त्रिदेशीय कप फुटबलले दिलाएकाे खुसी !

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-१७
  • |
  • 457 पटक हेरिएको

सूर्यध्वज तामाङ, नेप्लेज ।

नेपाली राष्ट्रिय फुटबल टिमले घरेलु मैदानमा आयोजित त्रिदेशीय कपको उपाधि जितेसँगै नेपालमा फुटबलको स्तर अझै माथि पुग्न सक्ने संकेत दिएको छ ।

त्रिदेशीय कपको फाइनलमा बंगलादेशबिरुद्ध २–१ को शानदार जित निकाल्दै उपाधि घरमै सुरक्षित राख्न नेपाली टिम सफल रह्यो । पहिलो खेलमा किर्गिस्तान र दोश्रो खेलमा बंगलादेशसँग गोलरहित बराबरी खेलेको टिमले फाइनलमा भने हजारौँ दर्शकको सामु बंगलादेशको पोस्टमा २ गोल गर्न सफल रह्यो । यस जितसँगै नेपाली फुटबल टिमले पुनः एकपटक दर्शकको मन जित्न सफल भएको छ ।

नेपालले करिब एक वर्षपछि आफ्नै मैदानमा अन्तराष्ट्रिय लिगको आयोजना गय्रो । कोरोना महामारीले अन्तराष्ट्रिय खेलहरु ठप्प भएपछि नेपाली राष्ट्रिय टिमले कुनै पनि खेल खेलेका थिएनन् ।

त्यसो त नेपाली टिमले ३७ वर्षपछि घरेलु मैदानमा अन्तराष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि चुम्न सफल भएको हो । बंगलादेशसँग १९९९ मा भएको साफ गेमको फाइनलमा नेपाल पराजित हुँदै उपाधि जित्नबाट चुकेको थियो ।

तर थ्री नेसन्स कपको फाइनलमा भने नेपालले पछिल्ला खेलहरुमा निरन्तर चल्दै आएको गोलको खडेरी तोड्दै उपाधि चुम्न सफल भयो । नेपाललाई जित दिलाउनका लागि सञ्जोग राई र विशाल राईले गोल गरे भने बंगलादेशका तर्फबाट महाबुर रहमानले एक गोल गरे ।

एन्फाले फाइनल खेल शुरु हुनुभन्दा अघि टिकट मुल्य ७ सयबाट हजार र पन्ध्र सयबाट दुई हजार पुय्राएको थियो । तर पनि नेपाली फुटबललाई समर्थन गर्नबाट कोरोना र प्रदुषणले त रोक्न सकेन भने टिकटमा केही मुल्य वृद्धिले नेपाली फुटबलको क्रेजलाई के रोक्थ्यो ?

बंगलादेश र किर्गिस्तानबिरुद्धको पछिल्ला खेलहरुमा गोल गर्न नसकेपछि प्रशिक्षक बालगोपाल महर्जनलाई थुप्रै प्रश्नको सामना गर्नुपरेको थियो । उनले फाइनलभन्दा अघि नेपालको लक्ष्य फाइनलमा गोल गर्दै उपाधि जित्नु नै हुने बताएका थिए । जुन लक्ष्य प्राप्तिका लागि नेपाली टिमले उत्कृष्ट प्रदर्शन गर्दै प्रशिक्षक बालागोपालको बोली पुरा गरे ।

पछिल्लो तिन महिनादेखी निरन्तर प्रशिक्षणमा रहेको नेपाली टिमको खेलबाट कप्तान किरण चेम्जोङ भने निक्कै खुसी र उत्साहित देखिएका थिए । आइ लिग खेल्न भारत गएका किरणले नेपाल फर्किदा अफ्ना टिमको प्रगति सोचेभन्दा राम्रो भएको बताए ।

कप्तानको रुपमा पहिलोपटक उपाधि जितेपछि बोल्दै किरणले आफ्नो सपना (साफ) गेमको उपाधि जित्नु रहेको बताए । ‘साफ च्याम्पियनसिप जित्ने सपना छ,टिममा नयाँ र युवा खेलाडीहरुको उपस्थितीले टिम पहिलेभन्दा राम्रो छ, हामी साफ च्याम्पियन जित्न धेरै टाढा छैनौँ’ कप्तान किरणले भने ।

साथै प्रशिक्षक बालागोपाल महर्जनले दर्शक र खेलाडीका कारण उपाधि जित्न सफल भएको बताए । फाइनलमा आफ्नो रणनीति सफल भएको र यसबाट आफुले गौरवको अनुभव गरेको बताए ।

सफल कप्तानकाे सुखद सन्यास

नेपाली फुटबलमा सर्वाधिक क्याप जित्ने खेलाडीका रुपमा कीर्तिमान बनाएका डिफेण्डर विराज महर्जनले अन्तर्राष्ट्रिय फुटबलबाट विदा लिएका छन् । थ्री नेशन्स कपको फाइनलमा बंगलादेशसँगको खेल नै उनको अन्तर्राष्ट्रिय खेल जीवनको अन्तिम बन्यो ।

दुई वर्षअघि नै राष्ट्रिय टोलीबाट बाहिरिएका विराज सन्यासको उपयुक्त समयको पर्खाइमा थिए । थ्री नेशन्स कप सुरु हुनुअघि नै उनले यही प्रतियोगिता अफ्नो करिअरको अन्तिम अन्तर्राष्ट्रिय प्रतियोगिता हुने बताएका थिए । लिग चरणका दुई खेलमा प्रशिक्षक बालगोपाल महर्जनले उनलाई मैदानमा उतारेका थिएनन् । उनको जर्सी नम्बर ३ हो ।

राष्ट्रिय टोलीमा बायाँ पोजिसनबाट खेल्ने डिफेण्डरका रुपमा उनले १३ वर्ष देशको प्रतिनिधित्व गरे । ३१ वर्षीय विराजले चार वर्ष कप्तानी पनि गरे । उनी नेपालका सफल कप्तानमध्येमा पर्छन् । सन् २०१९ को जुन २ मा मलेसियासँग क्वालालम्पुरमा भएको मैत्रीपूर्ण खेलयता विराज राष्ट्रिय टोलीमा पर्न संघर्ष गर्नुपरेको थियो । उनको पोजिसनबाट खेल्ने खेलाडीहरुबीचको प्रतिस्पर्धामा उनी पछि परेका थिए ।

देशको एकमात्र अन्तर्राष्ट्रिय दशरथ रंगशाला नजिकै त्रिपुरेश्वरमा जन्मिएर सानै उमेरदेखि फुटबलको माहोलमा हुर्किएका विराज एन्फा एकेडेमीका दोस्रो व्याचका उत्पादन हुन् । उनी २०५७ सालमा एन्फा एकेडेमीमा भर्ना भएका हुन् । उनले उमेर समूहको विभिन्न टोलीबाट पनि नेपालको प्रतिनिधित्व गरे ।

सन् २००८ मा पोखरा रंगशालामा पाकिस्तानबिरुद्ध खेलको ८९ औं मिनेटमा अन्जन केसीलाई प्रतिस्थापन गरी मैदान प्रवेश गर्दै विराजले राष्ट्रिय टोलीमा डेब्यू गरेका थिए । सन् २००९ मा एएफसी च्यालेन्ज कप छनोटमा किर्गिस्तानमाथि ७० सेकेण्डभित्रै गोल गरी उनले सनसनी मच्चाए । उनले राष्ट्रिय टोलीका लागि गरेको त्यही नै एक गोल हो ।

विराजले राष्ट्रिय टोलीका लागि ७३ खेल खेलेका छन् । जुन अहिलेसम्मको सर्बाधिक हो । सन् २०१८ मा बंगलादेशमा भएको साफ च्याम्पियनसिपमा भुटानबिरुटको खेलमा सब्स्टिच्युड खेलाडीका रुपमा मैदान छिरेर सर्बाधिक अन्तर्राष्ट्रिय खेलको कीर्तिमान महान खेलाडी राजु शाक्यबाट आफ्नो नाममा सारेका थिए । राष्ट्रिय टोलीबाट ६८ खेल खेलेका राजु शाक्यको नाममा लामो समयसम्म सर्बाधिक खेलको कीर्तिमान थियो ।

विराजको कप्तानीमा नेपालले तीन ठूला उपाधि पनि जितेको छ । त्यसैले उनलाई सफल कप्तानका रुपमा उभ्याएको हो । नेपालको २२ वर्ष लामो अन्तर्राष्ट्रिय उपाधि खडेरी तोड्दै नेपालले सन् २०१५ मा बंगलादेशको बंगबन्धु गोल्डकपको उपाधि जित्दा विराजले नै ट्रफी उठाएका थिए ।

त्यसको एक वर्षपछि भारतमा भएको साग गेम्समा फुटबलतर्फ स्वर्ण जित्दा पनि नेपाली टोलीको कप्तान विराज नै थिए ।

सन् २०१६ मै एएफसी सोलिडारिटी कपको उपाधि पनि नेपालले विराजकै कप्तानीमा जितेको थियो । एएफसी स्तरको प्रतियोगिता नेपालले जितेको त्यो पहिलोपल्ट थियो ।

नेपाली फुटबल म्याच फिक्सिङ प्रकरणबाट बदनाम भएका बेला तत्कालीन कप्तान सागर थापा प्रतिबन्धमा परेपछि कप्तानीको जिम्मेबारीमा आएका विराजको नेतृत्वमा नेपाली टोलीले दुई वर्षको अन्तरालमा लगातार तीन ठूला अन्तर्राष्ट्रिय उपाधि जितेर फुटबलप्रेमीको पीडामा मल्हम लगाएको थियो ।

घरेलु फुटबलमा पनि विराज सफल खेलाडी र कप्तानका रुपमा देखिन्छन् । तथ्यांक हेर्ने हो भने उनले फरक फरक तीन क्लबबाट ए डिभिजन लिगको उपाधि उचालेका छन् । थ्रीस्टार, मनाङ मस्र्याङदी हुँदै अघिल्लो वर्ष उनकै कप्तानीमा मछिन्द्र क्लबले पहिलोपल्ट ए डिभिजन लिगको उपाधि उचालेको थियो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey