के हुँदैछ एन्फाको चुनावी प्रक्रिया ?

0

माघ १७, काठमाडौं । चैत १४ गते हुने अखिल नेपाल फुटबल संघ एन्फाको कार्यसमिति निर्वाचनका लागि मताधिकार रहेका संघ तथा कमिटीहरुको अधिवेशन भइरहेको छ ।

तीन पटक सारेर एन्फाले कार्यसमितिको निर्वाचन आगामी चैत १४ गते गर्ने निर्णय गरेको छ । त्यसका लागि पुस ५ गतेदेखि माघ ५ गतेसम्म जिल्ला संघहरुको अधिवेशन सकाउने गरी समयतालिका निर्धारण भएकोमा एन्फामातहतका ४५ मध्ये ४३ जिल्लाको अधिवेशन सकिएको छ ।

एन्फाका पूर्व अध्यक्ष गणेश थापाको गृहजिल्ला मकवानपुर र भक्तपुरको निर्वाचनले मान्यता नपाएपछि त्यहाँ निर्वाचन हुन बाँकी छ ।

भक्तपुरको निर्वाचन प्रक्रियामा असन्तुष्टि जनाउँदै जिल्ला अदालतमा रिट परेपछि अदालतले अन्तरिम आदेश जारी गर्दै निर्वाचन प्रक्रिया रोकेको थियो । मुद्दाको पेसी फागुन ६ गते तोकिएको छ ।

त्यस्तै मकवानपुरको अधिवेशन आफ्नो प्रतिनिधिबिनै गराएको भन्दै एन्फाले मान्यता नदिएपछि त्यहाँ फेरि निर्वाचन हुने भएको छ । गत माघ ४ गते भएको अधिवेशनमा एन्फाका बरिष्ठ उपाध्यक्ष मणि कुँवर प्रतिनिधिको रुपमा गएका थिए ।

तर, प्रतिनिधि बिना नै निर्वाचन भएकोमा असन्तुष्टि जनाउँदै एन्फाले महासचिव धिरेन्द्र प्रधानको नेतृत्वमा तीन सदस्यीय छानविन समिति गठन गरेको छ । समितिले छानविन गरिरहेको र प्रतिनिधि कुँवर तथा मकवानपुर जिल्ला संघका पदाधिकारीलाई स्पष्टीकरण सोधिएको समितिका सदस्य तथा एन्फाका प्रवक्ता सञ्जीव मिश्रले जानकारी दिए ।

उनले छानविन सकिएर माघ २५ गतेभित्रै मकवानपुरको विवाद टुंग्याइने जानकारी दिए ।

क्लव प्रतिनिधिको पनि टुंगो लाग्यो

एन्फाको चुनावमा ७७ मत छ । जसमा प्रत्येक जिल्ला फुटबल संघबाट ४५, ए डिभिजन क्लवबाट १४, बी डिभिजन क्लवबाट ९ र सी डिभिजन क्लवबाट ५ भोट हुनेछ ।

त्यस्तै खेलाडी संघ, रेफ्री संघ, प्रशिक्षक संघ र महिला कमिटीबाट एक एक भोटर हुनेछन् । यी चारै संघ र कमिटीको अधिवेशन तथा निर्वाचन आगामी माघ २२ र २३ गते हुनेछ ।

एन्फा निर्वाचनमा प्रतिनिधित्वका लागि माघ ११ गते सी डिभिजन क्लवहरुको बैठकले पाँच क्लबलाई मताधिकार दिने निर्णय गरेको छ । खालीबारी क्लव, ओशिस क्लव, प्लानिङ व्वाइज क्लव, सानो गौचरण क्लव र समाज कल्याण क्लवले यसपटकको एन्फा चुनावमा सी डिभिजन क्लवको तर्फबाट मताधिकार प्रयोग गर्नेछन् ।

त्यस्तै माघ १२ गते बी डिभिजन क्लबहरुको बैठकले मताधिकार पाउने ९ क्लवको छिनोफानो लगाएको छ । जसअनुसार मध्यपुर युथ एशोसियसन, नयाँवस्ती युवा क्लव, टुसाल बौद्ध युवा क्लव, रानीपोखरी कर्नर टिम (आरसीटी) बाँसबारी क्लव, पुल्चोक क्लव, श्रीकुमारी युवा क्लव, श्री भगवती क्लव र व्वाइज युनियन क्लव छन् ।

ए डिभिजनका १४ वटै क्लवले मताधिकार पाउँछन् ।

मध्यपुरको विवाद अदालती प्रक्रियामा गएका कारण अन्य सबै कमिटी तथा संघहरुको अधिवेसन सकिएर मतदाताको टुंगो लागेपछि बिधान अनुसार निर्वाचन कार्यतालिका सार्वजनिक गरिने एन्फा प्रवक्ता सञ्जीव मिश्रले जानकारी दिए ।

चैत १४ गते हुने एन्फा चुनावमा वर्तमान अध्यक्ष नरेन्द्र श्रेष्ठ, बरिष्ठ उपाध्यक्ष मणि कुँवर र पूर्व उपाध्यक्ष कर्माछिरिङ शेर्पाबीच प्रतिस्पर्धा हुने सम्भावना छ ।

Post Add 1025X115
Loading...