एसपीए कप भलिबल प्रतियोगिताको उपाधि आयोजकलाई

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-११-२९
  • |
  • 413 पटक हेरिएको

धनगढी, २९ फागुन । धनगढीमा भएको मेयर एसपीए कप भलिबल प्रतियोगिताको उपाधि आयोजक सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीएले जितेको छ । शनिबार भएको फाइनलमा अत्तरियाको दुर्गालक्ष्मी माविलाई हराउँदै एसपीए च्याम्पीयन बनेको हो ।

सुदूरपश्चिमाञ्चल एकेडेमीको आयोजना तथा धनगढी उप–महानगरपालिकाको सहयोगमा भएको छात्रा भलिबल प्रतियोगिताको उपाधि भिडन्तमा धनगढीको एसपीएले अत्तरियाको दुर्गालक्ष्मीलाई वेष्ट अफ फाईभमा ३–० को सोझो सेटमा पराजित गरेको हो ।

एसपीएले दुर्गालक्ष्मीलाई २५–१९, २६–२४ र २५–१२ को स्कोरले हराउँदै नगद ५० हजार सहित ट्रफी मेडल र प्रमाणपत्र पाएको छ । उपविजेता दुर्गालक्ष्मी माविले नगद २५ हजार सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

प्रतियोगितामा शान्ति मावि तेस्रो भएको छ । शान्ति माविले दिपेन्द्र चापपाते माविमाथि ३–० को सोझो सेटको जित हात पारेको हो । तेस्रो स्थानका लागि भएको खेलमा शान्ति माविले दिपेन्द्र चारपातेलाई २५–१६, २५–६ र २५–७ को स्कोरमा हराउँदै नगद १५ हजार सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

तीन दिनसम्म धनगढीमा सञ्चालन भएको मेयर एसपीए कप छात्रा भलिबल प्रतियोगितामा एसपीएकी गरिमा वोहोरा प्लेयर अफ द टुर्नामेन्ट भईन् । त्यस्तै एसपीएकी राधिका ऐर वेष्ट स्पाईकर, एसपीएकी निर्मला ओझा वेष्ट डिफेन्डर र एसपिकै निर्मला वोहोरा वेष्ट सर्भर भईन् । दुर्गालक्ष्मीकी पुष्पा धामी वेष्ट सेटर भईन् । प्रतियोगिताका विजयी खेलाडीहरुलाई एक कार्यक्रमबा बीचमा पुरस्कार वितरण गरिएको छ ।

आयोजक सुदूरपश्चिमाञ्चल एकेडेमीका क्याम्पस प्रमुख कटकवहादुर अप्रेलको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि वडा नम्बर ४ का वडाध्यक्ष दिपक थापा रहेका थिए । प्रतियोगितामा कैलालीका आठ वटा टीमहरुले भाग लिएका थिए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey