नेपालले दोस्रो खेलमा आज स्कटल्याण्डसँग खेल्दै

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-२४
  • |
  • 160 पटक हेरिएको

फागुन २४ । जिम्बावेमा जारी आईसीसी एकदिवशीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत समूह चरणको दोस्रो खेलमा आज स्कटल्याण्डबिरुद्ध उत्रँदा नेपाली टोली पहिलो जितको खोजीमा हुनेछ ।

आइतबार भएको समूहको पहिलो खेलमा नेपालले जिम्बावेसँग ११६ रनको पराजय ब्यहोरेको थियो । समूह चरणको शीर्ष तीनभित्र रहेर सुपर सिक्स चरणमा पुग्नका लागि नेपालले स्कटल्याण्डलाई हराउनुपर्ने चुनौति छ ।

नेपाल र स्कटल्याण्डबीचको खेल जिम्बावेको बुलावायोस्थित क्वीन्स स्पोर्टस क्लवको मैदानमा हुनेछ । यसै मैदानमा नेपालले समूहको पहिलो खेल जिम्बावेबिरुद्ध खेलेको थियो । खेल नेपाली समयअनुसार दिउँसो सवा १ बजेदेखि सुरु हुनेछ ।

स्कटल्याण्डबिरुद्ध नेपालको रेकर्ड राम्रो छैन । यसअघि तीन एकदिवशीय क्रिकेट खेलेको नेपालले जित हासिल गर्न सकेको छैन । यसअर्थमा बिहीबारको खेल नेपालका लागि प्रतियोगितामा पहिलो विजयका साथै स्कटल्याण्डबिरुद्ध बदला लिने अवसर पनि हुनेछ ।

नेपालले ४ वर्षअघि न्युजिल्याण्डमा भएको एकदिवशीय विश्वकप छनोटमा स्कटल्याण्डसँग पराजय ब्यहोरेको थियो । नियमित कप्तान पारस खड्का चोटग्रस्त भएपछि ज्ञानेन्द्र मल्लको कप्तानीमा उत्रिएको नेपालले स्कटल्याण्डले दिएको २५० रनको लक्ष्य पछ्याउने क्रममा ४६.१ ओभरमा १५९ रनमा समेटिएको थियो । त्यतिबेला टिममा रहेका ४ खेलाडी अहिले पनि नेपालको टोलीमा छन् ।

यसैगरी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपालले स्कटल्याण्डसँग उसकै मैदानमा २ खेल खेलेको थियो । २०१५ को जुलाई २९ र ३१ मा खेलिएको दुवै खेलमा नेपाल पराजित भएको थियो । पहिलो खेलमा नेपालले २३६ रनको लक्ष्य पछ्याउने क्रममा २३२ रनमात्र बनाउन सकेको थियो । वर्षाका कारण ३६ ओभरमा झारिएको खेलमा नेपालका लागि ओपनर अनिल कुमार मण्डलले शतकीय पारी खेलेका थिए भने कप्तान पारसले ७० रन बनाएका थिए । नेपालले ३६ ओभरमा ५ विकेट गुमाएर २३२ रनमात्र बनाएपछि ३ रनको हार ब्याहोरेको थियो ।

त्यसको २ दिनपछि भएको अर्को खेलमा भने नेपालले पहिले ब्याटिङ गरेर ४९.१ ओभरमा अलआउट हुँदै १६७ रन बनाएको थियो । जवाफमा स्कटल्याण्डले १३.५ ओभरमा १ विकेट गुमाएर १११ रन बनाउँदा खेल वर्षाले बिथोलियो र डकवर्थ लेविस नियम अनुसार स्कटल्याण्ड ९ विकेटले विजयी भयो ।

जारी प्रतियोगितामा समूह चरणका यसअघिका दुई खेल जितेर स्कटल्याण्ड पाँच टोली सम्मिलित समूह बीको शीर्ष स्थानमा छ । स्कटल्याण्डले समूहको पहिलो खेलमा अफगानिस्तानलाई ७ विकेटले स्तब्ध पारेको थियो भने दोस्रो खेलमा हङकङलाई ४ विकेटले हराएको थियो ।

अफगानिस्तानबिरुद्धको जितमा स्कटल्याण्डका कोलुम म्याकलोइडले १५७ रनको शानदार पारी खेलेका थिए । प्रतियोगिताको अहिलेसम्म एकै इनिङमा सर्बाधिक रन बनाउने खेलाडी उनै हुन् । नेपालविरुद्ध पनि उनी चुनौति बन्न सक्छन् ।

त्यस्तै दोस्रो खेलमा हङकङलाई ९१ रनमा अलआउट गर्ने क्रममा स्कटल्याण्डका टम सोल र अलासदिर इभान्सले उत्कृष्ट बलिङ गरेका थिए । सोलले ४ तथा इभान्सले ३ विकेट लिए । सोलले १० ओभरमा ५ मेडन राख्दै १५ रन खर्चेर ४ विकेट लिएका थिए ।

समूह बीको पहिलो खेलमा जिम्बाबेबिरुद्ध ११६ रनको पराजय ब्यहोरेको नेपालको त्यस खेलमा ब्याटिङ र बलिङ दुवैमा कमजोर देखियो । ३८० रनको बिशाल लक्ष्य पछ्याएको नेपालले २६४ रन बनाउँदा मध्यक्रमका ब्याट्सम्यानहरु शरद भेषावकर र आरिफ शेखले अर्धशतकीय पारी खेलेका थिए ।

बिहीबारको स्कटल्याण्डबिरुद्धको खेलमा नेपालले ओपनिङ ब्याटिङमा सुधार गर्नुपर्नेछ भने बलिङको पुरानै लयमा फर्कनु जरुरी देखिन्छ । अन्यथा टेष्ट राष्ट्र अफगानिस्तान र एकदिवशीय मान्यता पाएको हङकङलाई हराएर हौसिएको स्कटिस टोलीलाई रोक्न नेपाललाई फलामको चिउरासरह हुनेछ ।

प्लेयर्स टू वाच

कालुम म्याकलियोर्ड

मध्यक्रमका ब्याट्सम्यान कोलुम अफगानिस्तान विरुद्धको खेलमा शतक प्रहार गरेका थिए । उनले १ सय ४६ बल खेलेर अविजीत १ सय ५७ रन बनाउदा स्कटल्यान्डले सहज जित निकालेको थियो । कालुमले ५१ एकदिवसीय खेलमा ६ शतक र ५ अर्धशतक बनाएका छन ।

सन् २००८ मा इंग्ल्याण्डबिरुद्धको खेलमा डेब्यू गरेका २९ वर्षीया म्याकलियोर्ड नेपालबिरुद्धको यसअघिका तीन खेलमा टिममा परेका थिएनन् । यसअर्थमा नेपाली टोली उनका लागि नयाँ चुनौति हो ।

पारस खड्का

कप्तान पारस खड्काकै प्रदर्शनमा नेपालको प्रर्दशन निर्भर रहन्छ । ठूला शट खेल्न रुचाउने पारसको जिम्बाबेरिुद्ध ३७ बलमा ४० रनको प्रदर्शनले मध्यक्रमका अन्य ब्याट्सम्यानलाई हौसला मिलेको थियो । उक्त खेलमा उनी बलिङतर्फ भने असफल रहे । उनले ५ ओभरमा ५७ रन खर्चिएका थिए ।

त्यसो त यसअघि विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गतको पहिलो खेलमा उनले स्कटल्याण्डबिरुद्ध ७० रनको पारी खेलेका थिए । दोस्रो खेलमा भने १० रनमा क्याचआउट हुन पुगेका थिए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey