केलियन एम्बाप्पेको दुई गोलमा पेरिस सेन्ट जर्मेनले युरोपियन च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा साविक विजेता बार्यन म्युनिखलाई तीन दुई गोलले हराएको छ ।
बार्यनको घरेलु मैदानमा भएको खेलमा पीएसजीको जितमा एम्बाप्पेले उत्कृष्ट प्रर्दशन गरे । खेलको तेस्रो मिनेटमा नै एम्बाप्पेले गोल गर्दै पीएसजीलाई एक शुन्यको अग्रता दिलाए । उनले नेयमारको पासको सदुपयोग गरेका थिए ।
त्यसपछि २८ औं मिनेटमा नेयमारको पासमा मार्किनसले गोल गरेपछि पीएसजी दुई शुन्यले अगाडी रह्यो ।
खेलमा दुई गोलले पछि परेको बार्यनले ३७ औं मिनेटमा एक गोल फर्कायो । उसका लागि चुपो मोटिङले गोल गर्न सफल भए ।
पहिलो हाफ दुई एक गोलको अवस्थामा सकिएको खेलको ६० औं मिनेटमा बार्यनले खेल बराबरी गर्न सफल भयो । उसका लागि थोमस मुलरले गोल गरे ।
तर त्यसको आठ मिनेटमा पीएसजीले फेरी खेलमा अग्रता लियो । उसका लागि एम्बाप्पेले ब्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरे ।
त्यसपछि बार्यन खेलमा फर्कन सकेन र घरेलु मैदानमा तीन दुईले पराजित भयो । पहिलो लेगमा पीएसजीलाई अवे गोलको फाइदा हुने भएको छ । अब क्वाटरफाइनलको दोस्रो लेगमा पीएसजीले घरेलु मैदानमा अप्रिल १४ मा खेल्नेछ ।