Mega Bank

नेकपाको राजनीतिक छायाँ खेलकुदमा नपरोस्

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७७-०९-०७
  • |
  • 101 पटक हेरिएको

मुक्तिबाबु रेग्मी । सत्तारुढ दल नेकपा अहिले विभाजनको सम्मुखमा छ । अनौपचारिकरुपमा विभाजन भए पनि अझैसम्म दुवै पक्षले विभाजन भएर हामी नयाँ पार्टी हामी आधिकारिक पार्टी भने भनेका छैनन् ।

प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच लामो समयकाे असमझदारीका बीच राजनीतिक घटनाक्रमले अहिले कोल्टो फेरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा भंग गरेपछि आगामी वैशाख १७ र २७ गते निर्वाचनको मिति तोकिएको छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन अनुमोदन गरेपछि यो विषय अहिले अदालतमा पनि पुगेको छ । यसबारे सबैको ध्यान अदालततर्फ केन्द्रित छ ।

पछिल्लो राजनीतिक घटनाक्रमकाबीच मंगलबार ओली पक्षीय नेताहरुको भेला वालुवाटारमा भयो भने प्रचण्ड- माधवकुमार नेपाल पक्षीय नेताहरुको भेला बबरमहलमा चल्दै थियो ।

राजनीतिक घटनाक्रमकाबीचमा युवा तथा खेलकुद मन्त्रालयले मंगलबार खेलाडी सम्मानको कार्यक्रम आयोजना गरेको थियो । पहिला विहान ११ बजे कार्यक्रम शुरु हुने जानकारी गराइएकोमा पछिल्लो राजनीतिक घटनाक्रमकाबीचमा कार्यक्रम १२ बजे गर्ने गरि एक घण्टा सारियो । कारण थियो, ‘युवा तथा खेलकुदमन्त्री जगतबहादर विश्वकर्मा बालुवाटारमा आयोजित पार्टीको भेलामा सहभागी हुनु परेकाले ।’

खेलकुदको कार्यक्रम शुरु भए पनि मन्त्रालय पछि सबैभन्दा नजिकको खेलाडीको अभिभावक संस्था राष्ट्रिय खेलकुद परिषद् राखेपका पदाधिकारीहरु देखिएनन् । अधिकांश कार्यक्रममा राखेपका उपाध्यक्ष शिब कोइराला ज्वाला, सदस्य सचिव रमेश कुमार सिलवालको उपस्थिति हुने गरेको थियो । तर, मंगलबार कार्यक्रममा उपाध्यक्ष कोइराला उपस्थित भएनन् भने सदस्यसचिव सिलावाल पनि ढिला गरी आइपुगे ।

अहिलेको सरकार नेकपाको छ । राखेपमा पनि नेकपाकै पदाधिकारीहरु छन् । तर, मंगलबारको कार्यक्रममा नेकपाका एक पक्षीयको मात्रै उपस्थित देखियो । राखेप उपाध्यक्ष तत्कालीन माओवादी केन्द्र पक्षका हुन् भने मन्त्री र सदस्यसचिव तत्कालीन एमाले निकट हुन् ।

यसैगरी माधव नेपाल पक्षका मानिने नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ पनि कार्यक्रममा उपस्थित भएनन् ।

सिंहदरबारमा कार्यक्रम भइरहेका बेला नजिकै बबरमलको कार्यक्रममा श्रेष्ठ व्यस्त थिए । कार्यक्रम चलिरहकै बीचमा आइपुगेका सिलवालले ढिला आउनुको कारणबारे यसरी बताए ।

‘पछिल्लो राजनीतिक घटनाक्रमका कारण ढिला भएँ, हिजो मात्रै नेकपाको केन्द्रीय सदस्य भए आज बालुवाटारमा सपथ ग्रहण कार्यक्रममा उपस्थित हुनुपर्ने अनिवार्य गरिएको थियो । अहिले भर्खर सपथ ग्रहण गरेर सरासर यहाँ आएको छु ।’

खेलकुदमन्त्री र सदस्यसचिवको विगतमा कुराहरु नमिलेका समाचारहरु बाहिर आइरहन्थे । साग आयोजना गर्दा पनि सदस्यसचिवले मन्त्रीलाई बाइपास गरेका कुराहरु सार्वजनिक भएका थिए । यी दुवै एउटै गुटका भएपनि समस्या रहेका दुवै जनालाई चिनेकाहरु बताउँछन् ।

यसैगरी नयाँ खेलकुद ऐन अनुसार उपाध्यक्षमा कोइरालालाई मन्त्रीले नै ल्याएका हुन् । स्याङ्जाका कोइरालाको पार्टीगत कार्यक्षेत्र भने काठमाडौं नै हो । २०६२–०६३ को आन्दोलन पछि उनी काठमाडौंमा वाईसीएलको संयोजक बनेका थिए ।

मन्त्रीसँग नजिक रहेका कोइराला पछिल्लो राजनीतक घटनाक्रमका कारण उनी अहिले टाढा हुन पुगेका छन् भने मन्त्री र सदस्यसचिवको लाइन अहिले एउटै भएको छ ।

मंगलबारकाे कार्यक्रममा खेलकुदकाे मुख्य निकायका शीर्ष अधिकारीहरु उपस्थित नहुनुलई संयाेगमात्र मान्न सकिन्न । पछिल्ला घटनाक्रमले उनीहरूलाई पनि आफ्नो कित्ता क्लियर गर्नुपर्ने बाध्यता छ । शीर्ष नेतृत्वबीचकाे झगडाले तल्लाे तहका नेता कार्यकर्तालाई असर नगर्ने कुरै भएन ।

यदि यस्ताे भयाे भने चाहीँ नेपाली खेलकुद पनि एउटा चरम भूमरीमा फस्ने सम्भावना छ । नयाँ खेलकुद ऐनले राखेप, मन्त्रालय र ओलम्पिक कमिटीलाई समानान्तर शक्तिकेन्द्रका रुपमा ब्याख्या गरेकाे छ । यस्ताेमा यी तीनै संस्थाका नेतृत्वबीच खिचातानी सुरु भएकाे हाे भने याे दुर्भाग्य हुनेछ ।

भर्खरै

Advertisement