नेपाल भर्सेस जिम्बाबेः प्लेयर्स टू वाच

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-२०
  • |
  • 320 पटक हेरिएको

फागुन १९, काठमाडाैं । एकदिवशीय विश्वकप छनोटको आफ्नो पहिलो खेलमा नेपालले घरेलु टोली जिम्बाबेसँग प्रतिस्पर्धा गर्दैछ । टेष्ट मान्यताप्रप्त बलियो टोली जिम्बाबेसँग उत्रँदा नेपालका युवा खेलाडीको प्रदर्शन निर्णायक बन्न सक्छ ।

जिम्बाबेको टोलीमा लामो समयदेखि खेलिरहेका ब्रेण्डन टेलर, ह्यामिल्टन मासाकाद्जा, सिकन्दर राजा, ग्रेम क्रिमरजस्ता खेलाडी छन् । यता नेपाली टोलीमा युवा खेलाडीको बाहुल्य छ । हालै सम्पन्न डिभिजन टू मा उत्कृष्ट प्रदर्शन गरेको नेपाली टोली उच्च लयमा छ ।

जिम्बाबेलाई घरेलु मैदानको साथ हुनेछ भने पहिलो खेलको प्रदर्शनले समग्र प्रतियोगितामै असर पर्ने भएकाले जिम्बाबेबिरुद्ध उत्रँदा नेपाली टोली सजग बन्नुपर्ने देखिन्छ ।

नेपाल र जिम्बाबेका केहि मुख्य खेलाडीहरु छन् जसले खेलको नतिजा प्रभावित पार्न सक्छन् ।

जिम्बाबेः

ह्यामिल्टन माशाकाद्जा

जिम्बाबे क्रिकेट टोलीका पूर्व कप्तान ह्यामिल्टन माशाकाद्जा टिमका अनुभवी खेलाडी हुन् । सन् २०१६ को टि–२० विश्वकपमा जिम्बाबेको कमजोर प्रदर्शनपछि कप्तानबाट हटाइएका ३४ वर्षीय ओपनर ह्यामिल्टन श्रीलंकालाई उसकै घरमा एकदिवशीय सिरिजमा हराउँदा म्यान अफ द सिरिज बनेका थिए ।

१८ वर्षको उमेरमा जिम्बाबेको राष्ट्रिय टोलीबाट डेब्यू गरेका ह्यामिल्टन अन्तर्राष्ट्रिय क्रिकेटमा जिम्बाबेका लागि सर्बाधिक रन बनाउने खेलाडी पनि हुन् । उनले १७८ एकदिवशीयमा ५ हजार भन्दा बढी रन बनाएका छन्, जसमा ४ शतक सामेल छ । श्रीलंकाबिरुद्धको पछिल्लो शृङखलामा उनले शतकसहित २५८ रन बनाएका थिए ।

ग्रेम क्रिमर

जिम्बाबेका कप्तान हुन् ग्रेम क्रिमर । उनले सन् २०१६ यता टिमको कप्तानी सम्हालेका हुन् । श्रीलंकाबिरुद्धको सिरिजमा उनको बलिङ त्यति चम्कन नसके पनि कप्तानीको भने प्रशंशा भएको थियो ।

३१ वर्षीय लेग स्पिनर क्रिमरले सन् २०१५ मा अफगानिस्तानबिरुद्ध २० रन खर्चेर ५ तथा सन् २०१७ मा स्कटल्याण्डबिरुद्ध उसकै मैदानमा २९ रन खर्चेर ५ विकेट लिएका थिए । दुवै टोली समूह बी मै छन् ।

जिम्बाबेका लागि ८१ एकदिवशीय खेलमा उनले १०० विकेट लिएका छन् । जिम्बाबेको स्लो विकेटमा उनी विपक्षीका लागि भारी पर्न सक्छन् ।

सिकन्दर राजा

पाकिस्तानी मूलका सिकन्दरको मुख्य पोजिसन ब्याटिङ भए पनि बलिङमा समेत उनको प्रदर्शन उच्चस्तरको छ । ३१ वर्षीय राजाको परिवार उनी १५ वर्षको हुँदा जिम्बाबे सिफ्ट भएको थियो ।

सन् २०१३ यता जिम्बाबेको राष्ट्रिय टोलीमा रहेका उनले ७० एकदिवशीय खेलमा ३२ को औषतमा १ हजार ८४४ रन बनाएका छन् भने ३१ विकेट लिएका छन् । एकदिवशीय क्रिकेटमा तीन शतक प्रहार गरेका उनी जिम्बाबेको मिडिल अर्डरका खम्बा हुन् ।

पछिल्लो क्रममा आउने र संयमित पारी खेल्दै टिमलाई जिताउने उनको शैली आइतबारको खेलमा नेपाली टोलीका लागि टाउको दुखाइ बन्न सक्छ ।

श्रीलंकाबिरुद्ध गत वर्ष भएको एकदिवशीय सिरिजमा उनले १३७ रन बनाएका थिए भने ४ विकेट लिएका थिए । चौथो एकदिवशीय खेलमा अलराउण्ड प्रदर्शन गरेका उनी म्यान अफ द म्याच बनेका थिए । श्रीलंकाबिरुद्ध जिम्बाबेले खेलेको एक टेष्टमा पनि उनले १२७ रनको शतकीय पारी खेलेका थिए । ३१ वर्षीय ब्याट्सम्यान तथा अफ स्पिनर सिकन्लर अहिले करिअरको उच्च लयमा छन् ।

नेपालः

पारस खड्का

भनिरहनु पर्दैन कि नेपालका कप्तान पारस खड्काको उपस्थिति टिमका लागि कति महत्वपूर्ण छ । उनको ब्याट चल्दा समग्र टिमको प्रदर्शन राम्रो हुने गरेको छ ।

अलराउण्ड प्रदर्शन गर्ने ३० वर्षीय कप्तान पारस ठूला शट खेल्न रुचाउँछन् । कतिपय अवस्थामा यो शैली उनको लागि प्रत्युत्पादक हुने गरे पनि धेरैजसो अबस्थामा उनले यही शैलीले खेल जिताउँदै आएका छन् । नेपाललाई आवश्यक पर्दा विकेट पनि लिन सक्छन् पारस । उनी स्पिन र मिडियम फाष्ट दुवै शैलीबाट बलिङ गर्छन् ।

लिष्ट ए क्रिकेटमा पारसले २८ खेल खेलेका छन् । जहाँ ९५१ रन प्रहार गरेका छन् भने १७ विकेट लिएका छन् । नामिवियामा भएको डिभिजन टू क्रिकेटको फाइनलमा पारसले युएईबिरुद्ध ११२ रनको शतकीय पारी खेलेका थिए । प्रतियोगितामा उनले समूह चरणमा युएईबिरुद्ध नै ५१ रनको अर्धशतकीय पारी पनि खेलेका थिए ।

 

सन्दिप लामिछाने

१७ वर्षीय किशोर क्रिकेटर सन्दिप लामिछाने यतिबेला नेपाली टिमका शनशनी हुन् । दायाँ हाते लेग स्पिनरको प्रदर्शन आइतबार हुने जिम्बाबेबिरुद्धको खेलमा निर्णायक बन्न सक्छ । पहिलो खेलमा मात्र होइन, समग्र प्रतियोगितामै सन्दिपको प्रदर्शन नेपालका लागि अहम् छ ।

जिम्बाबेको विकेट सुहाउँदो बलरका रुपमा रहेका उनी नेपाली टोलीको मुख्य हतियार हुन् । तीन साताअघि नामिवियामा भएको विश्व क्रिकेट लिग डिभिजन टू मा शानदार प्रदर्शन गर्दै म्यान अफ द सिरिज बनेका सन्दिप करिअरकै उत्कृष्ट लयमा छन् ।

एक महिनाअघि इण्डियन प्रिमियर लिग क्रिकेटमा छनोट हुनु र हालै क्यारेवियन प्रिमियर लिगमा समेत अनुबन्ध हुनुले सन्दिपको उज्वल भविश्यको संकेत गर्छ । नामिवियामा उनले ६ खेलमा १७ विकेट लिएका थिए । केन्याबिरुद्ध १० ओभरमा ५ मेडन राख्दै २० रन दिएर ५ विकेट लिनु उनको करिअरकै उत्कृष्ट प्रदर्शन हो । २०१६ को अप्रिलमा विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नामिवियाबिरुद्ध राष्ट्रिय टोलीबाट डेब्यु गरेका सन्दिप त्यसयता निरन्तर राष्ट्रिय टोलीमा छन् ।

रोहित कुमार पौडेल

नेपालले भरोसा गर्न सक्ने अर्का युवा स्टार हुन् रोहित कुमार पौडेल । नामिवियामा भएको डिभिजन टूको पहिलो खेलमा नामिवियाबिरुद्ध नै डेब्यू गरेका रोहित प्रतियोगिताभर प्लेइङ सेटमा रहे ।

मुख्य गरी नेपालको मध्य क्रममा भरपर्दो ब्याट्सम्यानको अभाव खड्किरहेका बेला प्रतिभावान युवा खेलाडीको रुपमा नेपालले रोहितलाई पाएको छ । अग्रपंक्तिको प्रदर्शन बिग्रँदा त्यसको असर पुछारका ब्याट्सम्यानसम्म पर्ने गरेको नेपालको समस्यालाई रोहितले नामिवियामा केहि हदसम्म निराकरण गरेका छन् ।

उदाहरणका रुपमा डिभिजन टूमा केन्याबिरुद्ध रोहितको संयमित प्रदर्शनलाई लिन सकिन्छ । उनले आरिफ शेखसँग मिलेर छैटौं विकेटका लागि ८७ रनको साझेदारी गरेपछि नेपालले १७८ रनको लक्ष्य भेट्टाएको थियो । त्यस खेलमा उनले सर्बाधिक ४७ रन बनाएका थिए । डिभिजन टू को ६ खेलमा उनले १४० रन बनाएका थिए, जुन नेपालको तर्फबाट कप्तान पारस खड्का (२४१) भन्दा पछि हो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey