सन्दिपको गृहजिल्ला खुसिमा डुब्यो

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-१६
  • |
  • 187 पटक हेरिएको

अण्डर–१९ क्रिकेट टिमका कप्तानसमेत भएका १७ वर्षीय नेपाली युवा क्रिकेटर लेग स्पिनर सन्दीप लामिछाने बहुचर्चित इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्न अनुबन्ध भएसँगै उनको चर्चा फैलँदो छ । आईपीएल खेल्दै आएको टिम दिल्ली डेयर डेभिल्समा रु २० लाख भारतीय रकममा उनी आवद्ध भएका छन् ।

उनी आईपीएलमा अनुबन्धित भएको खबरले सन्दीपको ‘होम ग्राउण्ड’ थप खुशी भएको छ । चितवनका क्रिकेट प्रेमीहरुले खुशी मनाउँदै दीप प्रज्ज्वलनसमेत गरे ।

पुबुदु आउनु नै भाग्य

नेपाली क्रिकेट टिमका प्रशिक्षक पुबुदु दसानायके २ वर्षअघि चितवन आएका थिए । चितवन क्रिकेट संघको विशेष अनुरोधमा उनले यहाँ प्रशिक्षण लिइरहेका केही खेलाडीको बलिङ र व्याटिङ अवलोकन गरे । पुवुदुको मनमा बस्न सफल भए सन्दीप । त्यतिखेरै पुबुदुले चितवन क्रिकेट संघका अध्यक्ष कैलाश प्रधानलाई सन्दीपमा बलिङ क्षमता रहेको भन्दै राजधानी पठाउन भने । लगत्तै केही दिनको तयारीपछि सन्दीप राष्ट्रिय क्रिकेट टिममा अटाए । सन्दीपका लागि त्यो समयमा पुबुदु आउनु नै भाग्य कोरिएजस्तै बन्यो ।

चितवनको नारायणगढस्थित क्याम्पाचौरमा १४ वर्षीय सन्दीपले देखाएको असाधरण प्रतिभालाई मध्यनजर गर्दै पुबुदुले टपक्कै टिपेर काठमाडौँसम्मको यात्रा तय गराएका थिए । त्यसलगत्तै उनी युवा टिममा पर्न सफल भए । खेल मैदानको अभावमा पनि सीमित स्रोत साधनको भरमा आफ्ना खेलाडी अन्तर्राष्ट्रियस्तरमा पुग्दा निकै खुशी लागेको चितवन क्रिकेट संघका अध्यक्ष कैलाश प्रधानले बताए ।

‘क्रिकेट मैदान र अन्य साधनस्रोत हुने हो भने हामी थुप्रै सन्दीपहरु उत्पादन गर्न सक्छौँ,’ अध्यक्ष प्रधानले भने,‘राज्यले क्रिकेटमा राजनीति नगरी लगानी गर्न अग्रसर हुनुपर्यो ।’

चर्चामा सन्दीप

दुई वर्षअघि यू–१९ विश्वकप क्रिकेटमा आयरल्याण्डविरुद्ध ह्याट्रिक गरेपछि लेग स्पिनर सन्दीप लामिछानेको चर्चा विश्वव्यापी नै बन्न पुग्यो । अण्डर १९ विश्वकपमा आयरल्याण्डविरुद्ध ५ विकेट लिँदै २७ रनको खर्च निकालेका थिए ।
अन्तर्र्रािष्ट्रय मिडियाले नै सन्दीपलाई अष्ट्रेलियाली महान् क्रिकेटर सेव वार्नसँग तुलनासमेत गरे ।

अध्ययनका लागि नवलपरासीमा आएसँगै क्रिकेटलाई पनि निरन्तरता दिए । सन् २०१६ मा बंगलादेशमा भएको आईसीसी यू–१९ विश्वकप क्रिकेटमा डेब्यू गरेका सन्दीपको सिनियर टोलीबाट पहिलो खेल भने नामिवियाविरुद्ध थियो । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत नामिवियाविरुद्धको सन् २०१६ को सेप्टेम्बरमा उनले डेब्यू गरेका थिए ।

क्लार्कको साथ

अष्ट्रेलियाली क्रिकेट टोलीका पूर्व कप्तान माइकल क्लार्कले अष्ट्रेलियामा स्थानीय लिग खेल्ने अवसर दिए । त्यस्तै हङकङमा भएको प्रतियोगितामा उनी क्लार्कसँग एउटै टिमबाट खेलेका थिए । सिड्नीमा रहेको वेस्टर्न सवअर्व क्लबमा उनलाई आवद्ध गरिएको थियो । पूर्व कप्तान क्लार्कले उनलाई निकै लगाव रहेको बताएका थिए । क्लार्कले सन्दिपलाई खेलाउन पाउँदा निकै खुशीसमेत व्यक्त गरेका थिए ।

लेग स्पिनर सन्दीप लामिछाने आईपीएलमा अनुबन्ध भएकोबारे जानकारी लिने क्रममा प्रशिक्षक राजु खड्का सन्दीपले क्रिकेट (बलिङ) सिकेको ठाउँ नारायणगढ क्याम्पाचौरमा भेटिए ।
उनी केही क्रिकेट खेलाडीहरुलाई नियमित अभ्यास गराइरहेका थिए । अन्य दिनभन्दा खड्काको अनुहारमा आइतबार केही चमक र खुशी देखिन्थ्यो । कुनै समय नेपाली टिमको नेतृत्व समालेका राजु खड्का सन्दीपका पहिलो क्रिकेट गुरू हुन् ।

तीन वर्षअघि सन्दीप क्रिकेट खेल्नकै लागि भनेर खड्काको सम्पर्कमा आए । हालको नवलपुर जिल्ला रजहरमा दिदीको घरमा बस्ने सन्दीप दैनिक २० किमी आउजाउ गर्थे । भारतीय रेल्बेमा कार्यरत पितासँगै भारतमै हुर्केका सन्दीपले ब्याट र बल समाउन उतै सिकेका हुन् ।

आफूले सिकाएको चेला आज विश्व क्रिकेटको चर्चित प्रतियोगिता आईपीएलमा अनुबन्ध हुँदा सुरूमा पत्याउनै नसकेको खड्का बताउँछन् । ‘उनको क्षमता बलिङमै थियो, १२ वर्षदेखि चितवन क्रिकेट एकाडेमीमा नियमित प्रशिक्षण गराइरहेका खड्काले भने, “निकै मेहेनत गरेका थिए, आज सफल पनि भए ।”

प्रशिक्षक खड्काका अनुसार सन्दीपले सुरूसुरूमा कम गतिमा बल फाल्थे । तर पछि निखार थपिँदै गएपछि बलिङको गतिले थप तीव्रता पायो । यसै प्रशिक्षण केन्द्रमा खड्काले ९ जना अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी उत्पादन गरिसकेका छन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey