उद्योग बाणिज्य महासंघले राष्ट्रिय भलिबल आयोजना गर्ने
- नेप्लेज
- |
- २०७४-१०-०७
- |
- 342 पटक हेरिएको
माघ ७, काठमाडौं । राष्ट्रिय खेल भलिबलको ग्रासरुटदेखिनै बिकास गर्न नेपाल भलिबल संघ र नेपाल उद्योग बाणिज्य महासंघबीच स्थानीयदेखि राष्ट्रियस्तरको भलिबल प्रतियोगिता आयोजनाका लागि सम्झौता भएको छ ।
सम्झौताअनुसार स्थानीय, प्रदेश र राष्ट्रियस्तरको भलिबल प्रतियोगिता आयोजनाका लागि नेपाल उद्योग बाणिज्य महासंघले वार्षिक १ करोड २० लाख बराबरको बजेट उपलब्ध गराउनेछ । यो सम्झौता तीन वर्षका लागि हो ।
नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्मा र नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
एफएनसीसीआई कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता तीन चरणमा आयोजना हुनेछ । ग्रासरुटबाट भलिबलको बिकासका लागि स्थानीय तहका टोलीहरु समावेश गरेर जिल्लास्तरीय प्रतियोगिता सञ्चालन गरिनेछ । छनोट प्रतियोगिता माघ २५ देखि फागुन १० गतेसम्म सञ्चालन हुनेछ ।
त्यस्तै त्यहााबाट छनोट भएका टोलीहरु प्रदेशस्तरको छनोट प्रतियोगितामा सहभागी हुनेछ । प्रदेशस्तरको छनोट प्रतियोगिता फागुन १० देखि चैत १० गतेसम्म आयोजना हुनेछ ।
प्रदेशस्तरबाट छनोट भएका सात प्रदेशका महिला तथा पुरुष टोलीहरुबीच राष्ट्रियस्तरको प्रतियोगिता चैत २० देखि २७ गतेसम्म काठमाडौंमा सञ्चालन हुने प्रतियोगिताका सहसंयोजक तथा नेपाल भलिबल संघका सचिव जितेन्द्र चन्दले जानकारी दिए । चैत २८ गते उद्योग बाणिज्य दिवसको उपलक्ष्यमा प्रतियोगिताको समापन गरिनेछ । महिला र पुरुष दुवैतर्फ यस प्रतियोगिताको बिजेताले २ लाख, उपबिजेताले १ लाख र तेस्रो हुनेले ५० हजार पुरस्कार पाउनेछ ।
जिल्लास्तरमा नकआउट फम्र्याटमा प्रतियोगिता हुनेछ भने त्यसपछि प्रदेश र राष्ट्रिय स्तरमा लिगकम नकआउट फम्र्याटको प्रतियोगिता सञ्चालन गरिनेछ ।
पत्रकार सम्मेलनमा नेपाल उद्योग बाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले महासंघको सामाजिक उत्तरदायित्वको अवधारणा अन्तर्गत राष्ट्रिय खेलसमेत रहेको भलिबलमा लगानी गरिएको जानकारी दिइन् ।
नेपालमा सर्वव्यापी रहेको भलिबल खेलको राष्ट्रिय स्तरमा मात्र नभइ अन्तर्राष्ट्रिय स्तर बढाउनसमेत सहयोग गर्ने आश्वासन अध्यक्ष राणाले दिइन् ।
पत्रकार सम्मेलनमा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले खेलकुदमा निजी क्षेत्रको लगानी अत्यावश्यक रहेकोमा त्यसका लागि निजी क्षेत्रकै ठूलो संस्थाको लगानी आउनु नेपाली खेलक्षेत्रका लागि कोशेढुंगा रहेको बताए ।
त्यस्तै युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसीले खेलकुदको बिकासका लागि प्रतियोगितामा मात्र नभई पूर्वाधार बिकासमा समेत सहकार्य गर्न निजी क्षेत्रलाई आह्वान गरे ।
मन्त्री केसीले भलिबलमा मात्र नभइ सबै खेलमा निजी क्षेत्रको लगानी हुनुपर्ने बताए ।