धनगढी प्रिमियर लिगमा २ सय बढी खेलाडी, अक्सन ९ गते

0

फागुन ६, काठमाडाैं । कैलालीको धनगढीमा आगामी चैत १७ गतेदेखि सुरु हुने दोस्रो संस्करणको धनगढी प्रिमियर लिग क्रिकेटमा २ सय भन्दा बढी खेलाडीले नाम दर्ता गराएका छन् ।

आयोजकका अनुसार क्रिकेट खेलाडी संघसँगको सहकार्यमा नामावली फाइनल गरी टिमहरुलाई पठाइएको छ ।

प्रतियोगिताको अक्सन फागुन ९ गते हुनेछ ।

प्रतियोगितामा ६ टोलीको सहभागिता छ । प्रतियोगितामा टिम चौराहा धनगढी, सिवाईबी अत्तरिया, रुपन्देही च्यालेञ्जर्स, महेन्द्रनगर युनाइटेड, काठमाडौं गोल्डेन्स र बिराटनगर किङ्स छन् ।

प्रतियोगिताको विजेताले २५ लाख, उपविजेताले १० लाख पाउनेछ । त्यस्तै तेस्रो र चौथो हुने टिमले पनि क्रमसः ३ लाख र २ लाख पुरस्कार पाउनेछन् ।

हरेक खेलको म्यान अफ द म्याचले १० हजार र म्यान अफ द सिरिजले मोटरसाइकल पुरस्कार पाउनेछन् ।

धनगढी क्रिकेट एकेडेमीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी १ पूर्व खेलाडीलाई धनगढी क्रिकेट सम्मान र नेपाली क्रिकेटमा महत्वपूर्ण योगदान गर्नेलाई अर्जुन खड्का स्मृति सम्मान प्रदान गरिनेछ । दुवै पुरस्कारको राशी १/१ लाख छ ।

श्री एयरलाइन्ससँग प्रायोजन सम्झौता

यसैबीच धनगढी प्रिमियर लिगको दोस्रो संस्करणका लागि आयोजक धनगढी क्रिकेट एकेडेमीले श्री एयरलाइन्ससँग प्रायोजन सम्झौता गरेको छ । काठमाडौंमा आज आयोजित कार्यक्रममा धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाही र श्री एयरलाइन्सका अपरेशन डाइरेक्टर कुन्दन गिरीले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

सम्झौताअनुसार श्री एयरलाइन्सले १० लाख बराबरको प्रायोजन गर्नेछ । जसमा ७ लाख ५० हजार नगद प्रदान गर्नेछ भने २ लाख ५० हजार बराबरको सेवा उपलब्ध गराउनेछ ।

सम्झौतापछि श्री एयरलाइन्सका अनरेशन डाइरेक्टर गिरीले क्रिकेटले राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा राम्रो प्रदर्शन गरिरहेको अवस्थामा राष्ट्रिय स्तरको प्रतियोगितामा प्रायोजन गर्न पाउँदा उत्साहित रहेको प्रतिक्रिया दिए ।

धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास साहीले यस सम्झौताले आफूले सुरु गरेको प्रतियोगितालाई नयाँ उचाईमा लगेको बताए । उनले भने, ‘श्री एयरलाइन्सको स्लोगान नै ‘फ्लाइट द न्यू हाई’ छ, यो सहकार्यले हाम्रो प्रतियोगिताले पनि नयाँ उचाइ लिनेछ भन्ने अपेक्षा छ ।’

Post Add 1025X115
Loading...