सदस्य सचिव सिलवालसहित संगिना सरकारबाट बिभूषित

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-०१
  • |
  • 310 पटक हेरिएको

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रमेशकुमार सिलवाल, राखेपअन्तर्गत प्रशासन विभागका प्रमुख कुलबहादुर थापा र ओलम्पियन तेक्वान्दोकी संगिना वैद्य नेपाल सरकारले प्रदान गर्ने पदकबाट बुधबार विभूषित भएका छन् ।

खेल क्षेत्रबाट विभूषित उनीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा आयोजित एक विशेष समारोहबीच पदक प्रदान गरेकी हुन । सदस्य–सचिव सिलवाल सुप्रबल जनसेवाश्री तृतीय श्रेणी तथा थापा र संगिना प्रबल जनसेवाश्री चतुर्थ श्रेणीबाट विभूषित भए ।

सदस्य–सचिव सिलवाल २०७६ साल असार २३ गते पहिलोपटक राखेपको सदस्य–सचिवमा नियुक्त हुँदा नेपालले आयोजनाको जिम्मेवारी पाएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) सुरु हुन करिब साढे चार महिना मात्र बाँकी थियो । त्यो साढे चार महिनाको अवधिमा १३ औं साग सफल रुपमा सम्पन्न मात्र भएन नतिजाका हिसाबले पनि नेपालका लागि १३ औं साग ऐतिहासिक रह्यो ।

सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९६ कांस्य जितेको थियो । १३ औं सागअघि नेपालले सागमा हासिल गरेको सर्वाधिक स्वर्ण संख्या ३१ हो । उक्त स्वर्ण नेपालले नेपालमै भएको आठौं सागमा जितेको थियो ।

विभुषित भएका मध्ये थापा समारोह विज्ञका रुपमा परिचित छन् । उनले पाँचौंदेखि आठौं राष्ट्रिय खेलकुदको समारोह व्यवस्थापनमा मुख्य जिम्मेवारीमा रहेर कार्य गरेका थिए । मुख्य जिम्मेवारीमै रहेर थापासंग आठौं सागमा पनि समारोह समितिमा काम गरेको अनुभव छ । १३ औं सागमा थापाले समारोह समितिमा सविच र निर्देशकको भूमिका निर्वाह गरेका थिए ।

त्यसै गरी संगिना छनोट चरण पार गरेर ओलम्पिकमा प्रतिस्पर्धा गर्ने पहिलो नेपाली खेलाडी हुन् । संगिनाले सन् २००४ को ग्रिसमा भएको २८ औं संस्करणको एथेन्स ओलम्पिकमा छनोट चरण पार गर्दै नेपालको प्रतिनिधित्व गरेकी थिइन् ।

सागको दुई संस्करण आठौं र नवौंकी स्वर्णधारी संगिना एसियाली तेक्वान्दो च्याम्पियनसिपको पनि स्वर्ण विजेता हुन् । रियो ओलम्पिक– २०१६ र १३ औं सागमा संगिना प्रशिक्षकको भूमिकामा थिइन् । नेपालले १३ औं सागको तेक्वान्दोमा १२ स्वर्ण, ६ रजत र ११ कांस्य जितेको थियो । तेक्वान्दोमा सहभागी २९ खेलाडीमा सबैले पदक जितेका थिए ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal