कोरोनाको नियमका कारण नेपाली तेक्वान्दो खेलाडीले ओलम्पिक छनौट खेल्न नपाउने

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-०५
  • |
  • 923 पटक हेरिएको

आसन्न टोकियो ओलम्पिक छनौटका लागि नेपालले तेक्वान्दोमा सहभागिता जनाउन नपाउने भएको छ । जोर्डनमा हुने भनिएको छनौट प्रतियोगिताका लागि त्यहाँको सरकारले भारत र नेपाललाई रेड लिष्टमा राखेको र आफ्नो देश भन्दा बाहिर १४ दिनको क्वारेन्टिन बसेर मात्र जोर्डन प्रवेश गर्न पाउने नियम बनाएपछि नेपालले छनौटमा सहभागिता जनाउन नपाउने भएको हो ।

मे २१ र २२ मा हुने प्रतियोगिता आउने मुखैमा जोर्डन सरकारले नेपाल र भारतबाट आउने खेलाडीलाई दुई साता अर्को देशमा क्वारेन्टिन बसेर आउनुपर्ने नियम बनाएको हो । विश्व तेक्वान्दो महासंघले करिव दुई साता अगाडी नै यसको पत्रचार गरेको थियो । भारतमा इन्डियन प्रिमियर लिग स्थगित भएको दिन नै महासंघले नेपाल र भारतलाई तेस्रो मुलुकमा दुई साता क्वारेन्टिन बसेर मात्र जोर्डन प्रवेश पाउने भन्दै पत्राचार गरेको थियो ।

खबर पाएपछि नेपाल तेक्वान्दो संघले यो विषयमा भारत, आयोजक देश, तेक्वान्दो महासंघ र नेपाल ओलम्पिक कमिटीलाई इमेलबाट जानकारी दिएको थियो । तर कसैलेपनि जवाफ नदिएको अध्यक्ष प्रकाश राणाले बताए । उनले भने-‘एशिया तेक्वान्दो च्याम्पियनसिपमा सहभागिता जनाउन क्वारेन्टिनको बस्नुपर्ने त्यो पनि तेस्रो मुलुकमा भन्ने थाहा पाएपछि हामीले सर्वोच्च निकायलाई पनि इमेल गरेको, भारतको तेक्वान्दोलाईपनि इमेल गरेको तर जवाफ आएको छैन, हामीहरुले जोर्डन जानका लागि दुई दिन अगाडीको टिकट पक्का गरेका थियौं, तर अब प्रतियोगितामा सहभागिता जनाउन नपाउने भएका छौ, अन्तराष्ट्रिय उडानपनि बन्द भएको बेला र क्वारेन्टिनको नियमले यो पटकका ओलम्पिक छनौटमा सहभागिता गर्न नपाउने भएका छाै।’

छनौट चरण पार गरेर ओलम्पिकमा सहभागिता जनाउने तेक्वान्दो एक्लो खेल हो । अब छनौट चरण खेल्न नपाउने भएपछि तेक्वान्दोलाई वाइल्ड कार्डकै भर रहेको छ । ओलम्पिक सोलिडारीटीमा रहेका बीरबहादुर महराको नाम यसअघि नै पठाइएको छ । तर अब त्यसमा दुई जना अरु थपिएको छ । जसमा १३ औं सागमा स्वर्ण जितेका भुपेन श्रेष्ठ र रजत जितेकी निमा गुरुङको नाम गएको छ ।

१३ औं सागमा स्वर्ण विजेता भुपेन श्रेष्ठसहित सागकी रजत विजेता निमा गुरुङले आगामी शुक्रबार र शनिबार जोर्डनको अम्मानमा हुने एसियाली छनौटमा प्रतिस्पर्धा गर्ने योजना अधुरो बनेको छ । लामो समय देखि यहि प्रतियोगिताको तयारी गरिरहेका उनीहरुले अन्तिम समयमा सहभागि हुन नपाउँदा निकै दुखिद भएका छन ।

यस्तै पारा तेक्वान्दोका पलेसा गोर्बद्धन, विशाल गर्बुजा तथा सिर्जना घिसिङ लामो समय देखि अभ्यासमा थिए । अब उनीहरुले पनि छनौट प्रतियोगिता खेल्न नपाएपछि अहिलेसम्मको मेहेनत खेर नै गएको जस्तो देखिएको छ । अब उनीहरुको आशा वाइल्डकार्ड मात्र रहेको छ । तर त्यो पनि निकै न्यून छ ।

भुपेनले एसियाली छनौट प्रतियोगितामा ८० किलो भन्दा माथिको उमेर समुहमा प्रतिस्पर्धा गर्ने तालिका थियो ।

हुन त तेक्वान्दोका कोरियाली प्रशिक्षक क्वान यानदलले संघलाई एक महिना अगाडी नै खेलाडीलाई एक्पोजरको लागि कीर्गिस्तानमा लगेर मैत्रीपुर्ण खेल खेलाउने र त्यतैबाट जोर्डन एशियाली छनौटका लागि जाने प्रस्ताव संघलाई गरेका थिए । तर त्यो बेला संघले आर्थिक समस्या भएको भन्दै यो योजनालाई त्यसै टारेको थियो । नेपालमा नै प्रशिक्षण गरेर प्रतियोगिता जाने भनेर सबैको टिकटपनि फाइनल गरेको तेक्वान्दो संघ अहिले पुछताएको छ ।

संघले त्यो बेला ओलम्पिक संघ वा राष्ट्रिय खेलकुद परिषद्सँग समन्वय गरेको खण्डमा कीर्गिस्तान जाने संभावना रहेको थियो । अप्रिलमा पाँच देशका टिमसँग अभ्यास खेल खेल्ने र त्यहाँबाट जोर्डनमा प्रस्थान गर्ने प्रस्ताव तेक्वान्दो संघमा प्रस्ताव पेश गरेका थिए ।

यता पारा तेक्वान्दोमा पनि वाइल्डकार्डका लागि दुई जनाको नाम गएको छ । जसमा दुई जना केटी रहेकी छिन । त्यसमा पलेशा गोबर्धन र सिर्जन घिसिङ छिन । उनीहरुमा १३ औं बरियतामा रहेकी पलेशाको संभावना रहेको संघले बताएको छ ।

टोकियो ओलम्पिकका लागि पौडी र एथ्लेटिक्सले खेल्ने पक्का भएपछि बाँकी सात खेलका खेलाडी वाइल्ड कार्डको भरमा छन । यसपटक ओलम्पिका लागि वाइल्ड कार्ड पाउने संभावना निकै न्यून देखिएको छ । नेपालले वाइल्ड कार्डका लागि पठाएका खेलको सूचीमा पनि अरु एक दुई खेलमा मात्र नेपाल ओलम्पिक कमिटीले आशा गरेको महासचिव निलेन्द्रराज श्रेष्ठले बताएका छन ।

ओलम्पिक छनौट खेल्न नपाउँदा बरियतामा पनि अंक जोड्न कठिन भएकाले पनि यो संभावना कम भएको बताइएको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey