलिभिजन राइट्सको रकम, डिजिटल राइट्सको रकम सबै सो निजी कम्पनीले राख्नेछ । मात्र सिंगो १५ लाख रुपैयाँ क्यानलाई दिएर बाँकी सबै राख्नेछ ।

तर अहिलेको अवस्थामा प्रतियोगिताका बेला दर्शकलाई मैदानमा प्रवेश गराउन पाउने हो या होइन, त्यो एकिन छैन । तर यसका लागि क्यानले इभेन्ट ब्यवस्थापकलाई हायर गरेर अझ राम्रो सम्झौता गर्न सकिन्थ्यो, तर यसरी ठेक्का दिएको खण्डमा आगामी समयमा पनि यस्तै गल्ति नहोला भन्न सकिन्छ ।

बैठकमा एक सदस्यले अहिले जुन तरिकाले ठेक्का दिइएको छ, त्यो विषयमा यदि अख्तियारी परेको खण्डमा के हुन्छ भन्ने प्रश्नमा शिर्ष पदाधिकारीले चित्त बुझ्दो जवाफ दिन सकेनन् ।

क्यानले १५ लाखमा ठेक्का दिएको कुरालाई बैठकमा रहेका केहि पदाधिकारीले चर्को आवाजमा विरोध गरेका थिए । तर अध्यक्षले त्यसलाई अहिलेको लागि पाठ सिकाई भएको भन्ने तरिकाले लिए ।

यदि क्यानले यसरी ठेक्का दिने हो भने क्यान आफै भएको के काम भन्ने प्रश्न पनि उब्जिएको छ । सो निजी कम्पनीले सबै टिमको जिम्मेवारी लिनेछ । त्यसमा क्यानले कुनै टाउको दुखाई नगर्नुपर्ने भएको छ

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey