‘लर्ड बुद्ध क्रिकेट रंगशाला, क्षमता ४० हजार’

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१२-१८
  • |
  • 143 पटक हेरिएको

चैत १८, काठमाडौं । जिम्बावेमा भएको एकदिवशीय विश्वकप छनोटमार्फत अन्तर्राष्ट्रिय एकदिवशीय मान्यता हासिल गरी नेपाल फर्किएको नेपाली टोलीको स्वागतार्थ अन्तर्राष्ट्रिय विमानस्थल पुगेका क्रिकेट समर्थकले सरकारलाई लक्षित गरी नारा लगाएका थिए, ‘टुँडिखेलमा खेलेर, विश्वकपमा पुगिन्न’, ‘एकदिवशीय पाइयो, रंगशाला चाहियो’…

हुन पनि एकदिवशीय अन्तर्राष्ट्रिय मान्यता पाएको नेपालसँग एउटै पनि सुविधासम्पन्न रंगशाला नहुनुको पीडा समर्थकले भन्दा बढी स्वयम् खेलाडीले महशुस गरिरहेका थिए ।

विशेष गरी एकदिवशीय मान्यता पाएपछि समर्थकहरुले रंगशाला निर्माणको लागि दवाव बढाउन थाले । यसबीचमा नमूना नेपाल निर्माणको ठूलो परियोजना निर्माणको प्रक्रियामा रहेको धुर्मुस सुन्तली फाउण्डेसनले रंगशाला बनाउन पहल गर्ने जानकारी दिएपछि देशभरका क्रिकेटप्रेमी हौसिएका छन् । धुर्मुसले गत शुक्रबार सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै नमूना नेपाल अभियानलाई थाती राखेर राष्ट्रिय गौरवको अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा हात हाल्ने जानकारी दिए ।

उनले प्रष्ट रुपमा भनेका छन् कि धुर्मुस सुन्तली फाउण्डेसनको संयोजन तथा नेपाल सरकारको समन्वयमा क्रिकेट रंगशाला निर्माण हुनेछ ।

यसबीचमा उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरी रंगशाला निर्माणको प्रस्ताव गरे । त्यतिमात्र होइन शनिबार भक्तपुरको चाँगुनारायणस्थित पहेनडोलमा रहेको १२४ रोपनी जग्गा पनि निरीक्षण गरे । प्रदेश नम्बर तीनका मुख्यमन्त्री डोरमणि पौडेलसँगै जग्गा निरीक्षण गरेर फर्किएपछि धुर्मुसले भनेका छन्, ‘क्रिकेट रंगशाला निर्माण प्रक्रिया सकारात्मक दिशामा अघि बढेको छ ।’

लर्ड बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, क्षमता ४० हजार

रंगशाला निर्माण स्थल र प्रक्रिया सुरु भइनसके पनि रंगशालाको नाम भने जुरिसकेको छ । धुर्मुसका अनुसार भगवान गौतम बुद्धको नामबाट अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउदा राम्रो म्यासेज जाने भएकाले नाम त्यही जुराइएको हो ।

धुर्मुसले भनेका छन्, ‘हामी निर्माण समिति बनाउने प्रक्रियामा छौं । लर्ड बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण समिति बन्नेछ, त्यस समितिको संयोजन धुर्मुस सुन्तली फाउण्डेसनले गर्नेछ ।’

रंगशालाको क्षमता कम्तिमा ४० हजारको हुने जानकारी धुर्मुसले दिएका छन् । ‘अन्तर्राष्ट्रिय स्तरको भइसकेपछि समग्र सुविधा हुनुपर्छ र अन्तर्राष्ट्रिय खेलका लागि कम्तिमा ४० हजार क्षमताको आवश्यक पर्नेबारे छलफल भएको छ ।’ धुर्मुसले नेप्लेजसँग भने ।

नेपाल क्रिकेट संघ क्यान आईसीसीको निलम्बनमा रहेको अवस्थामा उनले सिधै सरकारी तहको समन्वयबाट रंगशाला निर्माण प्रक्रिया सुरु गर्ने जमर्को गरेका छन् ।

उनले रंगशाला कहाँ बनाउने भन्नेबारे निर्णय भइनसके पनि काठमाडौं उपत्यका वरिपरि नै बन्ने संकेत गरे । ‘अन्तर्राष्ट्रिय रंगशाला भइसकेपछि सुरक्षाको हिसावमा चुस्त हुनुपर्छ, अन्तर्राष्ट्रिय खेलाडीहरु आउँदा अन्तर्राष्ट्रिय विमानस्थलको नजिक पनि हुनुप¥यो ।’

यद्यपि कहाँ बनाउने भन्नेबारे छलफल चलिरहेको र यहीँ बन्ने निश्चित भइनसकेको उनले बताए ।

दुई वर्षमा सकाउने लक्ष्य

रंगशाला निर्माण प्रक्रिया सुरु भएकै छैन भन्दा पनि हुन्छ, तर, धुर्मुसले भने २ वर्षभित्र रंगशाला तयार पार्न सकिने लक्ष्य प्रस्तुत गरे ।

यो निर्माण स्थलको छनोट र आवश्यक बजेटको व्यवस्था भएपछिको समय हो ।

‘पहिले जग्गा छनोट हुनुप¥यो, त्यसपछि मात्रै निर्माणको बाटोमा जाने हो, बाधा अड्चन आएन भने हामी २ वर्षभित्र रंगशाला निर्माण सक्छौं ।’ धुर्मुसले भने ।

सरकारले जग्गा उपलब्ध गराएर निश्चित बजेट सहयोग गरेको अवस्थामा धुर्मुस सुन्तली फाउण्डेसनले फण्ड कलेक्सन गरी निर्माण गरिने धुर्मुसले जानकारी दिए । ‘त्यसो नभएको अवस्थामा पीपीपी मोडल अन्तर्गत पनि काम गर्न सकियो ।’ उनले भने ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey