पीएनजीलाई हराएसँगै नेपाल एकदिवशीय मान्यताको नजिक

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१२-०१
  • |
  • 135 पटक हेरिएको

चैत १, काठमाडौं । जिम्बावेमा जारी आईसीसी एकदिवशीय विश्वकप छनोटको क्रस प्लेअफमा पपुवा न्यूगिनीलाई ६ विकेटले पराजित गरेपछि नेपाल एकदिवशीय मान्यताको नजिक पुगेको छ ।

अर्को प्लेअफमा नेदरल्याण्ड्स र हङकङबीचको खेल भइरहेको छ । त्यस खेलमा नेदरल्याण्ड्स विजयी भएको अवस्थामा नेपालले एकदिवशीय मान्यता पाउने निश्चित हुनेछ । तर, हङकङ विजयी भएको अवस्थामा एकदिवशीय मान्यताका लागि सातौं स्थानको प्लेअफमा नेपालले हङकङलाई हराउनुपर्नेछ ।

पपुवा न्यूगिनीले दिएको ११५ रनको सामान्य लक्ष्य दिपेन्द्र सिंह एेरीकाे अविजित अर्धशतककाे सहयाेगले २३ ओभरमा ४ विकेटको क्षतिमा पूरा गरेको थियो । सामान्य लक्ष्य पछ्याएको नेपालको सुरुआत भने यसअघिका खेलमा जस्तै कमजोर नै रह्यो ।

नेपालले दोस्रो ओभरको अन्तिम बलमा ओपनर ज्ञानेन्द्र मल्ललाई १ रनको स्कोरमा गुमायो । मल्ल अलेइ नाओको बलमा असद भालाको हातबाट क्याच आउट भए । त्यसको अर्को ओभरमा अर्का ओपनर अनिल साह ९ रनको स्कोरमा नोम्र्यान भानुआको बलमा एलबीडब्ल्यूको धरापमा परे । उनले ११ बल खेलेर १ चौका प्रहार गरेका थिए ।

तेस्रो विकेटका रुपमा कप्तान पारस खड्का ६.५ ओभरमा जोन रिभाको बलमा क्याच आउट हुँदा नेपालले ३५ रन बनाएको थियो । पारसले १८ बलमा २ चौका र १ छक्काको सहयोगमा २० रन बनाए ।

तर, चौथो विकेटका लागि दिपेन्द्र सिंह ऐरी र आरिफ शेखले ६७ रनको साझेदारी गर्दै नेपालको इनिङ उकासे । २१अाैं अाेभरकाे अन्तिम बलमा अारिफ २६ रनकाे व्यक्तिगत स्काेरमा अाउट हुँदा नेपाल जितका लागि मात्र १३ रन टाढा थियाे । अारिफले ४२ बल खेलेर १ चाैका प्रहार गरे ।

त्यसपछि अाएका राेहित कुमार पाैडेलले दिपेन्द्रसँग मिलेर नेपाललार्इ ६ विकेटकाे जित दिलाए । दिपेन्द्रले ५८ बलमा ३ छक्का र १ चाैकाकाे सहयाेगमा अविजित ५० रनकाे अर्धशतकीय पारी खेल्दा राेहित ३ रनमा अविजित रहे ।

यसअघि हरारियन स्पोर्टस क्लवको मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पीएनजी दुई स्पिनरहरु दिपेन्द्र सिंह ऐरी र सन्दिप लामिछानेको धारिलो बलिङसामू २७.२ ओभरमा ११४ रनमै समेटियो ।

पीएनजीको इनिङ ध्वस्त पार्ने क्रममा सन्दिप र दिपेन्द्रले समान ४–४ विकेट लिए ।

सन्दिपले ८ ओभर बलिङ गरी २९ रन खर्चेर ४ विकेट लिए । उनले मध्यक्रमका ब्याट्सम्यानहरु चाड सोपर (१०), सेसे बाउ (११), माहुर दाइ (५) र किप्लिन दोरिगा (१०)को विकेट लिएका थिए ।

यता दिपेन्द्रले ४.२ ओभरमा १४ रन खर्चेर ४ विकेट लिने क्रममा अन्तिम क्रमका चार ब्याट्सम्यानलाई आउट गरे । २६औं ओभरमा दिपेन्द्र ह्याट्रिकको नजिक थिए । ओभरको तेस्रो र चौथो बलमा उनले लगातार ज्यासोन किला (१५) र नोर्मान भानुवा (०) रनमा बोल्ड गरे । त्यसअघि उनले २३.३ ओभरमा चार्ल्स अमिनीलाई १९ रनको स्कोरमा एलबीडब्ल्यूको धरापमा पारेका थिए । अन्तिम विकेटका रुपमा उननले जोन रिभालाई ६ रनको स्कोरमा अनिल साहको हातबाट क्याच आउट गराए । दिपेन्द्रको यो करिअरकै उत्कृष्ट बलिङ प्रदर्शन हो ।

अमिनीले बनाएको १९ रन नै पीएनजीका ब्याट्सम्यानले बनाएको सर्बाधिक स्कोर हो । पीएजनीले १७ अतिरिक्त रन पाएको थियो ।

यसअघि पीएजनीका ओपनर तथा कप्तान असद भालालाई सोमपाल कामीले इनिङको तेस्रो ओभरमै आउट गराएपछि पीएनजीको विकेट पतन सुरु भएको थियो । त्यस्तै आठौं ओभरमा करण केसीले अर्का ओपनर टोनी उरालाई आउट गराए ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal