करिव चार बर्षदेखि प्रायाेजकबिहिन नेपाली क्रिकेट, खाँचाे पुरा गर्न नयाँ याेजनामा क्यान !

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०५-२५
  • |
  • 312 पटक हेरिएको

मुक्तिबाबु रेग्मी

पैसा केही पनि होइन, पैसा सबै थोक हो । यी दुई वटा बाक्य आफैमा विरोधाभास पूर्ण छन् । मानिसका हरेक आवश्यकता पुरा गर्नका लागि पैसा नै सबैभन्दा पहिलो शर्तको रुपमा अहिलेको समाजमा देखा परेको छ । पैसा भयो भने कामहरु गर्न सजिलो हुन्छ । भएन भने काम गर्न पनि अप्ठेरो पर्छ ।

कोरोना भाइरसको महामारीका कारण विश्वका क्रिकेट बोर्डहरु आर्थिक समस्यामा जुझिरहेका खबरहरु दिनहुँ आईरहेका छन् । साथै उनीहरुले प्रायोजक (स्पोन्शर) खोजिरहेका खबर पढेपछि हामीले पनि नेपाली क्रिकेट टिमलाई एक पटक सम्झन प्रयास गर्‍यौं । नेपाली क्रिकेट टिमले अन्तर्राष्ट्रिय प्रतिययोगितामा सहभागिता जनाएको २५ वर्ष पुग्यो । यस बीचमा नेपाल अहिले एक दिवसीय मान्यता पाएको छ भने टी २० विश्वकप खेलिसकेको छ ।

तर, अझै नेपाली क्रिकेट व्यवसायिकता तर्फ बढ्नका लागि धेरै कामहरु गर्न बाँकी छन् । नेपाली क्रिकेट विकासका लागि प्रयोजक भित्र्याउन १९९८ देखि शुरु भएको हो । फुटबलको जगजगि भएका बेला क्रिकेटमा प्रायोजक बन्नु भनेको बालुवामा पानी हाल्नु हो भन्ने कर्पोरेट सेक्टरबाट जवाफ दिने गरेको नेपाल क्रिकेट संघ क्यानका पूर्व अध्यक्ष विनयराज पाण्डेले स्मरण गरे ।

त्यतिबेला नेपाली टिमलाई भन्दा पनि क्यानलाई प्रायोजन गरिएको थियो । त्यो पनि धेरै नै भनसुन गरेपछि १९९८–२००० सम्म गोर्खा ब्रुअरीको काल्सबर्ग बियरले पहिलो पटक प्रायोजन गरेको थियो । टिमलाई भन्दा पनि त्यतिबेला क्यानलाई प्रायोजन गरिएको पूर्व अध्यक्ष पाण्डे बताउँछन् । उनले भने ‘पहिलो पटक काल्सबर्गले ८ लाख रुपैयाँ दिएको थियो । एसीसी ट्रफी खेलेपछि राष्ट्रिय प्रतियोगिता गर्नका लागि फण्ड चाहियो भनेपछि हामीले कुरा गरेका थियौं । त्यतिबेला टुर्नामेन्टलाई प्रायोजन गरेको हो काल्सबर्गले । त्यतिबेला त्यो स्पोन्सर सिनियर टिमका लागि पनि थियो ।’

काल्सबर्गले छाडेपछि स्प्रिङवुड गार्मेन्टले नेपाली टिमलाई प्रायोजन गरेको थियो । त्यसपछि २००५ देखि क्यानको स्पोन्सरमा पेप्सी र स्टान्डर्ड चार्टड बैंकले प्रायोजन गरेका थिए । चौधरी ग्रुपको वाई वाई चाउचाउले यु १९, यु १६ मा प्रायोजक रहेको थियो । त्यही बेला महिला क्रिकेट शुरु भएपछि वाई वाईले नै प्रायोजन गरेको थियो ।

सिनियर टिमकालागि प्रायोजन गर्दै आएका पेप्सी र स्टाण्डर्ड चार्टड बैंकले २०११ सम्म रहे । उनीहरु पाण्डे अध्यक्ष रहँदा सम्म क्यानको प्रायोजक रहेका थिए । यु-२१ को एसीसी ट्रफीका लागि टोयटाले प्रायोजन गरेको थियो ।

यु १७ का लागि बुस्टले प्रायोजन गरेको थियो । वाईवाईले उमेर समूहमा अहिले पनि प्रायोजन गर्दै आएको छ भने अरु सबै अहिले क्यानबाट हटिसकेका छन् । पहिलो पटक प्रायोजन गर्दा काल्सबर्गले क्यानलाई ८ लाख दिएको पाण्डेको भनाई छ । त्यतिबेला प्रायोजन गर्दा नगद र काइन्ड्समा हुने गरेको थियो । नगद त्यति दिए पनि ट्रफि, मेडल प्रमाणपत्र लगाएतका अन्य खर्चमा पनि कर्पोरेट हाउसकै जिम्मेवारीमा पर्ने गथ्र्यो । वाईवाईले भने पहिलो पटक तीन लाख दिएको उनको भनाई छ ।

‘नेपाली क्रिकेट टिमलाई सबैभन्दा बढी प्रायोजन बापतको रकम तिरेको भनेको पेप्सी र स्टाण्डर्ड चार्टड बैंकले हो । त्यतिबेला उनीहरुले बार्षिक २५ लाख तिरेका थिए ।’ पाण्डेले भने ।

२०११ तिर संघमा बर्षको एक करोड जतिको प्रायोजक थियो । साथै त्यतिबेला ७ वटा क्षेत्रको रुपमा क्रिकेटको संरचना थियो । त्यतिबेला चार वटा क्षेत्रलाई क्षेत्रीय प्रायोजक पनि खोजिएको थियो । त्यतिबेला क्षेत्रीय प्रायोजकको रुपमा कान्तिपुर मिडिया र डिसहोम लगाएत आएका थिए । अर्को बर्ष तीन वटालाई खोज्ने तयारी गरिएका बेला पाण्डे अध्यक्षबाट हटेपछि सबै प्रायोजकहरु फिर्ता भएका थिए ।

पूर्व अध्यक्ष पाण्डले खेलकुदमा लगानी गर्ने वातावरण बनाउन सबै लाग्नु पर्नेमा जोड दिए । अझैं पनि नेपाली खेलकुद ब्यवासायिकता तर्फ उन्मुख नभइसकेकाले भनसुन र रिलेशनकै आधारमा प्रायोजक खोज्नु पर्ने बाध्यता रहेको प्रष्ट पारे ।

२०१४ मा क्यान निलम्बनमा परेपछि नेपाली क्रिकेट टिमको प्रायोजक छैन । अहिले क्यान पुनर्बहाली भएपछि अहिले प्रायोजकको खोजिमा रहेको जनाइएको छ ।

नेपालमा क्यान निलम्बन हुँदा पनि विभिन्न फ्रेन्चाइजी लिगहरुले पनि राम्रो प्रायोजकहरु भेटिरहेको हुन्छन् । नेपालमा मुख्य गरि तीन वटा फ्रेन्चाइजी लिगले एक संस्करण आयोजना गर्दा एउटाले कम्तिमा दुई करोड रुपैयाँको प्रायोजन खोज्ने गर्छन ।

नेपालले टी २० विश्वकप खेलेर आएपछि क्रिकेटमा प्रायोजकको भिड लाग्ने र क्रिकेट संघ धनी संघ मध्येको हुने ठुलो अपेक्षा थियो । तर काम गर्ने शैली र विभिन्न अडचका कारण जुन समयका क्रिकेट बुम हुनुपर्ने थियो, झन सिथिल बन्यो । करिव चार बर्षपछि नेपाल क्रिकेट संघ क्यान अस्तित्वमा आएपछि पहिलो काम नेपाल अमेरीका र ओमानको त्रिकोणात्मक सिरीजको आयोजना गर्नु थियो ।

त्यसका लागि क्यानले छोटो समयमा नै राम्रो प्रायोजक भित्र्याएको थियो । नयाँ कार्यसमितीले मार्केटमा राम्रोसँग भिज्न नपाउँदै भिजिट २०२०, एनएमबी बैंक, कान्तिपुर टेलिभिजन लगायतका आधादर्जन जति प्रायोजक आएका थिए । यो बाट क्यानले आगामी दिनमा चरणबद्द तरिकाले क्रिकेटमा प्रायोजक ल्याउने योजना बनाएको थियो । तर यहि बिचमा लकडाउन हुँदा सबै काम रोकिन पुग्यो ।

क्यानले उमेर समुह, महिला टिम, घरेलु क्रिकेट प्रतियोगिता, एनपीएल, राष्ट्रिय टिमका लागि फरक फरक र लामो समयका लागि प्रायोजक खोज्ने योजना बनाएको छ । जसका लागि क्यानले हालै आवेदन खुल्ला गरेको जीएम, क्रिकेट ब्यवस्थापकको नियुक्तिपनि कामको जिम्मा दिने संभावना छ । त्यो पोष्टमा उचित ब्यक्ति आएपछि क्यानले उनीहरुलाई नै प्रायोजक लगायतका कामको जिम्मा दिनेछ ।

अझैपनि क्रिकेटमा प्रायोजक ल्याउन त्यति कठिन छैन । त्यसैले क्यानले त्यहि माध्यम अपनाएर क्रिकेटमा धेरै भन्दा धेरै प्रायोजक ल्याउने चाहना राखेको छ । जुन चाँडै देखिन पाइयोस । याे बिषयमा क्यानका काेषाध्यक्ष राेशन सिंहले प्रायाेजक ल्याउनका लागि क्यानले याेजना बनाएकाे र कसरी राम्राे र लामाे समयसम्मका लागि ठुलाे प्रायाेजक भित्र्याउन सकिन्छ भन्नेमा तयारी भइरहेकाे बताए । उनले चाँडै क्यानमा प्रायाेजकहरू भित्रिने र सुखद बाटाेमा अगाडी जाने बताए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey