टिकापुर र बुटवल खुकुरी कप क्रिकेटको समूह चरणबाट बाहिरिए

0

माघ २७, काठमाडाै‌ं । टिकापुर क्रिकेट क्लव र बुटवल क्रिकेट व्वाइज काठमाडौंमा जारी खुकुरी च्याजेञ्जर्स कप टि–२० क्रिकेट प्रतियोगिताको समूह चरणबाटै बाहिरिएका छन् ।

शनिबार भएको समूह डी अन्तर्गतको खेलमा बुटवलले अन्तर जिल्ला स्पोर्टस क्लवसँग २२ रनले पराजित भएपछि समूहमा सबै खेल हारेर प्रतियोगिताबाट बाहिरियो । त्यस्तै अर्को खेलमा मकवानपुर क्रिकेट क्लवसँग १९ रनले हारेको टिकापुर पनि प्रतियोगिताबाट बाहिरियो ।

मूलपानी क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको अन्तर जिल्लाले निर्धारित १७ ओभरमा ९ विकेट गुमाएर १२६ रन बनायो । खेल ढिला सुरु भएकाले ३ ओभर छोट्याइएको आयोजकले जनाएको छ ।

अन्तर जिल्लाका लागि ओपनरहरु दिल बोहोराले २७ र प्रकाश जैसीले २० रन बनाएर राम्रो सुरुआत दिए पनि मध्यक्रमका ब्याट्सम्यान चल्न सकेनन् । अन्तिमक्रमका अभिराज रोयले उसका लागि २५ रज बनाएका थिए । त्यस्तै अन्तर जिल्लाले २३ अतिरिक्त रन पाएको थियो । बलिङतर्फ बुटवलका आयुस पाण्डेले ४ विकेट लिएका थिए ।

१२७ रनको लक्ष्य पछ्याएको बुटवलले निर्धारित ओभरमा २ विकेट गुमाएर १०४ रनमात्र बनाउन सकेपछि २२ रनको हार ब्यहो¥यो । बुटवलका ओपनर तथा कप्तान निर्मल थापाले ७१ रनको उत्कृष्ट पारी खेले पनि टिमलाई हारबाट जोगाउन सकेनन् । बुटवलका आयुस पाण्डे खेलको म्यान अफ द म्याच चुनिए ।

शनिबार नै भएको दोस्रो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको मकवानपुरले निर्धारित १७ ओभरमा ७ विकेट गुमाएर १४५ रन बनायो । उसका लागि हरि चौहानले सर्बाधिक ४९ रन जोडेका थिए ।

बलिङतर्फ टिकापुरका प्रकाश न्यौपाने र सुवास सिंह ठकुरीले समान २÷२ विकेट लिए ।

१४६ रनको लक्ष्य पछ्याएको टिकापुरले निर्धारित ओभरमा ९ विकेट गुमाएर १२६ रनमात्र जोडेपछि मकवानपुरको १९ रनको जित सम्भव भयो । उसका लागि रविन्द्र जंग साहीले ४६ र राजन शेरचनले ४४ रन बनाए पनि अन्यको प्रदर्शन सन्तोषजनक भएन ।

बलिङतर्फ मकवानपुरका हशिम अन्सारी र रोविन गुरुङले ३÷३ विकेट लिए । खेलको म्यान अफ द म्याच मकवानपुरका हरि चौहान चुनिए ।

Post Add 1025X115
Loading...