७३ खेलको कीर्तिमानसहित अन्तर्राष्ट्रिय फुटबलबाट सुखद रूपमा विदा भए विराज

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-१६
  • |
  • 467 पटक हेरिएको

मुक्तिबाबु रेग्मी | नेप्लेज | नेपाली फुटबलमा सर्वाधिक क्याप जित्ने खेलाडीका रुपमा कीर्तिमान बनाएका डिफेण्डर विराज महर्जनले अन्तर्राष्ट्रिय फुटबलबाट विदा लिएका छन् । थ्री नेशन्स कपको फाइनलमा बंगलादेशसँगको खेल नै उनको अन्तर्राष्ट्रिय खेल जीवनको अन्तिम बन्यो ।

दुई वर्षअघि नै राष्ट्रिय टोलीबाट बाहिरिएका विराज सन्यासको उपयुक्त समयको पर्खाइमा थिए । थ्री नेशन्स कप सुरु हुनुअघि नै उनले यही प्रतियोगिता अफ्नो करिअरको अन्तिम अन्तर्राष्ट्रिय प्रतियोगिता हुने बताएका थिए । लिग चरणका दुई खेलमा प्रशिक्षक बालगोपाल महर्जनले उनलाई मैदानमा उतारेका थिएनन् । उनको जर्सी नम्बर ३ हो ।

राष्ट्रिय टोलीमा बायाँ पोजिसनबाट खेल्ने डिफेण्डरका रुपमा उनले १३ वर्ष देशको प्रतिनिधित्व गरे । ३१ वर्षीय विराजले चार वर्ष कप्तानी पनि गरे । उनी नेपालका सफल कप्तानमध्येमा पर्छन् । सन् २०१९ को जुन २ मा मलेसियासँग क्वालालम्पुरमा भएको मैत्रीपूर्ण खेलयता विराज राष्ट्रिय टोलीमा पर्न संघर्ष गर्नुपरेको थियो । उनको पोजिसनबाट खेल्ने खेलाडीहरुबीचको प्रतिस्पर्धामा उनी पछि परेका थिए ।

देशको एकमात्र अन्तर्राष्ट्रिय दशरथ रंगशाला नजिकै त्रिपुरेश्वरमा जन्मिएर सानै उमेरदेखि फुटबलको माहोलमा हुर्किएका विराज एन्फा एकेडेमीका दोस्रो व्याचका उत्पादन हुन् । उनी २०५७ सालमा एन्फा एकेडेमीमा भर्ना भएका हुन् । उनले उमेर समूहको विभिन्न टोलीबाट पनि नेपालको प्रतिनिधित्व गरे ।

सन् २००८ मा पोखरा रंगशालामा पाकिस्तानबिरुद्ध खेलको ८९ औं मिनेटमा अन्जन केसीलाई प्रतिस्थापन गरी मैदान प्रवेश गर्दै विराजले राष्ट्रिय टोलीमा डेब्यू गरेका थिए । सन् २००९ मा एएफसी च्यालेन्ज कप छनोटमा किर्गिस्तानमाथि ७० सेकेण्डभित्रै गोल गरी उनले सनसनी मच्चाए । उनले राष्ट्रिय टोलीका लागि गरेको त्यही नै एक गोल हो ।

विराजले राष्ट्रिय टोलीका लागि ७३ खेल खेलेका छन् । जुन अहिलेसम्मको सर्बाधिक हो । सन् २०१८ मा बंगलादेशमा भएको साफ च्याम्पियनसिपमा भुटानबिरुटको खेलमा सब्स्टिच्युड खेलाडीका रुपमा मैदान छिरेर सर्बाधिक अन्तर्राष्ट्रिय खेलको कीर्तिमान महान खेलाडी राजु शाक्यबाट आफ्नो नाममा सारेका थिए । राष्ट्रिय टोलीबाट ६८ खेल खेलेका राजु शाक्यको नाममा लामो समयसम्म सर्बाधिक खेलको कीर्तिमान थियो ।

विराजको कप्तानीमा नेपालले तीन ठूला उपाधि पनि जितेको छ । त्यसैले उनलाई सफल कप्तानका रुपमा उभ्याएको हो । नेपालको २२ वर्ष लामो अन्तर्राष्ट्रिय उपाधि खडेरी तोड्दै नेपालले सन् २०१५ मा बंगलादेशको बंगबन्धु गोल्डकपको उपाधि जित्दा विराजले नै ट्रफी उठाएका थिए ।

त्यसको एक वर्षपछि भारतमा भएको साग गेम्समा फुटबलतर्फ स्वर्ण जित्दा पनि नेपाली टोलीको कप्तान विराज नै थिए ।

सन् २०१६ मै एएफसी सोलिडारिटी कपको उपाधि पनि नेपालले विराजकै कप्तानीमा जितेको थियो । एएफसी स्तरको प्रतियोगिता नेपालले जितेको त्यो पहिलोपल्ट थियो ।

नेपाली फुटबल म्याच फिक्सिङ प्रकरणबाट बदनाम भएका बेला तत्कालीन कप्तान सागर थापा प्रतिबन्धमा परेपछि कप्तानीको जिम्मेबारीमा आएका विराजको नेतृत्वमा नेपाली टोलीले दुई वर्षको अन्तरालमा लगातार तीन ठूला अन्तर्राष्ट्रिय उपाधि जितेर फुटबलप्रेमीको पीडामा मल्हम लगाएको थियो ।

घरेलु फुटबलमा पनि विराज सफल खेलाडी र कप्तानका रुपमा देखिन्छन् । तथ्यांक हेर्ने हो भने उनले फरक फरक तीन क्लबबाट ए डिभिजन लिगको उपाधि उचालेका छन् । थ्रीस्टार, मनाङ मस्र्याङदी हुँदै अघिल्लो वर्ष उनकै कप्तानीमा मछिन्द्र क्लबले पहिलोपल्ट ए डिभिजन लिगको उपाधि उचालेको थियो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey