नेपाल ओपनको हाइ स्पिड किक भुपेन पहिलो

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१०-१६
  • |
  • 319 पटक हेरिएको

नेपालका भुपेन श्रेष्ठले प्रथम नेपाल ओपन भर्चुअल अन्तर्राष्ट्रिय तेक्वान्दोको हाइ स्पिड किकको पुरुष सिनियरतर्फ पहिलो भएका छन् ।

कोटेश्वर, मूलपानी, स्युचाटार र काभ्रेस्थली तेक्वान्दो डोजाङ तथा बाल गीताञ्जली र मोर्निङ ग्लोरी स्कुलले आयोजना गरेको प्रतियोगितामा १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता भुपेनले ७.५० अंक जोडे । नेपालका सक्षम कार्की दोश्रो तथा सागर गुबाजु र वीरबहादुर महरा तेश्रो भए । सक्षम र वीर पनि १३ औं सागका स्वर्णधारी हुन् । उक्त स्पर्धाको महिलामा १३ औं सागकी स्वर्ण विजेता नेपालकी काजोल श्रेष्ठ ७.१० अंकसाथ पहिलो भइन् । नेपालका रेश्मा थापा दोश्रो तथा वर्षा थापा र नम्रता तुलाधर तेश्रो स्थानमा रहे ।

पारातर्फ पुरुषको यु–३० मा नेपालका विक्रम श्रेष्ठ, १८–२३ वर्षमा नेपालका सुवासचन्द्र राई, यु–१८ मा बुरुन्दीका हाकीजीमाना लेभिन, यु–१८ को बहिरातर्फ थाइल्यान्डका कित्तिवात नाम्चेङ र १८–२३ वर्षको बहिरामा थाइल्यान्डका नार्टले शीर्ष स्थान हात पारे ।

जुनियर पुम्सेको ब्ल्याकवेल्टतर्फ पुरुषमा मकाउका चेङ लोक इन र महिलामा मलेसियाकी सेह जिङ याङ, रेड वेल्टतर्फ पुरुषमा मकाउका लि लो होङ र महिलामा नेपालकी मुना तामाङ, ब्लु वेल्टतर्फ पुरुषमा भारतका विलाल रियाज र महिलामा नेपालकी स्मृति नेपाली, ग्रिन वेल्टतर्फ पुरुषमा नेपालका सन्देश अधिकारी र महिलामा पाकिस्तानकी हदिया नाइन तथा यल्लो वेल्टतर्फ पुरुषमा बंगलादेशका मोहम्मद अन्नाफे इस्लाम र महिलामा थाइल्यान्डकी कन्या कोर्न कान्खेरम पहिलो भए ।

पुरुषमा इरानका हेसाइम अल्होइ र महिलामा मेक्सिकोकी मातियो उत्कृष्ट खेलाडी घोषित भए । दुवैले जनही १ सय अमेरिकी डलर नगद पुरस्कार जिते । पुरुषको पुरस्कार तिलक  लामा र महिलाको गणेश थापाले प्रायोजन गरेका हुन् । दुवै तेक्वान्दोका पूर्व खेलाडी हुन् । ‘मोस्ट पपुलर प्लेयर’ को नाम फेब्रुअरी १ तारिखमा सार्वजनिक गरिने छ । विजेताको चयन युट्युबमा सार्वधिक हेरिएको खेलाडीको भिडियोका आधारमा गरिने छ । विजेतालाई युनिटी तेक्वान्दो एकेडेमी, हङकङका अध्यक्ष दिल गुरुङद्वारा प्रायोजित १ सय ५० अमेरिकी डलर प्रदान गरिने छ ।

प्रतियोगितामा ३१ राष्ट्रका १ हजार ३ सय १५ खेलाडीले सहभागिता जनाएको प्रतियोगिता संयोजक एवं तेक्वान्दोका मुख्य प्रशिक्षक नवीनुकमार श्रेष्ठले जनाएका छन् । पुम्सेमा ६० र हाइ स्पिड किकमा ३० गरी ९० स्पर्धा समावेश थिए । हाइ स्पिडको प्रतियोगिता नेपालमा पहिलोपटक आयोजना गरिएको आयोजकले जनाएको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey