क्रिकेटमा अफगानिस्तान कहाँ ! नेपाल कहाँ

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-१८
  • |
  • 265 पटक हेरिएको

माघ १८, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेटमा अफगानिस्तान नेपालभन्दा कान्छो हो । तर, नेपालमा क्रिकेट सुरु हुनुभन्दा करिव ८० बर्ष पहिले अर्थात सन् १८४० ताका नै बैलायती आर्मीले काबुलमा क्रिकेट खेलेको इतिहास छ ।

नेपालभन्दा पाँच वर्षपछि सन् २००१ अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको सदस्यता पाएको अफगानिस्तानले १६ वर्षको अन्तरातमा एकदिवशीय हुँदै टेष्ट मान्यता पाइसकेको छ । कुनै समय एशियाली एशोसियट टोलीमा नेपालभन्दा निकै कमजोर अफगानिस्तानले पछिल्लो ५ वर्षमा मारेको फड्को नेपालले टुलुटुलु हेरेर बस्न बाध्य छ ।

तत्कालीन तालीवानी सरकारले अन्य खेललाई प्रतिबन्ध यथावत राखेर क्रिकेट खेललाई मात्र अनुमति दिएपछि आईसीसीको सदस्यता पाएको हो अफगानिस्तानले । चार दशकसम्म द्वन्द्वग्रस्त रहेर बिस्तारै मुर्झाउन थालेको अफगानी जनताको अनुहारमा खुसी छर्ने र मुलुकलाई एकवद्ध गर्ने माध्यम अहिले क्रिकेट बनेको छ ।

त्यसको ठ्याक्कै विपरित नेपालको क्रिकेट अधोगतिमा छ । अफगानिस्तानले टेष्ट मान्यता पाएको उपलब्धी एकातिर रहँदा नेपाल डिभिजन वानबाट ओरालो लागेको छ । उता बलियाे क्रिकेट बाेर्ड बनेकाे छ भने यता भएकाे संघ पनि अार्इसीसीकाे निलम्बनमा छ ।

एकपछि अर्को सफलताले हौसिएको अफगानी क्रिकेट बोर्ड खेल तथा खेलाडीका लागि नयाँ नयाँ योजनाहरु ल्याइरहेको छ । त्यसमा सरकार र आईसीसीको नियमित साथ छ । तर, नेपालमा नियमक निकाय आपी विवादका कारण आईसीसीको निलम्बनमा छ भने राष्ट्रिय टिम आईसीसीको अनुग्रहमा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुँदै आएको छ ।

अफगानी क्रिकेट बोर्डका प्रमुख अतिफ मासलले अन्तर्राष्ट्रिय मिडियालाई दिएको अन्तवार्तामा प्रष्ट रुपमा भनेका छन कि हाम्रो टिम विश्व बरियतामा पाँचौं स्थानमा पुगेको हेर्न चाहन्छु ।

४ दशक गृहयुद्धमा होमिएको अफगानिस्तानका जनतालाई एकजुट बनाउन खेलकुद बाहेकको अन्य माध्यम नभएको उनको भनाई छ । त्यसमा पनि क्रिकेटले सबैलाई एक स्थानमा ल्याउन ठूलो मद्दत गरेको र यसलाई अझ अगाडि बढाउने ठोस योजना उनीसँग छ ।

अन्तर्राष्ट्रिय स्तरमा अफगानिस्तान जति राम्रो प्रदर्शन गरिहेको छ त्यहि अनुसारको प्रशासन तयार पार्ने र खेलाडीलाई कुनै किसिमको तनाव नहोस भनेर अफगानिस्तानले ठोस योजना बनाएको छ ।

यो नेपालमा पहिल्यै लागू हुनुपर्ने थियो ।

यस्तै टिमका लागि राम्रो टेक्निकल सपोर्ट गर्न अफगानी क्रिकेटको अर्को योजना हो ।

आईसीसीको पूर्ण सदस्य पाइसकेको अफगानिस्तानको तेस्रो लक्ष्य पूर्वाधार विकास रहेको छ । यसका लागि बोर्डले सरकारसँग १० मिलियन अमेरीकी डलरको योजना पेश गरेको छ । आइसीसीबाट आउने बजेट र सरकारी बजेटका आधारमा अफगानिस्तान क्रिकेट बोर्डले पाँचवटा क्रिकेट रंगशाला र पाँचवटा राष्ट्रिय क्रिकेट एकेडेमी बनाउने भएको छ ।

पुर्वाधार विकासमा पुरुषका लागि मात्र नभएर महिला खेलाडीका लागि पनि अफगानिस्तान लागेको छ । पाँचवटा मैदान अन्तराष्ट्रिय स्तरको हुने, यसका लागि उनीहरुको मुख्य प्रायोजकले पनि काबुल क्रिकेट मैदानलाई स्तरोउन्नतीका लागि खर्च गर्ने भएको छ ।

यो मैदानमा महिला दर्शकका लागि छुटै प्याराफिट पनि निर्माण गरिने भएको छ ।

एसोसियटमा क्रिकेट मैदान नभएको देश भनेर चिनिने अफगानिस्तानको यो योजना देख्दा लाग्छ नेपालमा क्रिकेट विकास गर्छु भन्नेहरुलाई लाज लाग्नुपर्ने हो ।

त्यो देशको क्रिकेट बोर्डको मुख्य लक्ष्य नै संघमा राजनितीक हस्तक्षेप नहोस भन्ने छ । त्यसैले पनि उनीहरु सरकारसँग सहकार्य गर्ने तर पदाधिकारी राजनीति बाहिरका हुनुपर्छ भन्ने मान्यतामा छन् ।

आइसीसी टेष्ट मान्यता पाइसकेको अफगानिस्तानको अन्डर नाइन्टिन टिमले एशिया कप जित्नुका साथै यु–१९ विश्वकपको सेमिफाइनलसम्म पुग्नुले युवा खेलाडीमा कति क्षमता छ भन्ने प्रमाणित गरिसकेको छ ।

यस्तै क्षमता नेपाली खेलाडीमा पनि छ, तर आफ्नो क्षमता प्रस्फुटित गर्ने माध्यम नेपाली खेलाडीले पाएका छैनन् । खेल्दै जाउँ, केहि नयाँ होला अनि राम्रो होला भन्ने आशामा रहेका नेपाली खेलाडीहरुले अफगानी बोर्डकै जस्तो नेतृत्वको कहिले पाउलान् ?

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey