न्यु डायमण्ड र अर्थोप्लास्टबीच एक वर्षको सम्झौता
- नेप्लेज
- |
- २०७७-१०-२३
- |
- 575 पटक हेरिएको
न्यु डायमण्ड स्पोर्टस एकेडेमी र ग्वार्कोमा रहेको अर्थोप्लास्ट रिह्याबिलिटेसन सेन्टरबीच एक वर्षको सम्झौता भएको छ ।
अर्थोप्लास्टको कार्यालयमा शुक्रबार आयोजित एक कार्यक्रमकाबीच दुई संस्थाबीच एक वर्षका लागि सम्झौता भएको हो । न्यु डायमण्डकी अध्यक्ष सुनकेशरी माली र अर्थोप्लास्टका निर्देशक डा. सुरज भुसालले सम्झौता पत्रमा हस्ताक्षर गरि आदान प्रदान गरेका छन् ।
सम्झौतामा उल्लेख भएका अनुसार न्यु डायमण्डले गर्ने भलिबल प्रशिक्षणका क्रममा हप्तामा दुई पटक बुधबार र शनिबार फिजियो थेरापीस्ट उपलब्ध गराउने छ । यसैगरी काठमाडौं भित्र र बाहिर हुने प्रतियोगितामा न्यु डायमण्ड खेल्न जाँदा टिमसँगै फिजियो पनि उपलब्ध गराउने उल्लेख गरिएको छ । यसैगरी न्यु डायमण्डले प्रयोग गर्ने जर्सीमा अर्थोप्लास्टको लोगो हुने छ ।
खेलाडीहरुमाझ वढी परिचित अर्थो प्लास्टले न्यु डायमण्डका खेलाडीहरुलाई ५० प्रतिशत सहुलियत दिने छ भने त्यहाँबाट सिफारिस भएर पत्रसहित उपचारका लागि आएमा २५ प्रतिशत र ल्याब सेवामा ५० प्रतिशत सहुलियत दिइने अर्थोप्लास्टका इन्चार्ज डा. सामेद कटिलाले जानकारी दिए ।
कार्यक्रममा न्यु डायमण्डका प्रशिक्षक कुमार राई, राष्ट्रिय खेलाडी समेत रहेकी प्रतिभा मालीको पनि उपस्थिति रहेको थियो ।