क्योकुसिनका बज्राचार्यको नाममा प्रतिष्ठान गठन गर्ने तयारी

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-२९
  • |
  • 466 पटक हेरिएको

कोरोना भाइरस संक्रमणका कारण निधन भएका क्योकुसिन करातेका गुरु रामजीप्रसाद बज्राचार्यको नाममा ‘रामजीप्रसाद बज्राचार्य प्रतिस्ठान’ खोलिने भएको छ ।

रामजी गुरुका परिवार र क्योकुसिनका उनका चेलाहरुको सहयोग र नेपालमा रहेका क्योकुसिन कराते आवद्ध संघहरुको सहयोगमा उक्त प्रतिस्ठान गठन गर्न लागिएको नेपाल शो क्योकुसिन कराते संघका ब्राञ्च चिफ राजकुमार श्रेष्ठले बताएका छन् ।

हालसम्म प्रतिस्ठान गठनका निम्ति विभिन्न देशमा रहेका खेलाडीहरुले सहयोग रकम पठाउन थालिसकेका छन् । जसबाट झन्डै ४ लाख रुपैंया उठिसकेको ब्राञ्च चिफ श्रेष्ठले बताए ।

सहयोग गर्नेहरुमा बेलायतबाट सुरज कार्की र फिलिपिन्सबाट प्रभाकर शाहले रु एक÷एक लाख पठाएका छन् । त्यस्तै अमेरिकाबाट निमा शेर्पाले ५० हजार, भेषबहादुर खड्काले २४ हजार, अष्ट्रेलियाबाट राम केसीले २० हजार, जर्मनीबाट महेश थापाले १४ हजार दुई सय, बेल्जियमबाट सुदर्शन सिंखडा र नारायण सिलवालले १०-१० हजार तथा धन लामाले ५५ सय, बहराइनबाट ज्ञान तामाङले १० हजार एक सय, दुबईबाट शान्तरामले ७ हजार, त्यस्तै काठमाडौंका रामशरण राणाले १० हजार, विरेन्द्र ओलीले ७ हजार एक सय, कृष्णचन्द्र बानियाँले ५५ सय र सुर्य वुढाथोकीले ५ हजार एक सय सहयोग गरेका छन्।

सहयोग रकम उठ्ने क्रम जारी रहेको र प्रतिष्ठान स्थापनार्थ ५० लाख रुपैंया उठ्ने अनुमान गरिएको छ । ‘प्रतिष्ठान कोष’ स्थापनका लागि नेपाल लगायत विश्व क्योकुसिन कराते परिवार सम्मिलित प्रतिष्ठान कोष आर्थिक संकलन समिति गठन गरिएको छ ।

त्यसको संयोजकमा युएनकेएका वरिष्ठ उपाध्यक्ष सुरज श्रेष्ठ रहेका छन् । आर्थिक संकलनको पारदर्शी हिसाब किताब युएनकेएको वेवसाइटमा प्रकाशित गरिने भएको छ ।

ब्राञ्च चिफ श्रेष्ठका अनुसार प्रतिष्ठानले क्योकुसिनको विकासमा काम गर्नेछ । क्योकुसिनका वर्षका उत्कृष्ट खेलाडीलाई पुरस्कार दिने र रामजी गुरुको नाममा प्रतियोगिता सञ्चालन गर्ने योजना रहेको ब्राञ्च चिफ श्रेष्ठले बताएका छन् ।

उनले भने – ‘तर उहाँको नामको प्रतियोगितामा प्रतिष्ठानमा रहेको वजेटबाट नभई अन्य स्रोतबाट रकम जम्मा गर्ने हाम्रो योजना छ । क्योकुसिनमा नेपालमा २०-२२ वटा संस्था छन् । सबैले सहयोगको बाचा गरेका छन् ।’

प्रतिष्ठानको गठनमा नेपालमा रहेका क्योकुसिनका संघसंस्थाका प्रतिनिधिहरु र रामजी गुरुको परिवारका सदस्य मिलेर गठन गर्न लागिएको छ ।

कोरोना भाइरस संक्रमणका कारण क्योकुसिन करातेका पहिलो ब्याचका खेलाडी रामजीप्रसाद बज्राचार्यको गत मङ्गलवार निधन भएको थियो ।

क्योकुशिन करातेका पूर्व अन्तराष्ट्रिय चर्चित खेलाडी, वरिष्ठ प्रशिक्षक उनी नेपाल फुल कन्ट्याक्ट् कराते महासंघका वरिष्ठ उपाध्यक्ष थिए ।

स्व. बज्राचार्यले सन् १९८२ मा सिंगापुर र १९८४ मा इन्डोनेसियामा भएको अल एसिया फुल कनट्याक्ट कराते च्याम्पियनसिपमा सहभागिता जनाएका थिए । इन्डोनेसियामा उनले काश्य पदक जितेका थिए ।

२०३९ सालदेखि क्योकुसिन कराते खेल्न थालेका स्व. बज्राचार्यको नेपाली मार्शल आर्ट्सको क्षेत्रमा ठूलो योगदान रहेको छ । स्व. बज्राचार्यका श्रीमती, १ छोरा र २ छोरी छन् ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal