डीपीएल-२ काठमाडौ प्लेअफ नजिक, विराटनगरको पहिलो जित

0

चैत्र २१ । काठमाडौ गोल्डेन्सले डिपिएलमा लगातार तेस्रो जित निकालेको छ । आज भएको खेलमा सिवाईसी अत्तरीयालाई ११ रनले हराउँदै काठमाडौ प्लेअफको नजिक पुगेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौ गोल्डेन्सले २० ओभरमा नौ विकेट गुमाउँदै एक सय ३७ रन बनायो ।

खराव सुरुवात गरेको काठमाडौले ४७ रन बनाउँदा तीन विकेट खेर फालेको थियो ।

उसका सुरुवाती खेलाडी अमित श्रेष्ठ र सुबोध भाटी सस्तैमा आउट भए । त्यसपछि नरेश बुढाऐर पनि २७ रनमा आउट हुँदा काठमाडौले ८१ रनमा चार विकेट खेर फाल्यो ।

काठमाडौका लागि कप्तान ज्ञानेन्द्र मल्लले ५७ रनको योगदान गरे । जारी प्रतियोगितामा उनको यो पहिलो अर्धसतक हो ।

यस्तै रासिद खानले १६ रन थपे । तर काठमाडौको मिडिलअडर चल्न नसक्दा मध्यम स्कोर मात्र बनाउन सक्यो । बलिङ तर्फ अत्तरीयाका शिवसंकर उराले तीन तथा कृष्ण कार्कीले दुई विकेट लिए ।

जवाफमा अत्तरीया २० ओभरमा आठ विकेट गुमाउँदा एक सय २६ रनमा रोकियो ।

१२ रनमा दुई विकेट गुमाएको अत्तरीयाका गौरव चितकारा र विपिन चन्दले ५० रनको साझेदारी गरेका थिए । जसमा गौरवले ३६ रन बनाउँदा विपिनले २६ रनको योगदान गरे ।

त्यसपछि सन्दिप जोराले २१ रन बनाएपनि बाँकि खेलाडी सस्तैमा आउट भए । जसका कारण काठमाडौले आफ्नो अपराजित यात्रालाई निरन्तरता दिन सफल भयो ।

तीन खेलमा काठमाडौको ६ अंक भएको छ । अब प्लेअफमा पुग्न उसलाई एक जित आवश्यक छ । यता अत्तरीयाको तीन खेलबाट दुई अंक रहेको छ ।

विराटनगरको पहिलो जित

धनगढी प्रिमियर लिगमा विराटनगर किङसले पहिलो जित दर्ता गरेको छ भने रुपन्देहीले लगातार तेस्रो खेलमा हार ब्यहोरेको छ ।

आज भएको खेलमा विराटनगरले रुपन्देहीलाई ४२ रनले पराजित गर्यो । हारपछि रुपन्देहीको प्लेअफमा पुग्ने सम्भावना लगभग समाप्त भएको छ ।

कैलालीको संघिय इकाई प्रहरीको मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले २० ओभरमा चार विकेट गुमाउँदै एक सय ८१ रन बनायो ।

बलियो सुरुवात गरेको विराटनगरले पहिलो विकेटका लागि ४५ रनको साझेदारी गरेको थियो । ओपनर अनिल शाह ३६ रनमा आउट भएपछि विराटनगरले पहिलो विकेट गुमायो ।

त्यसपछि बाबर हायात र दिलिप नाथले दोस्रो विकेटका लागि ७९ रनको साझेदारी गर्दै टिमलाई बलियो स्थितीमा पुर्याए । दिलिप ४३ रनमा आउट भएभने बाबर ५८ रन बनाए ।

बाबरको प्रतियोगितामा पहिलो अर्धसतक हो भने चौथो हो । त्यसपछि कप्तान पारस खड्काले २२ तथा सौरभ खनालले अविजीत १७ रन बनाए । बलिङ तर्फ रुपन्देहीका सेफयान मोहम्मदले दुई विकेट लिए ।

जवाफमा सुरुवात राम्रो गर्न नसकेको रुपन्देही २० ओभरमा एक सय ३९ रनमा रोकियो । १० रन हुँदा पहिलो विकेट गुमाएको रुपन्देहीको मिडिलअडर पुर्ण रुपमा ध्वस्त भयो ।

उसका लागि प्रदिप ऐरीले ५४ रन बनाउँदा दिपक प्रशाद २२ रनमा आउट भए । ६६ रन बनाउँदा तीन विकेट गुमाएको रुपन्देहीले एक सय कटाउदा सात विकेट गुमाएको थियो ।

उसका पाँच खेलाडीले दोहोरो अंक छुन सकेनन । बलिङ तर्फ विराटनगरका सुभंम कामतले तीन तथा रामनरेश गिरीले दुई विकेट लिए । जारी प्रतियोगितामा रुपन्देही अंक विहिन हुने एक्लो टिम हो ।

Post Add 1025X115
Loading...