पहिला नेशन, अनि मात्र आईपीएलः सन्दिप लामिछाने

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-०८
  • |
  • 226 पटक हेरिएको

फागुन ८, चितवन । इण्डियन प्रिमियर लिगको अक्सन भइरहँदा नेपाली युवा स्टार क्रिकेटर सन्दिप लामिछाने डिभिजन टू को तयारीका लागि युएईमा बैदेशिक प्रशिक्षणमा थिए । अक्सनमा उनलाई फ्रन्चाइजी टोली दिल्ली डेयरडेभिल्सले २० लाख भारुमा किनेपछि समग्र नेपाली क्रिकेटप्रेमी हर्षबिभोर भए ।

आईपीएलमा अनुबन्ध भएको साता नवित्दै नामिवियामा भएको डिभिजन टू प्रतियोगितामा सन्दिपले कमालै गरे । प्रतियोगितामा सर्बाधिक १७ विकेट लिएका उनी म्यान अफ द सिरिज बने ।

गएको शनिबार स्वदेश फर्किएपछि छुट्टी मनाउन सन्दिप सोमबार गृहनगर पुगेका छन् । गृहनगर आएका बेला हाम्रा सहकर्मी राजेन्द्र आचार्यले सन्दिपसँग उनको आईपीएल यात्रा र डिभिजन टूको ऐतिहासिक प्रदर्शनबारे गरेकाे कुराकानीः

सुरुमा तपाईंलाई दोहोरो बधाई छ । आईपीएलमा छनोट हुने पहिलो नेपालीसँगै नेपाललाई आईसीसी विश्वकप छनोटसम्म पुर्‍याउँदा महत्वपूर्ण भुमिका निर्वाह गर्नुभयो । कस्तो अनुभव भइरहेको छ आईपीएल खेल्न जाँदैहुनुहुन्छ ?

राम्रो लागेको छ, मुलुकबाटै आईपीएल खेल्ने पहिलो खेलाडी हुन पाउँदा । म नभएको भए जोसुकै पनि त्यहाँ खेल्न सक्थे, र त्यसले कोचदेखि सबै क्रिकेटप्रेमीलाई खुसी बनाउँथ्यो । त्यस ठाउँमा म छु ।

आईपीएलमा मुलुकको प्रतिनिधित्व गर्दै खेल्न पाउँदा निक्कै खुसी छु । यसले नेपाली खेलाडीको लागि बाटो पनि सधैंको लागि खोलेको छ । यो एउटा राम्रो अवसर हो यसलाई हासिल गर्न म आतुर छु ।

आईपीएल अक्सन हुँदा तपाईं टिमसँगै युएईमा हुनुहुन्थ्यो । अक्सनमा तपाईंको नाम आउँदा के गर्दै हुनुहुन्थ्यो ? टिभी हेर्नुभयो ?

कहाँ टिभी हेर्न पाउनु ! हामी अभ्यासका क्रममा थियौं, म वार्मअप गर्दै थिएँ । हाम्रो टिम म्यानेजर रमन दाईले सबैलाई म आईपीएलमा छनोट भएको खबर सुनाउनु भयो ।

त्यसअघि कति नर्भस हुनुहुन्थ्यो, आफ्नो नाम बिक्छ कि बिक्दैन भनेर ?

म छनोटको कुरामा कहिले पनि नर्भस हुन्न । मेहनत र इमान्दार भएर काम गरियो भने सबै कुरा राम्रो हुन्छ । अहिले नभएपनि कुनै न कुनै दिन सफल हुन्छु भन्ने मलाई विश्वास थियो ।

दिल्लीले तपाईलाई २० लाख भारुमा अनुबन्ध गर्दा बधाई दिने पहिलो ब्यक्ति को थियो ? त्यसपछि त तपाईंलाई फोन र म्यासेजको ओहिरो नै लाग्यो होला होइन ?

हाम्रो टिममा सबैभन्दा पहिला म्यानेजर रमन दाइले नै थाहा पाउनु भएको थियो । पहिलो बधाई उहाँले नै दिनुभयो । त्यसपछि टिमका दाईहरुले र कोच, फिजियोले बधाई दिनुभयो । फोन म्यासेजहरु त धेरै नै आएको थियो । खुसी लाग्छ, सबैले सपोर्ट गरिदिनुभएको छ ।

तपाईंलाई आईपीएलसम्म लैजान क्यानकी पूर्व सीईओ भावना घिमिरेले महत्वपूर्ण भूमिका खेल्नुभयो भन्ने हल्ला छ नि, के यो साँचो हो ?

(हासो) हल्ला कस्तो खाले हो म बुझ्दिन । तर, उहाँले मलाई धेरै सपोर्ट गर्नुभएको हो । उहाँ सँगसँगै धेरै मानिसहरुको हात छ, जसले मलाई आईपीएलसम्मको यात्राका लागि सहयोग गर्नुभयो । किनभने, नाम पठाउनेदेखि सबै काम बोर्डले गर्ने हो, हामीसँग क्रिकेट एशोसियसन निलम्बनमा परेको अवस्थामा अवश्य नै उहाँले सबै सहयोग गर्नुभएको हो ।

अर्कोतर्फ अष्ट्रेलियाका पूर्व कप्तान माइकल क्लार्कको कस्तो भूमिका रह्यो, तपाईको आईपीएल यात्रामा ?

उहाँले मलाई पहिलादेखि नै धेरै सहयोग र सपोर्ट गर्नुभएको हो । अष्ट्रेलिया टूरमा गएँ । त्यहाँ क्रिकेट खेलेर धेरै सिक्न पाएँ । हङकङमा पनि उहाँकै टिमबाट खेलेँ ।

हाम्रोतिर जस्तै राम्रो खेल्ने खेलाडीलाई कसैले अनुबन्ध गर्न लाग्दा ‘ए यो राम्रो खेल्छ है’ भनेर प्रोत्साहित गरिन्छ, सायद उहाँले पनि त्यसै गर्नुभयो कि ?

अब विश्वकै चर्चित खेलाडीहरुसँग ड्रेसिङ रुम शेयर गर्दै हुनुहुन्छ, त्यो आफैंमा गर्वको कुरा हो । कत्तिको उत्साहित हुनुहुन्छ ?

साँच्चिकै उत्साहित छु । किनभने यो मेरा लागि निक्कै ठूलो अवसर हो । विश्व क्रिकेटकै ठूला नामसँग ड्रेसिङ रुम शेयर गर्दैछु, सम्भवतः त्यो भन्दा आनन्दित क्षण सायदै आउनेछ । अर्कोकुरा त्यस्तो ठूलो प्रतियोगिताबाट मैले धेरै कुरा सिक्ने मौका पाउनेछ । जसलाई मैले नेपाल क्रिकेटमा ल्याएर प्रयोग गर्नेछु ।

अब, डिभिजन टू को कुरा गरौं, नामिवियामा भएको डिभिजन टू मा १७ विकेट लिँदै उत्कृष्ट खेलाडी बन्नुभयो । यसलाई कसरी लिनुभएको छ ?

राष्ट्रका लागि गरिएको योगदान हो यो । सबैको प्रदर्शन एकैरुपको हुन्छ भन्ने छैन । अप डाउन भइरहन्छ । यस प्रतियोगिता चाहीँ एकदमै राम्रो भयो । म मात्र होइन, हाम्रो टिमका हरेक एक खेलाडीले आफ्नो शतप्रतिशत दिएर खेल्नुभयो ।

खुसी लाग्छ कि मैले म्यान अफ द सिरिज पाएँ । हरेक खेलाडीको एउटा चाहना हुन्छ कि कुनै पनि प्रतियोगितामा राम्रो गर्ने । त्यो चाहना यसपटक मेरो पूरा भयो ।

नामिविया पुग्दा नेपाल विश्वकप छनोटमा पुग्छ भन्ने आशा तपाईंमा कति थियो ?

मैले अघि नै भनिसकेँ, प्रतियोगितामा प्रदर्शन तल माथि भइरहन्छ । आशा भन्दा पनि एउटा विश्वास थियो कि राम्रो खेलेरे टप टू मा पर्छौं र विश्वकप छनोट खेल्न योग्य हुन्छौं ।

तर, प्रतियोगिताकै बीचमा हामीले कहिले राम्रो त कहिले नराम्रो खेल्यौं, त्यो कुरा छाडिदिउँ । अहिले हामी टप टू मा छौं र हाम्रो अहिलेको लक्ष्य पूरा भइसकेको छ । त्योभन्दा बढी खुसी केहि हुँदैन ।

क्यानडाविरुद्धको त्यो खेलमा अन्तिम विकेटका रुपमा तपाईं र करण केसी हुनुहुन्थ्यो । तपाईंको दिमागमा चाहीँ के खेलिरहेको थियो त्यो क्षणमा कि अन्तिम ओभरमा नेपालले ८ रन जोड्नु थियो ?

वास्तवमा अन्तिम ओभर भन्दा अघि नै हामीले एउटा प्लानिङ बनाएका थियौं । अन्तिम विकेटका रुपमा म क्रिजमा आउँदा हामीलाई जितका लागि अझै ५१ रन चाहिन्थ्यो । त्यतिबेलै जितको सोच त बनाएका थिएनौं । तर, हामीले के सल्लाह गरेका थियौं भने विस्तारै विस्तारै भए पनि यो खेललाई अन्तिम ओभरसम्म लैजाउँ ।

त्यसरी नै खेल्यौं पनि । ५० बाट ४०, ४० बाट ३० रन चाहिने भयो । त्यसपछि चाहीँ खेल जित्न सकिन्छ भन्ने आत्मविश्वास आयो ।

अन्तिम भन्दा अघिल्लो ओभरमा मैले करण (केसी)दाइसँग सिंगल लिन मिल्ने अवस्थामा म लिइराख्छु, शर्ट खेल्न मिल्दा हजुरले खेल्नु भनेर भनेको थिएँ मैले पनि ।

अन्तिम ओभरमा चाहीँ मैले दाइलाई भनेको थिएँ कि यो ओभर चाहीँ सबै तपाईंले नै खेल्नुपर्छ । किनभने, हिटिङ जोनमा पायो भने दाइले जुनसुकै बल पनि बाउण्ड्री कटाउने सामर्थ्य राख्नुहुन्छ ।

जब नेपालले १ विकेटको जित हासिल गर्यो, तपार्इ‌ं र पूरै टिम नै भावुक भनेको थियो । त्यो क्षण कसरी लिनुहुन्छ ?

त्यतिबेला सबैजना भावुक नै हुनुहुन्थ्यो । एउटा सपना नै थियो किनभने त्यो सफलता नआएको भए हाम्रो क्रिकेट ३–४ वर्ष अझै पछाडि धकेलिन्थ्यो । हामीले डिभिजन टू को शीर्ष २ मा परेलगत्तै आगामी ३–४ वर्षका लागि हामी पछाडि फर्कनुपर्दैन । त्यसका लागि विश्वकप छनोटमा पनि राम्रो गर्नुपर्छ ।

त्यस्तो खेलको जितमा जो कोही पनि इमोसनल त भइहाल्छ । यति इमानदारीका साथ मिहिनेत गरेका छौं, त्यो फल पाउँदा अवश्य पनि खुसी लाग्छ ।

तपाईंको व्यक्तिगत कुरा गरौं, जस्तो तपाईंले क्रिकेट खेल्न भारतबाट सुरु गर्नुभयो । पछि नवलपरासी चितवन हुँदै राष्ट्रिय टिमबाट खेलिरहनु भएको छ । पछि अझै राम्रो अवसरको लोभमा राष्ट्रियता परिवर्तन त गर्नुहुन्न नि ?

(हासो) यस्तो कुराहरु कहिल्यै पनि आउँदैन । किनभने नेपालले नै मलाई यति धेरै दिएको छ कि मैले अरु सोच्नै पर्दैन । निक्कै सानो छँदा म भारतमा बसेको हो । वास्तवमा क्रिकेट मैले भारतमा त्यति धेरै खेलेको पनि होइन । बस, साथीहरुसँग रमाइलोका लागि हो ।

त्यसपछि म नेपाल फर्किए । आफ्नो मुलुक भनेको आफ्नै हो । तपाई अष्ट्रेलिया जानुस्, वा विश्वका जुनसुकै मुलुकमा जानुस्, तपाईंले त्यहाँ गर्व गर्दै भन्न सक्नुहुन्छ कि हामी नेपाली हौं । बाहिर जति घुमे पनि आफ्नो मुलुकमा आएपछि छुट्टै फिलिङ आउँछ ।

बाहिरको लिगहरु मैले पाएसम्म सबै खेल्छु । कुनै पनि मुलुकको लिगमा फ्रेन्चाइजी टोलीबाट खेल्दैमा राष्ट्रियता परिवर्तन गर्नुपर्छ या गर्छ भन्ने सोच म कहिल्यै राख्दिन ।

तपाईको प्लान के छ अब ? किनभने, छिट्टै विश्वकप छनोट खेल्नुछ, त्यसपछि आईपीएल

पहिला राष्ट्र नै आउँछ । राष्ट्रका लागि योगदान दिएपछि आईपीएल हो । छिट्टै हुने छनोट प्रतियोगितामामा शतप्रतिशत योगदानसहित विश्वकपमा छनोट हुने लक्ष्य लिएको छु ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal