अध्यक्षका उम्मेदवार कुँवरको प्रतिबद्धताः हाम्रो फुटबल, हाम्रो एन्फा

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-०४
  • |
  • 210 पटक हेरिएको

फागुन ४, काठमाडाैं । आगामी चैत १४ गते हुने अखिल नेपाल फुटबल संघ एन्फा कार्यसमितिको चुनावका लागि अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका मणि कुँवरले हाम्रो फुटबल, हाम्रो एन्फाको अनुभूति हुने गरी काम गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।

बिहीबार मनोनयन दर्ता गएका कुँवरले शुक्रबार पत्रकार सम्मेलन गरी एन्फालाई बोलिने र नसुनिने प्रबृति परिवर्तन गरी देखिने र अनुभूति हुने एन्फा बनाउन सबैको सहयोगको अपीलसमेत गरे ।

एन्फाका वरिष्ठ उपाध्यक्षसमेत रहेका कुँवरले अध्यक्षका खेलकुद संस्थामा राजनीतिक हस्तक्षेप बढेको दुखेसो गरे । अर्का उम्मेदवार कर्मा छिरिङ शेर्पातर्फ लक्षित गर्दै उनले भने, ‘पछिल्ला गतिविधिले एन्फा राजनीति गर्ने थलो जस्तो देखियो, तर, यो बिशुद्ध खेलकुद संस्था हो र यहाँ स्वस्थ प्रतिस्पर्धा हुनु आवश्यक छ ।’

आफू निर्वाचित भए एन्फाको समग्र बिकासका लागि कुँवरले बिभिन्न एजेण्डाहरु पनि अघि सारेका छन् । जसमा जिल्ला फुटबल संघहरुलाई व्यवस्थित बनाउने तथा बजेट बृद्धि गर्ने, फिफा र एएफसीका कार्यक्रमहरु कार्यान्वयन गर्ने, राष्ट्रिय टोलीलाई धेरै भन्दा धेरै अन्तर्राष्ट्रिय पदक दिलाउन तयारी गर्ने, फुटबल बिकासका लागि ५ वर्षे बिशेष नीति ल्याउने, प्रशिक्षक तथा रेफ्री उत्पादन कार्यक्रमलाई प्रभावकारी बनाउने, आर्थिक पारदर्शीता कायम गर्ने लगायत छन् ।

एन्फा पूर्व अध्यक्ष गणेश थापाको नातेदार भएकै कारण आफू नेतृत्वका लागि अयोग्य भएको भन्ने विपक्षीको आरोपको खण्डन गर्दै कुँवरले भने, ‘पछिल्लो ३०/३२ वर्षदेखि गणेश थापा मेरो भिनाजु हुनुहुन्छ, तर, उहाँको नातेदार भएको भन्दैमा नेपाली फुटबलका लागि मेरो योगदान विर्सन मिल्छ र ?’

यद्यपि, फिफाले भ्रष्टाचार प्रकरणमा १० वर्षको प्रतिबन्ध लगाएका एन्फा पूर्व अध्यक्ष गणेश थापालाई जिल्लाका चुनावमा अनावश्यक दवाव दिएको र शक्ति प्रयोग गरेको अरोप लागेको छ ।

मणि कुँवरलाई अध्यक्षमा समर्थन गरी एन्फाका वर्तमान अध्यक्ष नरेन्द्र श्रेष्ठले एन्फाको नेतृत्वका लागि कुँवर उपयुक्त पात्र भएको बताए । उनले भने, ‘पछिल्लो १ वर्षमा मैले उनलाई नजिकबाट चिनेको छु र उनले एन्फालाई सफल बनाउने क्षमता छ भन्ने मलाई लागेको छ ।’

कर्मा समूहप्रति लक्षित गरी अध्यक्ष श्रेष्ठले एन्फालाई पार्टीको भातृ संगठन बनाउन खोजिएको आरोप लागाए । उनले कर्मा छिरिङ समूहले सुरु गरेको सुद्धीकरणको अभियानमा नयाँ विषय नसमेटिएको भन्दै आफूहरु पनि सुद्धीकरण र आर्थिक पारदर्शीताकै अभियानमा लागेको जानकारी दिए ।

पत्रकार सम्मेलनमा २४ जिल्ला, दुई क्लव, रेफ्री संघ तथा प्रशिक्षक संघका मतदाता तथा प्रतिनिधिको उपस्थिति थियो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey