आहा ! रारा फाइनलः थ्रीस्टारको सामना गर्न पुलिस तयार

0

माघ १९, कास्की । मोफसलकै प्रतिष्ठित फुटबल प्रतियोगिता आहा रारा गोल्डकपको १६औं संस्करणको उपाधिका लागि शनिबार नेपाल पुलिस क्लब र थ्री स्टार क्लबवीच खेल हुँदैछ ।

पोखरा रंगशालामा शनिबार दिउँसो २ बजेदेखि सुरु हुने खेलमा दुवै क्लवका प्रशिक्षक र कप्तानले उपाधि आफैंले जित्ने दाबी गरेका छन् ।

पोखरा रंगशालामा शुक्रबार भएको खेलअघिको पत्रकार सम्मेलनमा नेपाल पुलिस क्लवका प्रशिक्षक अनन्त थापाले थ्रीस्टार नेपाली फुटबलको पावरहाउस भए पनि उसको सामना गर्न आफ्नो टिम तयार भएको बताए ।

नेपाल पुलिस क्लबलाई खेलाडीका रुपमा धेरै उपाधि जिताएका अनन्त थापा अहिले प्रशिक्षकका रुपमा छन् । युवा र अनक्याप्ड खेलाडीले भरिएको पुलिस टिमले उनकै पशिक्षणमा शानदार प्रदार्शन गर्दै फाइनलमा पुगेको छ ।

एक सताअघि इटहरीमा भएको मदन भण्डारी स्मृति गोल्डकपको उपाधि उचालेको थ्रीस्टार क्लबका प्रशिक्षक मेघराज केसीले पनि आफ्नो टिमसन्तुलित रहेकाले शनिबार जित्नका लागि खेल्ने बताए ।

थ्रीस्टारले गत सिजन आहा रारा खेलेको थिएन । तर, यो सिजन एउटा प्रतियोगिताको उपाधि जितिसकेको थ्रीस्टार लयमा देखिन्छ ।

यता योसहित नौ पटक आहा राराको फाइनलमा पुगेको नेपाल पुलिस क्लबले पनि राखेप च्याम्पियनसिप अन्तर्गतको पुुरुष फुुटबलको उपाधि जित्दै कमब्याक गरेको संकेत दिइसकेको छ ।

आहा रारा गोल्डकपको सेमिफाइनलमा थ्रीस्टारले बंगलादेशको उत्तर बरिधारा क्लबलाई ५–० को भारी अन्तरले पराजित गरेको थियो भने नेपाल पुलिस क्लबले धरान फुटबल क्लबलाई १–० ले हराउँदै फाइनलमा थ्रीस्टारसँगको भेट पक्का गरेको थियो ।

Post Add 1025X115
Loading...