परिवारको ऋण तिर्न भारत पुगेका हरि कैनीको आईपीएलसम्मको यात्रा… (भिडियाे अन्तर्वार्ता)

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०८-२३
  • |
  • 544 पटक हेरिएको

मुक्तिबाबु रेग्मी । 

हरि कैनी, यो त्यतिधेरै सुनिएको नाम होइन । डडेल्धुराका कैनीको थातथलो अहिले कञ्चनपुरमा रहेको छ । सन् १९९९ मा उनी भारत कामका लागि प्रवेश गरे ।

त्यतिबेला उनी गरिबीकै कारण भारत (मुग्लान) पसेका हुन् । सानैमा विहे गरे, विहे गरेको १५ दिन पछि बाबुको मृत्यु भएपछि उनको काँधमा जिम्मेवारी आइलाग्यो । घरमा खान लाउनकै अभाव भएपछि मुम्बई तर्फ लागे । उनी त्यतिबेला क्यामेरामा काम गर्छु भन्ने सोँचेका पनि थिएनन् । शुरु शुरुमा उनी चिया पसलमा काम गरे । त्यसले उनको गर्जो टर्नेवाला थिएन । त्यसपछि त्यही रहेका आफ्ना एक जना दाजुलाई अलि पैसा आउने काममा लगाईदिन आग्रह गरे ।

दाजुले भने ‘सुरुको पाँच छ महिना काम सिक्नु पर्छ, त्यसपछि कमाई हुन्छ ।’ त्यसमा सहमति जनाएपछि उनको ‘रिल’को दुनियामा प्रवेश गरे । क्यामेरा बोक्ने यता उता लैजाने कामबाट शुरु गरेका हरि कैनीलाई पछिल्लो समय भने पछाडि फर्कनु परेको छैन् ।

नेप्लेजको स्टुडियो कुपण्डोलमा आइपुगेका कैनी भर्खरै युएईमा आयोजना भएको इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलको इभेन्ट सकाएर भारत हुँदै थातथलो भएको कञ्चनपुर आए । घरायसी कामले ३ दिनका लागि काठमाडौं आएका बेला हामीले उनीसँग कुरा गर्दा आफ्ना अनुभवहरु सेयर गरेका थिए ।

भारतको चर्चित रियालिटी शो, कौन बनेगा करोडपति, इन्डियन आईडलका साथै अन्य थुप्रै मनोरञ्जनात्मक कार्यक्रममा क्यामेरा तथा इन्जिनियरिङ पार्टमा सहभागि भए । विग बोस पनि उनले काम गरेको अनुभव छ ।

सन् २००९ मा उनी इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा आवद्ध हुने अबसर पाए । उनी एक्लै त्यसमा आवद्ध भने भएका होइनन् । उनले काम गर्ने अफिसले ब्रोडकास्ट गर्ने जिम्मेवारी लिएपछि आईपीएलसँग अझ भनौं बीसीसीआईसँग जोडिने अवसर पाए । सुरुमा एक्स्ट्रा इनिङको सेटमा काम गरेका कैनी २०१४ पछि लाइभमा पनि जोडिन पुगे । लाइभमा टिमलाई ह्याण्डल गरेर विश्वभरका दर्शकसमक्ष क्रिकेट प्रशारण गर्नका लागि उनको ठूलो भूमिका छ ।

अहिलेसम्म दुई पटक मात्रै काठमाडौं आएका कैनी भारत तथा अन्य मुलुकहरुमा कामका लागि व्यवस्त छन् । उनी भन्छन् अहिले अफिसमा जाने जागिर खाने भन्दा पनि फ्रिलान्सरको रुपमा काम गरिरहेको छु ।

मनोरञ्जनको दुनिया र खेलकुदको दुनियाबारे प्रश्न गर्दा धेरै फरक भएको बताउँछन् । मनोरञ्जनको दुनियामा टेक र रि टेकको काम हुन्छ तर खेलकुद भनेको ‘अन द स्पट’ हुने भएकाले धेरै चुनौती छ । यसमा ध्यान दिन जरुरी छ ।

हामीसँगको कुराकानीमा उनै कैनीले आफूलाई नेपालमा काम गर्न मन रहेको प्रष्ट पारेका छन् । सिमित स्रोत साधनले पनि खेलकुदका लाइभ इभेन्टहरु गर्न सकिने उनको सोँच छ । मौका पाउने हो भने आफू नेपाल आएर आफ्नो अनुभवका आधरमा राम्रो काम गर्न तयार छु ।
उनै कैनीसँग गरिएको कुराकानी हेर्न यो भिडियो हेर्नुहोला ।

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey