तीन महिना काम गर्दा खालि हात स्वदेश फर्किएका ह्वाटमोरको श्रम स्विकृतीको फाइल विभागमै

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-२४
  • |
  • 742 पटक हेरिएको

नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक डेभ ह्वाटमोर तीन दिन अगाडी छुट्टिमा स्वदेश फर्किएका छन । नेपालमा कोरोनाका कारण लकडाउन भएकाले र क्रिकेट गतिविधी सबै बन्द भएकाले ह्वाटमोर परिवारसँग भेटघाट गर्न श्रीलंका गएका छन । तर ह्वाटमोर स्वदेश फर्किदा आफ्नै गोजीको डलर साटेर गएका हुन । नेपाल क्रिकेट संघ क्यानले ह्वाटमोरलाई जनवरीबाट लागु हुने गरेर मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो । ह्वाटमोरलाई मुख्य प्रशिक्षक चयन गरेको भनेर सञ्चार माध्यमका अगाडी सार्वजनिक गरेको क्यानले उनी नेपाल आएर तीन महिना काम गर्दापनि श्रम स्विकृती भने अझै दिलाउन सकेन ।

श्रीलंकालाई विश्वकप दिलाएका प्रशिक्षक ह्वाटमोर नेपाल आएको अर्को दिन देखि नै आफ्नो कामलाई सुरु गरेका थिए । ह्वाटमोर नेपाल आउँदा कीर्तिपुर र मुलपानीमा मेयर कप पुरुष क्रिकेट चलिरहेको थियो । उनी सार्वजनिक भएको दिन नै मैदानमा पुगेर खेल हेरे । हरेक दिन मैदानमा पुगेका ह्वाटमोरले राष्ट्रिय टिमसँग तीन पटकसम्म क्याम्पमा बसे ।

कोभिडका कारण कतारमा हुने टी २० प्रतियोगिता, ओमानमा हुने विश्वकप क्रिकेट लिग टुका लागि तयारी सुरु गरेको थियो । तर विचमा प्रतियोगिता नहुने भएपछि प्रशिक्षणपनि स्थगित गरियो । यो विचमा क्यानले राष्ट्रिय खेलकुद परिषद्सँगको सहकार्यमा सातै प्रदेशका ह्वाटमोरसँग स्थानीय क्रिकेटरको विशेष कार्यशाला गर्ने योजना बनाएको थियो । जसमा प्रदेश एकबाट यसको सुरुवात भएपनि विचमा नै राकियो । नेपालमा त्रिकोणात्मक सिरिजका कारण सो कार्यक्रम रोकियो भने त्यसमा कोभिडको प्रभावपनि थपियो ।

तर यहि विचमा क्यानले कीर्तिपुर मैदानमा त्रिकोणात्मक टी २० सिरिजको आयोजना गर्यो । त्यो प्रतियोगिताको उपाधि नेपालले जित्दा त्यसको ब्याकबोन प्रशिक्षक ह्वाटमोर नै बने । उनले नेपालको ब्याटिङमा केहि परिवर्तन पनि देखाए ।

तर त्यो प्रतियोगिताका लागि क्याम्प सुरु गर्न ह्वाटमोरलाई निकै संघर्ष जस्तै गर्नुपरेको थियो । उनको चाहना दुई साता अगाडीबाट नै क्याम्प राख्ने योजना थियो । तर बजेट अभावको कारण क्यानले बल्ल बल्ल १० दिन अगाडीबाट प्रशिक्षण राखेको थियो । त्यसबाट ह्वाटमोर केहि असन्तुष्ट देखिएका थिए ।

क्रिकेटका जानकारका अनुसार प्रशिक्षक ह्वाटमोरबाट क्यानले हात पार्नसक्ने अनुभव अहिलेसम्म नपारेको बताउछन । नेपाल आएको तीन महिनापछि बिदामा स्वदेश फर्किएका ह्वाटमोर अहिलेसम्म तलव पाउन सकेका छैनन् । यो तीन महिना उनी पर्यटकका रुपमा नेपालमा बसे र उनले श्रम स्विकृती हात पार्न सकेनन् । ट्राइ सिरिजको दुई साता अगाडी नै ह्वाटमोरको श्रमको काम प्रक्रियामा रहेको भनेको क्यानले प्रतियोगिता सकिएर ह्वाटमोर पनि बिदामा घर गइसकेको अवस्थामा अझै प्रक्रियामा नै छ भनिरहेको छ ।

त्यसो भए तीन महिनाको ह्वाटमोरको तलव के हुन्छ ?

क्यानले ह्वाटमोरलाई मासिक कर कटाएर करिव सात लाख रुपैयामा सम्झौता गरेको हो । यसमा उनको बसाई र यातायात र कर बाहेकको रकम हो ।

नेपाल क्रिकेट संघ क्यानले प्रशिक्षक नेपाल आएपछि पहिलो काम नेपाल सरकारको नियम अनुसार श्रम स्विकृती लिनुपर्ने थियो । त्यसमा क्यान पुर्ण रुपमा चुक्न पुग्यो । हुँदैछ हुँदैछ भन्दा भन्दै तीन महिना वित्दापनि उनको श्रमको फाइल अहिले पनि श्रम विभागमा नै रहेको छ ।

श्रम विभागका एक पदाधिकारीले क्रिकेटका प्रशिक्षक ह्वाटमोरको श्रम स्विकृतीको फाइल विभागमा आएको तर त्यसपछि त्यसको फलोअप नभएकाले राकिएर बसेको बताए । उनले सो फाइल लकडाउन हुनुभन्दा केहि अगाडीमात्र विभागमा आएको र त्यसपछि क्यानका पदाधिकारीले फलोअप नगर्दा प्रक्रिया रोकिएको बताए ।

नेपाल सरकारको नियम अनुसार कुनैपनि विदेशी नागरीकले नेपालमा पैशा कमाउने हिसावले काम गरेमा त्यसको कर तिर्नुपर्छ । त्यसका लागि अनिवार्य श्रम स्विकृती लिनुपर्ने हुन्छ । तर नेपालमा तीन महिना पर्यटकका हिसावले बसेका ह्वाटमोरले यो विचको तलव अब कसरी हात पार्छन वा पाउँदैनन्, यो ठूलो प्रश्न रहेको छ ।

यो विषयमा नेपाल क्रिकेट संघका पदाधिकारीसँग बुझ्न खोज्दा अध्यक्ष चतुरबहादुर चन्दले श्रमको काम केहि ढिलो भएको भएपनि प्रशिक्षकले आफुले पाउने तलव ढिलोचाँडो पाउने बताए ।

यहि कुरा सचिव अशोकनाथ प्याकुरेललाई सोध्दा उनले श्रमको सबै प्रक्रिया पुरा भएर विभागमा गएको र प्रशिक्षकले पाउने तलवको कुरा उनले पाउने बताए । तर श्रम स्विकृतीको मिती भन्दा अगाडीको रकम कसरी पाउँछन भन्ने विषयमा उनले उनको तलव नेपाल सरकारबाट नआउने र आइसीसीबाट आउने हो । त्यसैले क्यानले तीन महिना ह्वाटमोर सल्लाहकारका रुपमा रहेको भन्दै तलव दिलाउने प्रक्रिया क्यानले गर्ने बताए ।

क्यानका पदाधिकारीले सहज रुपमा तलव पाउने बताइरहँदा आइसीसीले क्यानलाई यसअघि नै आर्थिक पारदर्शिता मुख्य एजेन्डा राखेको थियो । के आइसीसीले ह्वाटमोरलाई कन्सल्ट्यान्टका रुपमा रहेर काम गरेको भन्दै तीन महिनाको रकम निकासा गर्ला त, यो मुख्य प्रश्न रहेको छ ।

यसमा क्यानले आइसीसीलाई आग्रह गर्ने सचिव प्याकुरेलको भनाई छ । उनले सो तलव आइसीसीबाट सोझै ह्वाटमोरको खातामा पठाउनका लागि पनि पहल गर्ने धारणा राखे ।

तर मुख्य कुरा जनवरीमा प्रशिक्षक नियुक्त गरेको भनेर आइसीसीलाई समेत जानकारी दिइसकेको क्यानले फेरी उनी सल्लाहकारका रुपमा तीन महिना बसेको भनेर कसरी विश्वास दिलाउछ भन्ने हो ।

यसले झन आइसीसीले शंका गर्ने ठाँउपनि राख्न सक्नेछ । त्यसमा पनि कर कट्टिको कुरा आउछ, आइसीसीले ह्वाटमोरलाई पैशा पठाएपनि त्यो खर्च क्यानले आफ्नो अडिटमा देखाउनुपर्ने हुन्छ, त्यसमा यदि तलमाथि भएको खण्डमा यसले ठूलो समस्या ननिम्त्याउला भन्न सकिन्न ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey