चेल्सी र युनाइटेड हार्दा सिटीलाई हाइसन्चो !

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-१८
  • |
  • 181 पटक हेरिएको

माघ १८, काठमाडाै‌ । बुधबार राति भएको प्रिमियर लिग अन्तर्गतको खेलमा चेल्सी र म्यान्चेस्टर युनाइटेड पराजित हुँदै म्यान्चेस्टर सिटीको उपाधि यात्रा अझै सजिलो बनाइदिएका छन् ।

प्रिमियर लिग लगायत युरोपेली प्रतियोगितामा प्रभूत्व जमाउने उद्देश्यले खेलाडी किन्न मात्रै ४५० मिलियन पाउण्डभन्दा बढी खर्च गरेको पेप ग्वार्डिओलाको टोली सिटीले कम्तिमा प्रिमियर लिगमा भने त्यसको प्रतिफल पाएको छ ।

२५औं चरण अन्तर्गत मंगलबार र बुधबार राति भएका खेलहरुपनि सिटीले स्पष्ट रुपमा १५ अंकको अग्रता हासिल गरेको छ । २५ खेलबाट सिटीको ६८ अंक पुगेको छ भने दोस्रो स्थानको आर्सनलको ५३ अंक छ । १३ लिग खेल बाँकी रहँदा १५ अंकको अग्रता सिटीका लागि उपाधि जित्ने मुख्य आधार हुन् ।

समान ५० अंक भए पनि बुधबार राति बर्नमाउथसँग ३ गोल खाएपछि गोल अन्तरका आधारमा लिभरपुलले चेल्सीलाई उछिनेको छ । हिजोको खेलमा युनाइटेडलाई हराएको टोटनह्याम ४८ अंकसहित पाँचौं र आर्सनल ४२ अंकसहित छैटौं स्थानमा छन् ।

बर्नमाउथका प्रशिक्षक एडी होवेले भनेका छन् कि साविक बिजेता चेल्सीलाई उसकै मैदानमा ३ गोलले हराउन पाउनु आफ्नो टोलीको प्रिमियर लिगमा सबैभन्दा उत्कृष्ट नतिजा हो ।

पहिलो हाफ बराबरीमा सकिँदा दोस्रो हाफमा बर्नमाउथका क्यालुम विल्सन, जुनियर स्टानिसलास र नाथान आकेले बर्नमाउथका लागि गोल गरेका थिए । प्रिमियर लिगमा बर्नमाउथको पहिल्लो सात अवे खेलमा पहिलो जित हो ।

यता म्यान्चेस्टर युनाइटेडले पनि सोही दिन पराजय ब्यहोर्न पुग्यो । यो हारले सिटीको भाग्य बलियो बनाइदिएको छ । खेल सुरु भएको ११ सेकेण्डमै एरिक्सनको गोलमार्फत टोटनह्यामले अग्रता लिएको थियो । फिल जोन्सले भुलबस आफ्नै पोष्टमा गोल गरेपछि युनाइटेड २–० ले पछि पर्यो । त्यसयता गोल हुन सकेन र खेल घरेलु टोली टोटनह्यामले जित्यो ।

यता लिगको अन्तिममा रहेको वेष्ट ब्रुमलाई तीन शून्य गोलले हराएर म्यान्चेस्टर सिटीले शीर्ष स्थानमा आफ्नो उडान कायमै राखेको छ ।

सिटीको जितमा फर्नान्डिन्हो, केविन डी ब्रुयेन र सर्जियो एग्यूरोले गोल गरेका थिए । लिगको शीर्ष र पुच्छारमा रहेका टोलीबीचको खेल एकपक्षीय देखिएको थियो । यद्यपि पहिलो हाफमा वेष्ट ब्रुमले इथिहाड रंगशालामा सिटीलाई चुनौति दिएको थियो ।

खेलाडी किनबेचमा यस सिजन ‘पैसाको खोलो’ बगाएअनुसार सिटीले प्रिमियर लिगमा आशालाग्दो प्रदर्शन गरेको छ । प्रिमियर लिगमा उसले २५ खेलमा एउटा मात्र खेल हारेको छ ।

प्रिमियर लिगमा मात्रै होइन यस सिजन सबै प्रतियोगितामा सिटीको प्रदर्शन साँच्चै लोभलाग्दो छ । सिटी लिग कपको फाइनलमा पुगेको छ । आगामी फेब्रुअरी २५ मा आर्सनलसँग उसले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछ ।

त्यस्तै एफए कपको पाँचौं चरणको यात्रा तय गरेको छ भने च्याम्पियन्स लिगमा क्वार्टरफाइनलमा अर्को साता स्वीट्जरल्याण्डको एफसी बासेलसँग खेल्दैछ । युरोपेली प्रतियोगिताको क्वार्टरफाइनलमा बासेललाई सिटीका लागि तुलनात्मक रुपमा कमजोर प्रतिस्पर्धी मानिन्छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey