राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१०-२४
  • |
  • 196 पटक हेरिएको

पोखरामा यही माघ २७ देखि फागुन १ गतेसम्म आयोजना हुने ‘प्रथम टाइगर कप आमन्त्रित राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता’को तयारी अन्तिम चरणमा पुगेको छ ।

आयोजक संस्था टाइगर ग्रुप अफ पोखराले आज पोखरा रङ्गशालामा पत्रकार सम्मेलन आयोजना गरी रङ्गशालाभित्रको भलिबल कोर्टमा सञ्चालन हुने प्रतियोगितामा महिलातर्फ चार र पुरुषतर्फ चार गरी आठ टोलीले उपाधिका लागि प्रतिष्पर्धा गर्ने तय भएको ग्रुपका अध्यक्ष नारायण शर्माले जानकारी दिए ।

उनका अनुसार प्रतियोगितामा महिलातर्फ तीन विभागीय टोली सशस्त्र प्रहरी बल, नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब तथा न्यू डाइमण्ड एकेडेमी काठमाडौँले प्रतिष्पर्धा गर्नेछन् भने पुरुषतर्फ आयोजक गण्डकी प्रदेश, सशस्त्र प्रहरी बल, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले उपाधिका लागि खेल्नेछन् ।

प्रतियोगिताका माध्यमबाट नेपालको राष्ट्रिय खेल भलिबलको विकास गरी देशका लागि आवश्यक राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने लक्ष्यसहित प्रतियोगिता गर्न लागिएको आयोजकले जनाएको छ ।

‘राउण्ड रोविन लिग’का आधारमा सञ्चालन हुने प्रतियोगिताको विजेता महिला तथा पुरुषले समान रु एक लाख ५० हजार, ट्रफी, मेडल, प्रमाणपत्र तथा उपविजेताले रु ७५ हजार र तृतीयले रु २५ हजार पुरस्कार प्राप्त गर्नेछन् ।

यसैगरी सर्वोत्कृष्ट महिला तथा पुरुष खेलाडीले समान २०-२० हजार प्राप्त गर्नेछन् । उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेण्डर तथा स्पाइकर महिला तथा पुरुष खेलाडीले समान रु पाँच हजारका दरले पुरस्कार प्राप्त गर्ने ग्रुपका सचिव प्रकाश बरालले जानकारी दिए ।

प्रतियोगितामा पहिलो चरणको खेलका लागि टिकट दर  १०० तोकिएको छ भने सेमिफाइनलका लागि  १५० र फाइनल खेलका लागि २०० रहेको छ । वर्षभरी नियमित खेलकूद प्रतियोगिता भइरहने पोखरामा कोभिड–१९ पछि लामो समय खेलकूद गतिविधि ठप्प रहेको थियो । गत मङ्सिर पहिलो सातादेखि सरकारले खेलकूद क्षेत्र खुला गर्ने निर्णय गरेपछि यहाँ खेल प्रशिक्षण शुरु भएकामा विस्तारै प्रतियोेगिता शुरु हुन लाग्दा खेलाडी तथा खेलप्रेमी उत्साहित भएका छन् ।

कोरोनाले फुटबल, भलिबललगायत खेलका प्रतियोगिता करीब नौ महिना रोकिएकामा माघ अन्तिमदेखि रङ्गशालामा प्रतियोगिताका धमाधम मिति तोकिएकाले खेलकूद चहलपहल बढेको पश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समितिका कार्यालय प्रमुख लक्ष्मणनाथ योगीले बताए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey