डिभिजन टू फाइनलः युएईले टस जितेर ब्याटिङ रोज्यो

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-०३
  • |
  • 149 पटक हेरिएको

फागुन ३, काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग डिभिजन टूको फाइनलमा नेपाल र युएईबीच प्रतिस्पर्धा हुँदैछ ।

नामिवियाको विण्डहकस्थित वण्डरर्स क्रिकेट मैदानमा युएईले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।

यसअघि लिग चरणको खेलमा नेपालले युएईलाई ४ विकेटले हराएको थियो । वर्षाका कारण ३४ ओभरमा झारिएको खेलमा युएई ११४ रनमा समेटिएको थियो । जवाफमा नेपालले २८.५ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो ।

त्यस खेलमा नेपाली कप्तान पारस खड्काले ५१ रनको अर्धशतकीय पारी खेलेका थिए भने बलिङमा सन्दिप लामिछानेले ३ विकेट लिएका थिए ।

सन्दिप प्रतियोगितामै सर्बाधिक विकेट लिने खेलाडी हुन् । उनले यसअघिका पाँच खेलमा १६ विकेट लिइसकेका छन् । जसमा नामिवियाबिरुद्ध ४, ओमानबिरुद्ध २, युएईबिरुद्ध ३, केन्याबिरुद्ध ५ र क्यानडाबिरुद्ध २ छन् । सर्बाधिक विकेट लिने खेलाडीको सूचीमा युएईका रोहन मुस्तफा दोस्रो नम्बरमा छन् । उनले अहिलेसम्म १२ विकेट लिएका छन् ।

प्रतियोगिताको शीर्ष २ स्थानमा रहँदै डिभिजन वान र विश्कप छनोटको यात्रा निश्चित गरिसकेका दुवै टोलीबीचको उपाधि भिडण्तले अर्को महिना जिम्बाबेमा हुने एकदिवशीय विश्वकप छनोटमा खेल्ने समूहको टुंगो लगाउनेछ ।

नेपालले आजको खेलमा जित हासिल गरेमा विश्वकप छनोटको समूह ए बाट खेल्नेछ । जहाँ, वेष्ट इण्डिज, आयरल्याण्ड, नेदरल्याण्ड्स र पपुवा न्यूगिनी छन् ।

पराजित भएर उपबिजेतामा सीमित भए नेपालले समूह बी बाट खेल्नुपर्नेछ । जहाँ, घरेलु टोली जिम्बाबेसँगै अफगानिस्तान, स्कटल्याण्ड र हङकङ छन् ।

फाइनलसँगै आजै प्रतियोगिताको तेस्रो र पाँचौं स्थानका लागि प्लेअफ खेलहरु पनि हुँदैछन् । तेस्रो स्थानका लागि घरेलु टोली नामिविया र क्यानडा तथा पाचौं स्थानका लागि ओमान र केन्या भिड्नेछन् । ओमान र केन्या डिभिजन थ्री मा रेलिगेट भइसकेका छन् भने नामिविया र क्यानडा डिभिजन टू मै रहनेछन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey